मधेशका महन्थ - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

मधेशका महन्थ


आफ्नो राजनीतिक जीवनको प्रारम्भ नै नेपाली कांग्रेसबाट गर्नु भएका महन्थ ठाकुर नेपालमा लामो समयसम्म चलेको स्वतन्त्रता प्राप्तिको आन्दोलन र अभियानका प्रमुख हस्ती हुनुहुन्छ । आफ्नो लामो राजनीतिक जीवनमा जति घात र संघातको सामना गर्नु भएकोछ, ब्यक्तिगत जीवनमा पनि त्यति नै गहिरो पीडा बेहोर्नु भएकोछ । तै पनि, महन्थ निस्पृह भावले राजनीतिमा सक्रिय हुनुहुन्छ ।
२०४६ सालको राष्ट्रिय जन–आन्दोलनले राजाको सक्रिय नेतृत्वमा चलेको निरंकुश निर्दलीय राजनीतिको विस्थापन गरेपछि सत्तामा आएको नेपाली कांग्रेसले उहाँलाई निर्वाचित संसदको उप–सभामुख बनायो । यो उहाँको नियति थियो कि के थियो, चाहना पक्कै थिएन ।

क्रान्ति र आन्दोलनका समयमा नेपाली कांग्रेसको मुख्य आधार मधेश भएपनि कांग्रेसको शीर्षस्थ नेताहरुले मधेशका नेताहरुको समुचित सम्मानगर्न कहिल्यै जानेनन । देशका राष्ट्रिय भनिने पार्टीहरु राष्ट्रियताको संकुचित परिभाषामा अलमलिए । नेपालको अभिन्न अंगका रुपमा रहेको मधेश त्यही संकुचित परिभाषाका कारण अलग–थलग देखिए । मधेशमा २००७ सालको क्रान्तिका प्रमुख अभियन्ता मध्येका एक तथा क्रान्तिको सफलतापछि जनकपुर क्षेत्रका प्रधानमन्त्री रहनु भएका ब्यक्तित्व महेन्द्रनारायण निधिलाई संकुचनमा पारिएको थियो । उहाँको देश भक्ति, सैध्दान्तिक निष्ठा, राजनीतिक र सांगठनिक क्षमता, उहाँको नेतृत्वप्रति जनतामा रहेको आस्था र बिश्वासको उपेक्षागर्दै, २०१५ सालको निर्वाचित संसदमा उहाँलाई ‘उप–सभामुख’ बनाइएको थियो ।
निधिसंग जस्तो ब्यबहार गरिएको थियो, २०४७ सालमा त्यस्तै ब्यबहार गरियो महन्थसंग पनि । लोकको नजरमा महन्थ त्यतिखेर कांग्रेसका महामन्त्री तथा शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालाका निकट मानिनु हुन्थ्यो । यसकारण पनि, नेतृत्वको अनुचित ब्यबहारबाट महन्थको चित्त दुःखेको थियो भने यो स्वाभाविक थियो । तर, पनि उहाँले पार्टी अनुशासनको पालनागर्नु भयो र संगठन र सरकारी ओहोदामा रहनु भयो । माओवादीसंग बृहत्त शान्ति सम्झौताको प्रारुप तयारीका लागि पार्टीले महन्थलाई दिल्ली पठायो । पछि उहाँलाई फिर्ता बोलाएर कृष्णप्रसाद सिटौलालाई पठाइयो ।
पहिलो मधेश आन्दोलनपछि भने महन्थको धैर्यको बाँध फुट्यो । उहाँ नेपाली कांग्रेसमा ‘जसरी–तसरी’ अटाउन खोज्नु भएन । उहाँ नेपाली कांग्रेसलाई ‘तोडेर’ हिंडन चाहनु हुन्नथ्यो । त्यसैले, एकदिन बिहानै पार्टी छाडेर खुसुक्क हिड्नु भयो ।

