जनार्दन शर्मा प्रभाकरको ‘हरित बम’ - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

जनार्दन शर्मा प्रभाकरको ‘हरित बम’


नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उप–महासचिव तथा प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीभित्र निश्चित समयमा फुटने ‘हरित बम’ प्रहारगर्नु भएपछि पार्टीकासर्वोच्च नेता अध्यक्षप्रचण्ड झस्किनु भएकोछ । बम प्रहारको सम्भावनाका बारे उहाँले सोच्नु पनि भएको थिएन होला । यो बमको प्रहारले प्रचण्ड नेतृत्वको कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जग भत्किन लागेको अहसासकसैलाई भयो भने त्यो अस्वाभाविक होइन । अहिले त प्रभाकरले पडकाएको ‘हरित बम’ हानी रहित थियो । अध्यक्ष प्रचण्डले सम्हाल्न सक्नु भएन भने माओवादी केन्द्र ‘विनाशक’ वमको प्रहारले साँच्चिनै पडकिन पनि सक्नेछ ।

जनताको मुक्तिका लागि बाह्रबर्ष लामो जनयुध्द लडेर आएको पार्टीका नेता र कार्यकर्तामा सत्तामा पुगेर ‘देशको बिकासका लागि केही गर्नेआँट र हुटहुटी हुनु अस्वाभाविक थिएन । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि पनि संविधान निर्माणको प्रक्रिया शुरुहुन सकेन । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा माओवादीको प्रतिनिधित्व थियो । तर, त्यसको फलदायी परिणाम आउन सकेन । तत्कालीन राजनीतिक परिवेशमा माओवादीहरु नराम्रोसंग अलमलिए । त्यो अलमलमा माओवादीका अध्यक्ष आफैपनि रुमलिनु भयो । संविधान सभाको पहिलो चुनाव भयो । त्यो चुनावमा माओवादीले आफनो प्रभावको राम्रो प्रदर्शन गर्यो । प्रचण्ड प्रधानमन्त्री हुनुभयो । तर, पार्टीका अधिकांश नेता र कार्यकर्ताले सत्ताको नियत र नियति दुबै बुझन सकेनन । राष्ट्रपतिको निर्वाचनमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा निर्वाचित नगरेर प्रचण्डले ठूलो गल्ती गर्नु भयो । त्यतिबेला उहाँले बैकल्पिक कम्युनिष्ट पार्टीको निर्माण गर्नसक्ने सम्भावना धेरै थियो । २०४७ देखि कांग्रेस र एमालेबीच रहेको बिग्रहपूर्ण सम्बन्धको अर्थ उहाँले बुझनु भएन ।

संविधान सभाको दोस्रो चुनावसम्म आइपुग्दा माओवादी शिथिल भै सकेको थियो । परिवर्तनले जनतामा कुनै जोशल्याउन सकेको थिएनन । पहिलो र दोस्रो संविधान सभाको बीचको समयमा माओवादी कार्यकर्ताहरुको मोहभंग भै सकेको थियो । संविधान सभाको दोस्रो चुनावी अभियानमा जानु भएका प्रचण्डले आफनो पार्टी बिखण्डनको बाटोमा जानसक्ने आभाश पाइसक्नु भएको थियो । पहिलो र दोस्रो संविधान सभा तथा संविधान निर्माणको समयान्तरमा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल, माओवादीका वावुराम भट्टराई र नेपाली कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री हुनुभयो । तर, उहाँहरुले केही गर्नसक्नु भएन । माओवादी सशक्त राजनीतिक दलका रुपमा रहन सकेन । यसको संगठनात्मक स्वरुप चरमरायो । प्रचण्डले पार्टी त टिकाउनु भयो । तर, मोहन बैद्य, वावुराम भट्टराई, सीपी गजुरेल, विप्लव र अन्य कतिपय नेताहरु उहाँसंग बिच्किएर बाहिरिए । तै पनि, प्रचण्डले पार्टीको अस्तित्व ‘जोगाउनु’ भयो ।

देशमा गणतान्त्रिक संविधान जारी भएपछि नेपाली कांग्रेस, एमाले र माओवादीले आपसी गठबन्धनका आधारमा सरकारको नेतृत्व सम्हालेका छन । सबैभन्दा पछिल्लो समयमा नेपाली कांग्रेस र एमाले मिलेर सरकार चलाउन थालेका छन । तर, यी दुबै दल मिलेर बनेको सरकारको पनि भविष्यको टुंगो छैन । वर्तमानको तरल राजनीतिक परिस्थितिमा जे पनि हुन सक्दछ भन्ने मनस्थिति बन्न थालेको छ सामान्य जनताको । सरकारले अंगीकार गरेका कुनैपनि नीति ब्यबहारिक देखिएका छैनन । लोकतन्त्रका नाममा देशमा ठालुतन्त्र बिकसित भइ रहेकोछ । शासकीय पध्दति निर्माणको प्रक्रियामा सबै राजनीतिक दलको सहभागिता हुन सकेको छैन । चाहे कांग्रेस होस, एमाले होस, माओवादी होस अथवा क्षेत्रिय दलहरु हुन कतै र कहीं पनि समान चिन्तनको परम्परा देखिएको छैन । सरकारमा जाने र अधिकारको दुरुपयोगगर्ने मानसिकता रहेको छ नेताहरुको । राजनीतिक दलहरु राजनीतिक संस्थाका रुपमा होइन, स्वार्थ प्रेरित तत्वहरुको गठबन्धन जस्ता देखिन्छन । देश लोकतान्त्रिक गणतन्त्रको बाटोमा लागेपछि पहिलो पटक सत्तामा पुगेको माओवादी पार्टीमा यो प्रबृत्ति झनै संक्रामक रुपमा फैलिएकोछ ।

