नेपालगन्ज : संघीयताले ओझेलमा परेको शहर - रुपान्तरण
 २०८१ माघ ८, मंगलबार    

नेपालगन्ज : संघीयताले ओझेलमा परेको शहर

आर्थिक राजधानी र पर्यटनको ट्रान्जिटका रुपमा बिकास गर्ने पहल शुरु


- सिराज खान

नेपालगन्ज । नयाँ मूलुकका रुपमा चिनिएको बाँकेको नेपालगन्ज केही वर्ष पहिलेसम्म पश्चिम नेपालका २३ जिल्लाको प्रमुख केन्द्रका रुपमा परिचित रहदै विकसित भएको थियो । राजनितिक हिसावले मात्र नभई शिक्षा, स्वास्थ्य र प्रशासनिक हबका रुपमा समेत परिचित यस शहर तत्कालिन भेरी, कर्णाली, सेती र महाकाली अञ्चल संगै राप्तीको पनि प्रमुख केन्द्रका रुपमा स्थापित रहन पुग्यो । विस्तारै व्यवसायिक, शैक्षिक, स्वास्थ्य उपचार र प्रशासनिक जस्ता क्षेत्रहरुमा अगाडि बढिरहेको यस क्षेत्र सबैजसो कार्यका लागि नेपालगन्जकै भर पर्नुपर्ने अवस्थामा रहेको थियो ।

तर, देशमा गणतन्त्र स्थापनापछि संघीयताको मर्मलाई अंगालेको नेपालगन्जले सबैभन्दा ठुलो हानी व्यहोर्नु पर्याे । राज्य पुर्नसंरचनाका क्रममा बाँकेलाई लुम्बिनी प्रदेशमा समावेश गरेपछि यस क्षेत्रको महत्वलाई भुलेर राजधानी अन्तै बनाउँदा यहाँको महत्व नै ओझेलमा पर्दै गएको देखिन्छ । 

bheri aspatal nepalgunj

कुनै बेला समग्र पश्चिम नेपालकै केन्द्रका रुपमा परिचित यो शहर न त लुम्बिनी प्रदेशको राजधानी बन्न सक्यो न त कर्णाली प्रदेशमा जोडिएर कर्णालीको लाईफलाइन बन्न सक्यो । 'त्यति बेलाका राजनितिज्ञहरुको बेमतलवीपनले गर्दा नेपालगन्जको अस्तित्व नै खतरामा पार्ने कार्य भयोु, स्थानीय अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले, 'बर्षाैदेखि पश्चिम नेपालको केन्द्र र लाइफलाइन रहेको यो शहरलाई अहिले यता न उताको पारेर लुम्बिनी प्रदेशको राजधानी पहिले बुटवल र अहिले भालुवांगलाई बनाएको बताउनुभयो ।’

यस्तै 'कर्णाली प्रदेशको राजधानी सुर्खेत बिरेन्द्रनगरलाई बनाइएकोमा उहाँले दुखमनाउ गर्नुभयो । नेपालगन्जमा रहेका सबै महत्वपुर्ण कार्यालयहरु यहाँबाट सारिएका छन्, अब यो सहर एउटा सामान्य ट्रान्जिट प्वाइन्टमा मात्र सिमित रहन पुगेको छ ।'

बाँके जिल्लाको महत्वलाई आत्मसात गर्न नसक्दा अहिले यस्तो अबस्था आएको अधिकांशको भनाई रहेको छ । भारतीय सीमानासँग जोडिएका धनगढी, जनकपुर र बिराटनगरलाई प्रदेश राजधानी बनाउँदा नेपालगन्जको किन उपेक्षा गरियो भन्ने प्रश्नको उत्तर यहाँका वासिन्दाले खोजिरहेका छन् ।

राजनितिज्ञहरुको संकिर्ण सोंचका कारण नेपालगन्ज ओझेलमा पर्न थालेको स्थानीय अगुवा हेमन्तराज काफ्लेले बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी बनाउने प्रयास असफल भएपछि अब बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभेर नेपालगन्जलाई फेरी पश्चिमको प्रमुख केन्द्र बनाउने प्रयास यतिबेला यहाँ शुरुवात भएको छ ।

संविधान संशोधनको चर्चा चलिरहेको बेला बाँकेवासीले यो शहरको अस्तित्व जोगाउन र यसको महत्व पुनस्थापित गर्न नेपालगन्जलाई कर्णाली प्रदेशमा गाभ्ने अभियान चलाएको स्थानीय अगुवा बिनोद कर्णले बताउनुभयो ।

अर्कोतिर, नेपालगन्जलाई आर्थिक केन्द्र घोषणा गर्ने र यहाँ ठूलो संख्यामा उद्योग, कल कारखाना स्थापना गर्नेे तयारी भईरहेको देखिन्छ । यो शहरलाई कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रवेशद्धारको रुपमा विकास गरेर पर्यटकहरुका लागि सहज आवागमनको केन्द्र बनाउने प्रयास शुरु भएको दावी गरेपनि, खास काम प्रारम्भ नभएको पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताउनुभयो ।