Thakurji

महन्थले २०६४ सालको मंसीर महिनामा तराइ मधेश लोकतान्त्रिक अभियान चलाउनु भयो । यही अभियानले पछि गएर ‘तमलोपा’ (तराइ मधेश लोकतान्त्रिक पार्टी) को रुप लियो । त्यसपछि महन्थले पार्टी निर्माणको दुइवटा असफल प्रयोग गर्नुभयो: राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टी । सर्सर्तीहेर्दा अहिलेको ‘लोकतान्त्रिक समाजवादी पार्टी’ दृढ रहने देखिएकोछ । महन्थकोे नेतृत्वमा गठन भएको पार्टीमा अधिकांश कांग्रेस छोडेर आएका असन्तुष्टहरु र प्रजातान्त्रिक बिचार राख्ने ब्यक्तिहरु समेटिएका छन ।


यो बर्ष महन्थ र उहाँको लोकतान्त्रिक समाजवादी पार्टीले पाखुरामा कालोपट्टी बाँधेर संविधान दिवस मनायो । किन ?
२०४६ सालको संयुक्त जन–आन्दोलनका समयमा बहुदलीय प्रजातन्त्रका पक्षपाती तथा नेपाली कांग्रेसका प्रखर नेता महन्थ ठाकुरको मनमा संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातान्त्रिक शासन ब्यबस्था साथसाथै अघि बढन सक्छन कि सक्दैनन ? भन्ने अहम प्रश्न उठेको थियो । उहाँको मनमा उठेका अन्य प्रश्न थिए : परिवर्तनपछि मधेशको संरचना र समस्याहरुको समाधानहुन सक्दछ कि सक्दैन ? त्यही बेला उहाँको मनले यो प्रश्नको पनि जवाफ खोजेको थियो – नेपाल ‘नेशन स्टेट’ मात्रै हो कि ‘मल्टी नेशनल स्टेट ?’


त्यतिखेर महन्थको मनमा जे प्रश्न उठेपनि, उहाँ संविधान बिरोधी हुनुहुन्न । यति हो कि उहाँले वर्तमान संविधान त्रुटीपूर्ण भएको निष्कर्ष निकाल्नु भएकोछ । अन्तरीम संविधान आन्दोलनकारीले बनाएका थिए । मधेशले स्वायत्त प्रदेशको मान्यता त पाएकोछ, तर समावेशी र समानुपातिक कानून त्रुटीपूर्ण छन ।
महन्थको अर्को आक्रोश पनि छ : राज्यको सम्पत्तिको प्रयोग निजी सम्पत्तिका रुपमा गरिएको छ । के संघीय गणतन्त्रको लक्ष यही थियो त ? उहाँ स्थितिमा सुधार आओस् भन्ने चाहनुहुन्छ । भन्नु हुन्छ ः तर, संघर्ष बिना न सुधार आउँछ, न परिवर्तन ।

महन्थ संघीय गणतन्त्रको स्वास्थ्यका बारेमा अलिकति निराशा ब्यक्त गर्नु हुन्छ । उहाँको बिचारमा: संघीय गणतन्त्र मर्दापनि मर्दैन । यसलाई शक्तिशाली बन्न पनि दिदैन । यो अहिले बिमार छ । बिमारको बिमार नै रहन्छ ।
मधेशको राजनीतिमा अहिले देखिएका अनेक परिदृश्य तथा तिनका पृष्ठभूमिका बारेमा महन्थका बिचारहरु स्पष्ट छन । प्रस्तुत छ, महन्थ ठाकुरसंगको ताजा वार्ता :

किशोर नेपाल: महन्थजी, तपाईं भन्नुहुन्छ हाम्रो समाज एकैसाथ आधुनिक पनि छ र अत्याधुनिक पनि छ । हाम्रो समाज पुरातन शैलीबाट मुक्त हुन सकेको छैन । यो कुरा तपाई प्रतीकात्मक रुपमा बारम्बार इंगित गर्नु हुन्छ । जस्तै, मन्दिरमा गणेशजीको मूर्ति पनि छ, मुसाको मूर्ति पनि छ । भगवान बिष्णु शेषनागको शैय्यामा सुत्छन । साँढे महादेवका सारथी छन । दुर्गा सिंहमा सवार भेटिन्छिन... । तपाईको नेतृत्वको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को स्वरुप पनि यस्तै देखिन्छ । यसलाई अलिकति व्याख्या गर्नुहोस् न । राजनीतिमा तपाई पनि त अचम्मको मानिस हुनुहुन्छ । मूसा, साँढे, शेषनाग र सिंह सबैलाई मिलाएर एकैठाउँमा राख्न खोज्नु भएकोछ । तपाई जोगी हो कि, साधु हो कि, सन्त हो कि, राजनीतिज्ञ हो कि, ‘राजनीतिकार’ मात्रै हो ? अलिकति व्याख्या गर्नुहोस् न जीवन, जगत र अहिलेको हाम्रो समाजको ।

