स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि गगनका सुझाव - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि गगनका सुझाव


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सरकारलाई जनशक्ति व्यवस्थापनका लागि सुझाव दिएका छन् । बुधबार सामाजिक संजालमार्फत थापाले स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले यसका लागि सरकार गम्भीर बन्नुपर्ने भन्दै वुँदागत सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन, गरिरहेका छन। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसंग विनम्र आग्रह गर्दछु।’

थापाका सुझावः

१ अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनि स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेका छन्। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलब्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।

२ थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्हान गरौं।

यसका लागिः
क हाल झण्डै ५ हजार योग्य चिकित्सक पीजीको तयारी गरिरहेका छन्। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन्। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई पीजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।

ख. एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानुनी व्यवस्था गरौं।

ग. हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भइ बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज वनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।