अहिलेको समय देश र सामान्य जनताका लागि हितकर छैन । राजनीतिका नाममा देशको शासन चलाउनेहरुविभिन्न अराजनीतिक र आपराधिक गतिविधिमा ब्यस्त देखिन्छन । दोस्रो चुनाव सकिएपछि सरकार गठनका बेला कांग्रेस नेतृत्वले ‘हेकडी’ देखाएका कारण ‘बाध्य भएर’ एमालेको सहयोगलिन अध्यक्ष खडगप्रसाद शर्मा ओलीको निवास पुग्नु भएका प्रचण्डले कांग्रेस र माओवादी बीच ‘लठारिएको’ सम्बन्धको राम्रै बिश्लेषणगर्नु भएकोहुनुपर्दछ । तर, मिलिजुली सरकार एक आपसमा लठारिएरमात्रै चल्दैन ।पछिल्लो पटक एमालेसंग मिलेर गठवन्धन सरकारको निर्माण गर्नुभन्दा पहिले प्रचण्डले यसअघि सरकार चलाउने नाममा पटक–पटक भएका गठबन्धनको कुनै उपादेयता नरहेको तथ्य बुझनु पर्नेथियो । तर, उहाँले त्यो बुझन चाहनु भएन वा सक्नु भएन । नेपाली समाजमा उल्किएर देखा परेका ‘विविध’ बिषयहरुको समाधानका लागि ठूला र प्रभावशाली दलका नेताहरु बढी नै सजग हुनु आवश्यक थियो । आफनो हुटहुटिने स्वभावका कारण प्रचण्ड ‘कहिले मायाँ भक्तपुर, कहिले काठमाडौं’ शहरमा भडकिइ रहनु भयो ।

एमालेसंग सैध्दान्तिक समानताका कारण कम्युनिष्ट एकीकरणको लोभमा फँस्नु भएका प्रचण्ड एमाले र माओवादी दुबै कम्युनिष्ट पार्टी भएपनि यी दुबैको धार फरकछ । एमाले अध्यक्ष खडगप्रसाद शर्मा ओलीले कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री दिवंगत गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री प्रचण्डका बीच भएको बृहत्त शान्ति सम्झौताको अन्तर्य नबुझेको होइन, माओवादीलाई दङ्ग्याउन खोजेको मात्रै हो । अध्यक्ष ओलीले एउटा देशमा दुइवटा कम्युनिष्ट पार्टी फष्टाउन नसक्ने उदाहरण भारतमा नै भेट्नु भएको हो । भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) आपसी व्दन्व्दले कसरी धूल धुसरित भए ? त्यसको पनि खुलासा छ अध्यक्ष ओलीलाई । उदाहरण संसारको आँखा अगाडि छ । तै पनि अध्यक्ष ओली आफनो सांगठनिक प्रभावका आधारमा बिद्रोहबाट आएको शक्तिलाई खुम्च्याउन चाहनु हुन्छ । तर, त्यस्तो हुँदैन । बिद्रोहीहरु एकआपसमा झगडा गर्दछन । तर, क्रय–बिक्रयको बेला सबै एक ठाउँमा उभिन हिच्किचाउँदैनन ।

माओवादी पार्टीको केन्द्रीय बैठकमा उप–महासचिव जनार्दन शर्मा प्रभाकरले हरित बम पडकाएपछि प्रचण्डलाई आफनो दशा र दिशाको बोध भएको हुनु पर्दछ । प्रचण्डलाई यो कुराको पक्कै ज्ञान छ ः प्रभाकरले त हरित बम पडकाएर पार्टीमा सुधारको आग्रह राखेका छन । तर, अरुले प्रहारगर्ने बम अग्निबम जस्तो घातक पनि हुनसक्दछ ।प्रचण्डले आफनो लामो राजनीतिक जीवनमा अनेकौ घटना र दुर्घटना बेहोरी सक्नु भएको छ । शान्ति प्रक्रियामा आएपछि उहाँको राजनीतिक ब्यक्तित्व स्थापित भएकोछ । तर, पछिल्लो समयका उहाँका राजनीतिक चर्याहरुले उहाँको मूल्यांकन एउटा सामान्य राजनीतिक नेताका रुपमा हुन थालेकोछ । यो उहाँको र उहाँको पार्टीका लागि राम्रो कुरा होइन ।

वर्तमान समयमा नेपालमा मात्र होइन, संसारका सबै देशमा, सबै समाजमा, जतासुकै शक्तिको महिमा गाउने चलन छ । शक्तिको महिमा अपरम्पार छ । त्यो महिमाको आकर्षणमा नेपालका देउवा, प्रचण्ड र ओलीमात्रै होइन संसारका सबै नेता परेका छन । सबैलाई आफनो नाममा प्रकाशित भएका स्तोत्रहरुको पाठजनताले गरुन भन्ने लागेकोछ । नजितेसम्म कोही पनि सिकन्दर बन्न सक्दैन । अहिले देउवा र ओली बिजयपथमा लम्किइरहेको भान हुन्छ । तर, प्रचण्ड पराजय पथमा छन कि सिकन्दरको बाटो पछ्याउँदैछन ?यसबारे उनका आगामी कदमहरुको पर्यवेक्षण पछि नै केही भन्न सकिनेछ ।