महन्थ ठाकुर: पहिले यी सब कुरा मेरो दिमागमा नै आउदैनथ्यो । केही महिना अघि अस्वस्थ्यताका कारण घरमै बसेको थिएँ । इलाज अहिले पनि दिनदिनै चलिरहेकैछ । त्यसैले पनि होला, मैले पहिलेको जस्तो केही महसुस गर्न सकेको छैन । केही दिन बाँकी छ जिउन । कुनै समय पनि प्रस्थानगर्न सकिन्छ वर्तमानबाट । भविष्य कहाँ छ कहाँ । कसैलाई थाहा हुँदैन । मैले गर्न खोजेको र गर्न चाहेको केही पनि गर्न सकेको छैन । तर, संघर्ष गरेको छु । बचपन देखि नै संघर्षमय भयो मेरो जीवन बाल्यकालमा नै आमाको देहान्त भयो । धेरै दिनसम्म आकाशतिर एकोहोरो हेरेर बसें । कसैसंग नबोल्ने, चुपचाप बस्ने । अहिले पनि बिमार भएँ । सबैले आशा छोडी सकेका थिए । तर, म बाँचे । एउटा कुरा के छ भने, मेरो जीवनमा धेरै पटक संकट आएको छ । खोइ के हो । थाह छैन । म एकदमै अनिष्टको समय बेहोरेर बसेको छु । एउटा कुरा बुझ्न सकेको छैन । जति बेला मधेश आन्दोलन चलिरहेको थियो । सबै बुद्धिजीविहरु म कहाँ आएका थिए । धेरै युवाहरु प्रश्न गरिरहेका थिए : तपाई के गरिरहनुभएको छ ? यहाँ बिश्वविद्यालयमा पढाएर बस्ने होइन । तपाई राजीनामा गर्नुहोस् । आउनुहोस् तपाईलाइ के लिनु छ र ? कांग्रेस छोडी हाल्नु भयो ।
त्यसबेला संविधान सभाको चुनाव थियो ।


तपाईले कांग्रेस छोड्नु भएको घटना भवितव्य थियो कि ‘क्यालकुलेटिभ’ ?

भवितव्य त भन्नै मिल्दैन । कांग्रेस त छाडेकै हो । कांग्रेससंग मेरो भाव मिलेन । २०६२/६३ पछि मधेशका ठाउँ ठाउँमा आफ्नो किसिमले उथलपुथल भयो, पूर्वतिर पनि र पश्चिमतिर पनि । ६२/६३ को आन्दोलन पछि मधेशमा, जाने पनि र नजाने पनि, एउटै वाक्य सुनियो: गयो संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्र ।
संवैधानिक राजतन्त्रको समाप्ति र लोकतान्त्रिक गणतन्त्रको प्रारम्भको त्यो कालखण्डमा मेरो बिचार पनि यसरी नै उद्वेलित थियो । त्यही उद्वेलनका कारण मैले कांग्रेस छाडें । म कांग्रेस तोड्ने पक्षमा कहिल्यै रहिन । कुनैपनि संस्था तोडेर अघिबढन सकिन्छ भन्नेमा मैले कहिल्यै बिश्वास गरिन । कांग्रेस तोडेरभन्दा छाडेर कामगर्नु उचित लाग्यो मलाइ ।


त्यतिबेलाको तपाईको उदवेलनको कुनै आन्तरिक कारण पनि त थियो होला नि ? त्यति लामो जीवन नेपाली कांग्रेसमा बिताएको मानिस । उप–सभामुख र संचारमन्त्रीको दायित्व सम्हाली सकेको ब्यक्तित्व । देशबाट प्रजातन्त्र शब्द हट्यो, लोकतन्त्र शब्द आयो । अनि संघीयताका कुरा आए । मधेश आन्दोलित नभएसम्म त संघीयता सम्भव पनि थिएन । के भन्नुहुन्छ ?