उहाँले, पश्चिम नेपालको केन्द्रमा रहेको बाँकेमा सडक यातायात लगायत हवाईमार्गसँगै सीमा नाका तथा अन्य बिभिन्न भौतिक पूर्वाधारहरु पर्याप्त मात्रामा भएकोले यो जिल्लालाई आर्थिक केन्द्रका रुपमा घोषणा गरेर अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।

Nepalgunj airport

कैलाश मानसरोवर र राराताल जाने आन्तरिक र विदेशी पर्यटकका लागि नेपालगन्ज सुविधापूर्ण विमानिस्थल रहेको छ ।

यस्तो छ नेपालगन्जको संक्षिप्त इतिहास

अबध शासनको अधीनमा रहेकै समयमा तत्कालीन श्री ३ जंगबहादुर राणाले शहरीकरण शुुरु गरेको नेपालगन्जको इतिहास मधेसका अन्य शहरहरुको इतिहास भन्दा फरक रहेको छ । सुगौली सन्धीबाट गुमेको भूभाग मध्ये अंग्रेजहरुले उपहारका रुपमा फिर्ता गरिदिएको शहर भएकाले केहि बर्ष पहिलेसम्म नेपालगन्ज लगायत बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई नयाँ मुलुकका रुपमा चिन्ने गरिन्थ्यो ।

नयाँ मूलुकका रुपमा चिनिएको नेपालगन्ज शहरलाई जंगबहादुर राणाले औपचारिक नाम दिएको स्थानीय जानकारहरु बताउँछन् । नेपालगन्जलाई जंगबहादुरको सपनाको शहरका रुपमा पनि ब्याख्या गर्ने गरिएको कुरा स्थानीय शिक्षक सचिदानन्द चौबेले बताउनुहुन्छ ।

उहाँका अनुसार यो शहर बसाउन जंगबहादुरले आफ्नो विश्वासपात्र पदमनाथ जोशीलाई पठाएको इतिहास उल्लेख छ । त्यसभन्दा अघि नेपालगन्जमा बजार नरहेको र नेपाल–भारत सीमामा जयसपुर बजारबाट किनमेल गर्नुपर्ने अवस्था रहेको थियो । .नेपालगन्ज नेपालकै प्रमुख शहर मध्येको एक मानिन्छ । यहाँको जनसंख्या एक लाख ५० हजार भन्दा बढी रहेको छ । हिन्दू र मूस्लिम दुवै धर्मावलम्बीहरु यहाँ सरोबरीे छन् । यो शहरमा नेपाली, हिन्दी र अवधि भाषा प्रचलित रहेको छ ।

यस्ता छन यी क्षेत्रका बिशेषताहरु

पश्चिम नेपालको प्रमुख केन्द्र तथा प्रमुख नाकाको रुपमा परिचित नेपालगन्जलाई प्रदेशको प्रशासनिक केन्द्रका रुपमा परिचित नगरिए पनि स्वास्थ्य उपचार, शैक्षिक गतिविधि र आर्थिक गतिविधि बाक्लो रुपमा रहेकोले यस क्षेत्रको विकास अन्यत्रको भन्दा अगाडि बढेको देखिन्छ । यहाँ सञ्चालनमा आएका ठुला ठुला सुविधा सम्पन्न अस्पताललाई स्तरीय बनाउँदै गएको देख्न सकिन्छ ।

nepalgunj border

पश्चिम नेपालका २३ जिल्लाका बिरामीहरु उपचारका लागि नेपालगन्ज नै आउने गरेका छन् । पश्चिम नेपालका बिरामीको रेफरल सेन्टरका रुपमा नेपालगन्ज स्थापित भइसकेको छ ।

चितवनमा रहेको क्यान्सर अस्पताल पछि नेपालगन्जको खजुरामा मात्रै क्यान्सर अस्पताल सञ्चालन भएको छ । यसले गर्दा यस क्षेत्रका क्यान्सरका पीडितहरुका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । नेपालगन्जमा निकै सुविधा सम्पन्न शैक्षिक संस्थाहरु खुल्ने क्रम बढ्दै गएको छ । यो शहर शैक्षिक केन्द्रका रुपमा विकसित हुदैैँ गएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो व्यापारिक नाका नेपालगन्जनै रहेकोेले हालै यहाँ सञ्चालनमा आएको आईसीपीले आयात निर्यात सहज गर्नुका साथै उद्योग कलकारखाना खुल्ने क्रम पनि बढेको छ । सबैभन्दा ठुलो र सुविधा सम्पन्न विमानस्थल नेपालगन्जमा रहेकाले देश विदेशका विभिन्न शहरहरु सँग पश्चिम नेपाललाई जोड्ने प्रमुख केन्द्रका रुपमा परिचित भएकोे छ ।

पर्यटकलाई आकर्षित गर्न यहाँ ठुला ठुला होटल, वाटरपार्क, बाँके निकुञ्ज, क्यासिनो लगायतका मनोरञ्जनका साधनहरु रहेका छन् भने, कैलाश मानसरोवर र राराताल जाने आन्तरिक र विदेशी पर्यटकका लागि नेपालगन्ज सुविधापूर्ण विमानिस्थल रहेको छ ।

"

"

"

"

"