-युवराज गौतम
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायभित्र हर्मोन थेरापी र सेक्सचेन्जको वहस तीब्र छ । विशेषगरी किशोर किशोरीहरु हर्मोन थेरापी गर्न रुचाउँछन् । उमेर बढ्दै गएपछि आफूलाई फरक पहिचानको देखाउन हर्मोन थेरापी र सेक्सचेन्जलाई अनिवार्य ठान्छन् ।
विशेषगरी हर्मोन थेरापी र सेक्सचेन्ज आफूलाई फरक लैङ्गिक पहिचान देखाउन रुचाउने किशोर किशोरीहरु बढी आकर्षित छन् । त्यसमध्ये पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु हर्मोन पिल्स, थेरापी र सेक्सचेन्ज गर्न बढी लालायित छन् । समूदायको अभियानमै सक्रिय रुपमा लागेको पारलैंगिक पुरुष एलिन भण्डारीले हर्मोन औषधि सेवन गरेरै आफूलाई आफूलाई मन परेको शारीरिक वनावट तयार पारेका छन् ।
‘कही विदेशी साथी र डाक्टरको सल्लाहमा, सबै शरीर परीक्षण गरेर कुनै रोग नदेखिएपछि औषधि खान थालेको हुँ । औषधिले महिनावारी रोकिने, स्तन सुक्दै जाने, दाह्रीजुँगा पलाउने, मांसपेसीहरू दह्रो हुँदै जाने, कपाल झर्ने जस्ता परिवर्तन देखिन थालेको हो । परीक्षण गरेर औषधि सेवन गर्दा असर चाहीं गरेन्’ उनले भने । औषधिकै कारण आफ्नो वास्तविक पहिचान पुरुष बनाउन उनी सफल छन् ।
हर्मोन प्रयोग गरेर पारलैगिंक महिला बन्दा बनेकाहरु पनि आफूलाई खुशी महसुश भएको सुनाउँछन् । कपाल पातलिने, अनुहारको छाला नरम हुने, दाह्रीजुँगा पलाउन छाड्ने, स्तनहरू बढ्ने जस्ता परिवर्तनहरु आउने गरेको छ । तर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका अभियन्ताहरु हर्मोन थेरापी र सेक्सचेन्ज रहर नभइ बाध्यता र आवश्यक्ता ठान्ने गर्छन । कतिपयले आफ्नो नागरिकता लिनका लागि यस्तो बाध्यता अपनाउनुपरेको सुनाउने गर्छन ।
अधिकारकर्मी भूमिका श्रेष्ठले भनिन्,‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले प्रमाणका आधारमा ‘अन्य’ को नाममा नागरिकता पाउँछन् । इच्छाइएको नामबाट नागरिकता दिने अधिकार नभएका कारण पनि कतिपय साथीहरुले हर्मोन थेरापी र सेक्सचेन्ज गर्ने प्रक्रियामा गएका हुन् । नागरिकतामा भएको नाम र लिङ्ग परिवर्तन गर्न चिकित्सकबाट तेस्रोलिङ्गी भएको प्रमाणीकरण गर्नुपर्ने अवस्थाका कारण परिस्थिती त्यस्तो बनेको हो ।’
नेपालमा लैङ्गीक पहिचान उल्लेख गरिएको नागरिकता प्राप्त गर्नकालागि व्यक्तिले चिकित्सकीय प्रकृयाबाट लिङ्ग परिवर्तन गर्नुपर्ने कुनै कानुनी व्यवस्था नभए पनि राज्यले यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई पहिचानको नागरिकताका लागि शल्यक्रिया गरेको चिकित्सकीय प्रमाणपत्र माग्ने गरेको अभियन्ताहरु बताउँछन् ।
नेपालमा सम्भव नहुँदा शल्यक्रिया विदेशमा गर्नुपर्ने बाध्यता छ। सबैको आर्थिक अवस्थाले भ्याउँदैन। पुरुष भएर जन्मिए पनि महिला स्वभाव वा महिला भएर जन्मिए पनि पुरुष स्वभाव भएका धेरैले इच्छाइएको नामबाट नागरिकता बनाउन नसकेको बताइन्छ। नीलहिरा समाजका प्रतिनिधिले आफ्नो समुदायले झेल्नुपरेको नागरिकताको समस्याका विषयमा गृहमन्त्री ज्ञापनपत्र बुझाइसके पनि सरकारले चासो दिएको छैन् । स्वअनुभूतिका आधारमा नागरिकता पाउनुपर्ने समाजको भनाइ छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू हर्मोन औषधि प्रयोग गरेपछि आफूमा आत्मविश्वास बढेको बताउँछन्।