प्रजातन्त्र आएपछि केही साधारण बिकास शुरु भएको थियो । बिकास सुस्त थियो । त्यो पर्याप्त थिएन । भर्खर एउटा सिस्टम बसाल्ने काम हुन थालेको थियो । तर त्यसलाई चल्न दिइएन । त्यसपछि म पनि कांग्रेस छाडेर हिडे ।


मेरो र तपाईको सम्बन्ध आत्मीय छ र पुरानो पनि छ, पचास बर्ष पुरानो । २०२५ सालदेखि कै । त्यतिबेला तपाई क्रान्तिका पक्षमा एकदमै हठी, एकदमै चञ्चल, आगोको ज्वाला जस्तो महन्थ ठाकुर हुनुहुन्थ्यो । बहसमा कसैले तपाईलाई जित्न सक्दैनथ्यो । तपाई तार्किक हुनुहुन्थ्यो । आफ्नो अतीतको सम्झना आउँदैन ?


आउँछ । किन नआउनु ? हो, अध्ययन थियो मेरो । म धेरै पढ्थे । पाठ्यपुस्तक भन्दापनि बिचारोत्तेजक पुस्तकहरु । तपाईंलाई पनि याद छ होला, काठमाडौंमा हुँदा तपाईं हामी दिनहूँ साँझ नयाँ सडकमा रहेकोे सन्देश गृह पुग्दथ्यौ । भारतबाट प्रकाशितहुने पत्रपत्रिका किनेर पढथ्यौ । दिनहूँ पटनाबाट काठमाडौ आउने हवाइजहाज चढेर आउने हिन्दी र अंग्रेजी भाषाका पत्रपत्रिकाहरु । पत्रपत्रिका किन्नेको भीड लाग्थ्यो रन्जना मोडमा रहेको त्यो सानो पसलमा । यहाँका बुद्धिजीविहरुलाई खुराक चाहिन्थ्यो । धर्मयुग, दिनमान, इलस्टे«टेड वीक्ली अफ् इण्डिया पढ्थे म । पछि मैले कम्युनिष्ट साहित्यको अध्ययन गरे । कार्ल माक्र्स, एंगेल्स र लेनिनका बिचारहरु । कम्युनिष्ट मेनिफेस्टो । मलाई पोलिटिकल इकोनोमिक्स पढ्न मन लाग्थ्यो । पहिले त म साइन्सको बिद्यार्थी थिए । मेरो जीवन कथा जस्तो छ । अहिले पनि म डिस्टर्व देखिन्छु नि, त्यसबेला पनि त डिस्टर्व नै थिएँ ।


कांग्रेसको आन्दोलनसँग चाँही कसरी जोडिनुभयो ?


कांग्रेसको आन्दोलनसँग त म शुरु देखि नै जोडिएको थिएँ । मेरो त गाउँ र क्षेत्र नै कांग्रेसी थियो । राणा शासनका बिरुध्द मेरो क्षेत्रमा ठुलो आन्दोलन भएको थियो । प्रत्यक्ष या अप्रत्यक्ष होस्, माक्र्स, लेनिन, पण्डित नेहरु र भारतका समाजवादी नेता डा.राममनोहर लोहियाका बिचारको अध्ययनगर्ने त वानी नै लागेको थियो । म धार्मिक किताबहरु पनि पढ्थे । सनातनी परिवार भएकोले घरमा रामायण, वेद, महाभारत जस्ता ग्रन्थ हुन्थ्यो ।

मलाइ सम्झना छ – तपाई गीताप्रेस, गोरखपुरबाट प्रकाशितहुने कल्याण पत्रिका पनि पढ्नहुन्थ्यो ।


हो, पढ्नमा मेरो रुचि थियो । सीमापारी राजनीतिक र धार्मिक पुस्तकहरु सुलभ थियो । एकजना पत्रकारले मलाई केही प्रश्न सोधेको थियो । मैले जवाफ दिएको थिएँ, ‘सीमानाका रेलवे स्टेशनमा ए.एच.व्हिलर कम्पनीको बुकस्टल राखिएका हुन्थे । त्यो बुकस्टलले पनि मलाई पढ्न प्रेरित गरेको हो । हामी रेल्वे स्टेशनको प्रतीक्षालयमा बसेर आरामसंग पुस्तक र पत्रिका पढ्ने गर्दथ्यौं ।’ मेरो मनमा सँधै खुलदुली लाग्ने गर्दथ्यो ः बीपी कोइराला, माक्र्स, लेनिन जस्ता ब्यक्तिहरु कसरी प्रख्यात भए ? त्यत्तिकै त भएका होइनन होला । तर, मेरो पढाई सजिलो तरिकाले भएन । म पढिरहन्थे । जेलमा परेका बेलापनि पढ्थे । माक्र्स, लेनिन त्यसपछि अध्यात्म ः ज्ञानको दुईवटा स्रोत – एउटा अध्यात्म अर्को भौतिकवाद, जो प्रकृतिका साथ आफ्नो सम्बन्ध राख्छन् । अध्यात्म चाहीं एउटा उद्देश्यमूलक शक्तिका लागि पढ्ने गर्दथे ।


त्यस्तो अदृश्य शक्तिको परिकल्पना कसरी गर्नुहुन्थ्यो तपाई ? केही त हुन्थ्यो होला नि ?


त्यसमा के छ भने मधेशका गौतम बुद्धका बिचारहरु पनि राम्रोसँग प्रस्तुत गरिएको छैन । एकदिन गौतम रथमा चढेर आफ्नो राज्यको भ्रमणमा गएका हुन्छन । त्यो बेला देखिएको लाशले उनलाई सोच्न बाध्य गराउँछ ः के उ मरी सक्यो ? अब उसको दाहसंस्कार गरिदिने हो ? गौतमले दशांै दिन आफ्नो राज्यको नीरिक्षणगर्दा एकजना बृध्द ब्यक्ति लठ्ठी टेकेर हिंडेको देख्दछन । किन यस्तो भयो ? उनी त्यो दृश्य हेर्न पनि सक्दैनन । बृद्ध ब्यक्ति बिस्तारै मर्छन । गौतम यो घटनाबाट प्रभावित हुन्छन र सत्यको खोजीमा लाग्दछन । के हो सत्य ? उनी दुई तीन ठाउँमा जान्छन । साधु, सन्त, महात्मा र भक्तको भेषमा । तर, उनको मन कसैगरि सन्तुष्ट हुँदैन । एउटा महात्मा दौडेर आउँथ्यो र जवाफ दिन्थ्यो, जाउ, तिमी जाउ र अझै सत्यको खोजी गर । अवश्य पनि सत्यसंग तिम्रो साक्षात्कार हुनेछ । सत्य के हो त ? ध्यानबाट यो सबै प्राप्त हुन्छ । शरीर आफ्नै नियन्त्रणमा फर्किन्छ । तपाईको शक्ति पनि बढ्छ । तपाईमा अलौेकिक क्षमताहरु प्राप्त हुन्छ ।
मानिसले सँधै आफ्नो ओरिजिन खोज्छ । मानिसको उत्पत्ति प्रलयबाट भएको हो । चीनियाँहरु यो कुरामा बिश्वास गर्दछन । तपाईंलाई थाह छ : चाइना इज द सेन्ट्रल इन द वल्र्ड ।

यो त अंग्रेजहरुले लेखेको इतिहासमा अंकित छ होइन ? यो वैज्ञानिक छ त ?


वैज्ञानिक नै त होइन । जसले यसबारे अध्ययन गरे तिनमा पढेलेखेका ब्राहमणहरु पनि पर्छन । उनीहरुले जो सुनाए त्यसैको आधारमा अरुहरुले अनुश्रुति लेखेका हुन ।


त्यतिबेलाका ब्राहमणहरुलाई अंगे्रजी आउथ्यो र ?


कहाँ आउनु ? कहाँ त्यहाँको स्थानीय भाषा, अनि कहाँको अग्रेजी । अनि चन्द्रशेखर, गजानन्द मिश्र जस्ता ब्यक्तिहरु नै त दूत हुन्थे । उनीहरुको सम्वाद । कहाँ थियो र हिन्दीको प्रचलन त्यतिबेला । हिन्दी त धेरै पछि आएको हो ।


भारतीय स्वतन्त्रताका समयमा छात्रहरुले जसप्रकारका आन्दोलनहरु गरेका थिए त्यसबाट पनि तपाई प्रभावित हुनुभएको थियो ?