तर हर्मोन थेरापी र लिंग परिवर्तन गराउन संघसंस्था नै लागि परेको भनेर यसको विरोध पनि सुरु भएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका लागि क्रियाशील संस्थाहरुबीच मत विभाजित देखिन्छ । अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साइरहेको आरोप केही संस्थाले खेपिरहेका छन् । केही साताअघि निधन भएका विपिन धिमालको हर्मोन सेवनकै कारण ज्यान गएको आरोप समेत लाग्यो । व्यक्तिलाई जे हो, त्यही पहिचानमा अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साउनेमा अधिकारवादी संस्थाहरु नै क्रियाशील रहेको भनेर इगोको राजनीति पनि सुरु भएको पाइन्छ ।
केही अभियन्ताहरुले सांसदहरुलाई नै रणभूल्लमा पारेर सदनमा बोल्न समेत लगाएको पाइन्छ । सांसद रञ्जु झाले हर्मोनको प्रयोग र लिङ्ग परिवर्तन गरेर महिला पुरुष र पुरुष महिला बन्ने अवैधानिक काम तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी थिइन। सांसद झाले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने अवैधानिक काम तत्काल रोक्न ध्यानाकर्षण गराए पनि नागरिकता प्राप्तका लागि सरकारी झन्झटबारे मौन थिइन् ।
तर कतिपय चिकित्सकहरुले जथाभाबी रूपमा हर्मोन प्रयोग नगर्न सुझाव दिन्छन् । फेसनको रूपमा प्रयोग हुन थालेको हर्मोनले ठुलो मानवीय क्षति पुग्ने भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । राम्री हुने होडबाजीमा समुदायका धेरै जना हर्मोनको अन्धाधुन्दा प्रयोगमा लाग्दा विभिन्न किसिमका शारीरिक र मानसिक समस्याहरू देखिने गरेको डाक्टरहरुको भनाइ छ । ‘मधुमेह, मिर्गौला सम्बन्धी समस्या, युरिक एसिड, थाईराइड, क्यान्सर, छाला सम्बन्धी समस्या, विभिन्न आन्तरिक समस्या देखिनसक्ने अनुमान छ ।
नेपालमा अहिलेसम्म लिंग परिवर्तनका लागि स्पष्ट नीति छैन। तर सरकारले पारलैंगिकहरूले महिला वा पुरुषको पहिचानबाट नागरिकता लिनुपरे लिंग परिवर्तन गरेको प्रमाण अनिवार्य गरेको छ। तर चिकित्सकीय परामर्श विना हर्मोन सेवन गर्नु घातक हुने बताइन्छ । क्यान्सर, मुटुरोग, हृदयाघात, मस्तिष्कघात, पित्तथैलीमा पत्थरी र स्तनमा ट्युमर सम्मको जोखिम हुने डाक्टरहरुको भनाइ छ ।
हर्मोन लिन चाहनेहरूका लागि सरकारले मार्गनिर्देशनसँगै सहुलियत दिनुपर्ने यौनिक लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्थाहरुको धारणा छ । हर्मोन सम्बन्धी सेवालाई स्वास्थ्य बीमामै समेट्नुपर्नेमा कतिपयको जोड छ । परिवार नियोजन संघमा नियमित निगरानीमा रहेर हर्मोन प्रयोग गर्नेको संख्या चारसयको हाराहारीमा रहेपनि व्यवस्थित भने अझै भइसकेको छैन् ।