उता त २६ अगस्तका दिन जुलुश निकाल्थे । शुरुमा म आफ्नै गाउँमा पढेको हो । सीमाको छेउमा बस्ने ग्रामीणहरु आफ्ना सन्तानलाई सीमापारीका गाउँ–बजारमा पढन पठाउँथे । एकजनाको लागि खाने बस्ने ब्यबस्था जमिन्दारहरुले मिलाइ दिन्थे । दुईजना बिद्यार्थीहरु आफैले बोरा वा चकटीको आसन बोकेर पढ्न जान्थे सीमापारी । भारतबाट आएका शिक्षकले पढाउथे उनीहरुलाई । ‘तराई प्रदेश भारतका एक प्रान्त है’ भनेर पढाउथे । म पनि त्यसरी नै पढेको हूँ । पछि म जनकपुरमा लेक्चरर भएँ ।
तपाई हामी भनेको त त्यतिबेला प्रजातन्त्र स्थापनाका लागि चलेको आन्दोलनका ड्रिमर हौं नि ? यस्तो देश बनाउँला, उस्तो देश बनाउँला: कस्ता कस्ता कल्पना गथ्र्यौ हामी ।


हो । हामीलाई बिश्वास थियो एकदिन प्रजातन्त्र आउँछ । किनभने बिकासको क्रम नै हो प्रजातन्त्र । हामीले जे अध्ययन गरेका थियौ, त्यसैका आधारमा संगठनको पनि निर्माण गर्यौं । समाजको बिकासका लागि हरेक उमेरका मानिसको शक्तिको प्रयोग गरिन्छ । यसैका लागि बिभिन्न किसिमको संगठनको निर्माण हुँदै जान्छ । यो राज्य स्वतन्त्रताको उत्पत्ति त्यसरी नै भएको छ । राज्य त्यसै त बनेको छैन ।

Thakurji2


महन्थजी, मैले बुझेसम्मको महन्थ ठाकुर एउटा डेमोक्रेट हो । अरु कुनै व्यक्तिवादी समूह र आचरणहरुसंग उसको केही मतलब छैन । शहीद सरोजप्रसाद कोइरालासँग तपाईको सम्बन्ध व्यक्तिगत भन्दा पनि भावनात्मक बढी थियो । सरोजप्रसाद कोइरालाको हत्यापछि तपाईको राजनीतिमा पनि सेटव्याक भयो । व्यक्तिगत रुपमा तपाईका लागि ठूलो आघात थियो यो । सरोज बाबु र तपाईका बीचमा राजनीतिक कम्युनिकेशन कसरी स्थापित भयो ?


त्यो समयमा गहराईमा खासै कुरा हुदैनथ्यो । उहाँसंग मेरो एउटा ‘नजदिकी’ र बिश्वसनीय सम्बन्ध थियो । मलाइ लाग्दथ्यो हामीहरुको समयमा नै डेमोक्रेसी आउँछ । यो अन्धविश्वास थिएन । तर भोली नै नेपालमा प्रजातन्त्र आउँछ भन्ने खालको बिश्वास पनि थिएन त्यो । तपाईको सम्झनामा पनि होला संघर्षको समयमा हामीहरुसँग प्रभावितहुने युवाहरु धेरै थिए । ती सबै अन्तिम समयसम्म हामीसंग रहेनन् । किन सक्रिय नभएको ? जसलाई सोद्धा पनि उनीहरु भन्थे – मेरो त जीवन नै समाप्त हुन्छ, क्यारियर नै सकिन्छ । राज्यले भयको प्रयोग गरेको थियो । त्यसबेला राजनीतिमा प्रवेश गर्नुको मतलब थियो कि ज्यान जानु, कि जेल जानु, कि धन सम्पत्ति खतम हुनु । सजाय ‘बहुत कम’ छ भने बोरा बिस्तरा बाधेर बोर्डर पार जानु ।

पन्चायतकालका धेरैजसो बिद्रोही वकालतमा लागे र पैसा पनि कमाए । तपाईपनि लाग्नु भयो वकालतमा । तर, तपाईले पैसा कमाएको देखिएन ।


मैले पैसा कमाउने उद्देश्यले वकालत गरेको होइन । कमजोर मानिसका मुद्दाहरु धेरै आउँथे म कहाँ । उसले जो दियो त्यही लिन्थे म । मानिसहरुमा एउटा बिश्वास थियो कि वकालतमा म गडबडगर्ने वाला मानिस होइन । त्यसैले म कहाँ अनेकन किसिमका मान्छेहरु आउँथे । जस्तै अहिले बिद्यार्थीहरु आउँछन र भन्छन तपाईले भारतीय दुतावासमा भनी दिनु भयो भने कतै न कतै मेरो एडमिशन भईहाल्छ । यो एकदमै गलत कुरा हो । होला, दुतावासले मेरो अनुरोधमा दुईचारजनालाई एडमिट गरिदिन्छ होला । तर, मैले भनेजति सबैको कहाँ गर्छ ?


सरोज कोइरालाको हत्यापछि तपाई राजनीतिमा अलिकति शिथिल र उदासीन हुनुभएको हो ?


त्यसबेला त्यस्तो थिएन होला । तर अहिले उदास हुन्छु । सरोज कोइरालाको स्थानमा मैया भाउजु रहनु भयो । हामी त्यहाँ जान्थ्यौ, आउँथ्यौ । त्यसबेला डेमोक्रेसी आएपछि के हुन्छ त ? भन्ने पनि दिमागमा थिएन । डेमोक्रेसी आउँछ भन्ने अटल बिश्वास थियो । त्यसैले हामी त्यसमा लागिरह्यौ । समाज बिकासको क्रममा डेमोक्रेसी त आउनु नै छ । त्यसपछि न योग्यता, क्षमता र दक्षताको आधारमा मुल्यांकन हुन्छ । तपाई फलानोको छोरा हो, तपाई फलानो धर्मको हो भनेर कसैको मूल्यांकन हुँदैन । किनभने, अब त्यो जमाना छैन । त्यसैकारण त्यो बिश्वास थियो ।


२०४६ देखि २०६२ सम्म तपाईले पार्टी भित्र निकै दुःख झेल्नु भयो नि । तपाईको ‘टसल’ भइरहन्थ्यो त्यसबेला । तपाई कसैलाई नटेर्ने मान्छे पर्नुभयो । एउटा कुरा नढाँटी भन्नुहोस् त ः गिरिजा बाबुसँग तपाईको सम्बन्ध हल्ला गरिए जत्तिकै राम्रो थियो ? अन्तरंग रुपले त्यति राम्रो थिएन । हो यो कुरा ?


अन्तिम समयमा सम्बन्ध राम्रो भएको हो जस्तो लाग्छ । तर, त्यो हदसम्मको राम्रो सम्बन्ध त्यसबेला पनि थिएन । मधेश आन्दोलन भइरहेको थियो । बाबुराम भट्टराई भन्नु हुन्थ्यो, ‘तपाई बाघको सवारी गरिरहनुभएको छ ।’ म भन्थे, सामुन्ने त तपाई हुनुहुन्छ नि । केही भयो भने पहिला तपाई नै पर्नुहुन्छ । त्यसपछि मेरो पालो आउँछ । म त बागमती सफा गरेर बस्छु ।


माओवादीसंग शान्ति प्रक्रियाका लागि कांग्रेसबाट तपाई पहिलोपटक भारत जानुभयो नि ? हामी दिल्लीमा भेटिरहन्थ्यौं ।


भारतमा पनि त त्यही हाल थियो । दिल्ली जाँदा पनि कोइराला साहेबको सब ठाउँमा उस्तै ब्यबहार थियो । त्यो कुरा भारतीयहरुले पनि महसुस गरेका होलान । तिनीहरुले पनि मेरो बिषयमा जानीसकेका थिए । तिनीहरु सबै कुराको जानकारी राख्छन् । जानकारी राख्ने तिनीहरुको तरिका तगडा छ ।


मधेशको अहिलेको अवस्थालाई तपाईले कसरी हेर्नुभएको छ ? मधेशमा असन्तुष्टि अझै पनि जारी नै छ त । त्यो असन्तुष्टिबाट मधेशलाई मुक्त गराउन तपाई सक्रिय हुन सकिरहनुभएको छैन । यस्तो अवस्थामा तपाईको पार्टीभित्र, तपाईलाई साथ दिने, तपाईको उत्तराधिकारी को त ?


कोही पनि छैन । मधेशको भविष्य बारे बाबुराम भट्टराईलाई सोध्नुहोस् । उहाँ बिद्धान भएपनि नेतृत्व सम्हाल्न सक्नुभएन । एउटा कुरा छ, नेपालको बिषयमा जति त्यसबेला गर्न सकिन्थ्यो त्यो नेतृत्वले गर्यो । राजा महेन्द्रको नेतृत्व धेरै गम्भीर किसिमको थियो । यो वास्तविकता हो । महेन्द्रको एउटा कार्यालय थियो, राजदरवारको पछाडी, बिशेष जाहेरी बिभाग । ‘मेरी श्रीमती फलानोले लग्यो, श्रीमती दिलाई पाउँ’ भन्ने जस्ता जाहेरी दिन आउँथे त्यहाँ मानिसहरु । यस्तै यस्तै ‘बिन्ति’ जाहेरगर्न जान्थे राजाकोमा । फेरी त्यहाँबाट जवाफ पनि आउँथ्यो, तोक लगाएर, ‘कानुन बमोजिम गरिदिनु ।’ यहाँ आएर एकचोटी मैले लेखे ः यो सरकारले काम गर्दैन । तर, त्यहाँबाट जवाफ आयो कानून बमोजिम गर्नु । सारा शक्ति थियो राजाको हातमा । राजा भनेको सेनाको प्रमुख । सेनाको शक्तिलाई चिनेर त्यसको उपयोग गरेका थिए आफ्नो पक्षमा राजा महेन्द्रले । बीपीले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बुद्धिको उपयोग गर्नुभयो ।


तपाईले नेपाल अहिलेको अवस्थामा आइपुग्छ भन्ने कहिल्यै सोच्नुभएको त थियो होला ?


दश वर्ष पछि के हुन्छ त्यसको पनि अन्दाज गर्न सकिन्न । एउटा कुरा के छ भने शिक्षाले सारा कुरालाई छिटो परिवर्तन गरिदिन्छ । साक्षरतालाई नै पढाई हो भन्ने दृष्टिकोणले हेर्ने हो भने नेपाल र भारतमा धेरै फरक छैन होला । अब जे भए पनि भारतमा लोकतन्त्र राम्रोसँग स्थापित भईसकेको छ । जनमत लोकतन्त्रको बिरोधमा पनि छ र त्यसको फाइदा साधारण जनताहरुले पाइरहेका पनि छन् । हामी हरेक क्षेत्रमा पछाडि छौं । हाम्रो यहाँ मेडिकल कलेज छ र इन्जिनियरिङ कलेज पनि छ । तै पनि, बिद्यार्थीहरु भारतमा नै पढन रुचाउँछन् । यसको एउटै कारण हो त्यहाँको शिक्षा प्रणाली नेपालको भन्दा धेरै राम्रो छ । दोस्रो कुरा त्यहाँ अभिभावकहरुले पनि सहुलियत पाउँछन् । त्यहाँका धेरै कलेजहरुले छात्रवृत्ति दिइरहेका हुन्छन् ।


एकातिर चीन, एकातिर भारत, हामी कहाँ त ?


हाम्रो अवस्था यो छ: हाम्रो सीमामा भारतले सेना राख्नु पर्दैन । यो वास्तविकता हो । पाकिस्तानको सीमामा राख्नै पर्यो । यो अर्को बास्तबिकता हो । बंगलादेशको सीमामा पनि राख्नैपर्यो । चीनको के कुरा गर्नु र ? नेपाल नै एउटा यस्तो देश हो जहाँ सीमानामा भारतले सेना राख्नु पर्दैन । उसको सुरक्षा बलले नै सेनाको काम गरिहाल्छ ।

Thakurji1 (1)