ती बहुगुणाको नेपाल यात्राः जसको मुखबाट पहाड बोल्थ्यो, हिमाल सुसाउँथ्यो - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

ती बहुगुणाको नेपाल यात्राः जसको मुखबाट पहाड बोल्थ्यो, हिमाल सुसाउँथ्यो


-सीताराम बराल
नेपाल–भारतमा कोभिड–१९ को दोस्रो भेरियन्टबाट लाखौँ मानिसहरु संक्रमित–आक्रान्त छन्। अक्सिजनको अभावमा हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। सर्वत्र विस्तारित यो शोक र विपत्तीको घडीमा गत हप्ता दक्षिण एसियाली उपमहाद्वीपले यस्तो एक योद्धा गुमायो, जसले विश्वका अर्बौं मानिसलाई प्राकृतिक अक्सिजनका लागि वनजंगल–पर्यावरणको महत्व कति छ भन्ने ज्ञान बाँडेका थिए, यस क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसका लागि हिमाल र नदीको महत्व बुझाउन आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए। ती गान्धीवादी योद्धाको नाम सुन्दरलाल बहुगुणा हो।

कोरोना संक्रमण भएपछि बहुगुणालाई २५ वैशाख (२०७८) मा उत्तराखण्डको ऋषिकेशस्थित अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमए) अस्पतालमा भर्ना गरिएको थियो। किशोर उमेरदेखि नै अंग्रेजविरोधी आन्दोलनमा सरिक भएका बहुगुणाले दुई हप्ता कोभिड–१९ सँग संघर्ष गरे। गान्धीवादी जीवनशैली र आदर्शका बाहक बहुगुणनाले सर्वोत्कृष्ठ मानव जीवनका लागि गरेका कैयौँ संघर्षमा सफलता प्राप्त गरेका थिए। तर, कोभिड–१९ विरुद्धको संघर्षमा उनलाई सफलता मिलेन, ९४ वर्षको उमेरमा ७ जेठमा उनको निधन भयो।

भारतको कुमाउ–गढवाल क्षेत्रमा पर्यावरण संरक्षणका लागि ५ दशकअघि भएको सफल आन्दोलनको नेतृत्वकर्ताको रुपमा स्व। बहुगुणा चिनिन्छन्। सो आन्दोलनलाई संसारले चाहिँ ‘चिप्को आन्दोलन’ का रुपमा चिन्दछ। उद्गमभूमि कुमाउ–गढवालमा समेत यो आन्दोलन जीवित छैन। तर, वनजंगल र पर्यावरण संरक्षणका लागि जुन शैलीमा त्यो आन्दोलन चल्यो, र सफलता प्राप्त गर्यो, सफलताको कथा र त्यसको अध्ययनमात्रैले पनि नव–पुस्तालाई रोमाञ्चित र आनन्दित तुल्याउँछ। र, त्यो आन्दोलनमा बहुगुणाको योगदान सुन्ने जोकोहीको शीर उनीप्रति श्रद्धाले झुक्छ।

बिसं २०३० बैशाख पहिलो हप्ताको कुरा हो, गढवालको दशोली ग्राम क्षेत्रका सयौँ मानिस नजिकै रहेको ‘आश ट्री’ (खरानेको रुख) भएको जंगल वरिपरि जम्मा भए। उनीहरुको उद्देश्य जंगलमा रहेका रुखहरुलाई काटिनबाट जोगाउनु थियो। किनभने, अलाहावादस्थित सिमण्ड एण्ड कम्पनी नामक खेलकूदका सामाग्री बनाउने एक कम्पनीका ठेकेदार कामदारहरुका साथ खरानेका रुख काट्न जंगलतर्फ आउँदै थिए। काटिने १४ वटा रुखहरुमा वन प्रशासनले चिनो पनि लगाइसकेको थियो।

त्यसअघि नै दशोली क्षेत्रका गाउँलेहरु भेला भई सो ठेकेदार कम्पनीलाई रुख काट्न नदिने निर्णय गरिसकेका थिए। ‘ठेकेदारहरु हतियारसहित आउन सक्छन्, उनीहरुलाई सरकारको समर्थन प्राप्त छ, यस्तो स्थितिमा कसरी रुखहरुलाई काटिनबाट जोगाउने ?’ भेलामा प्रश्न उठ्यो। भेलाले शान्तिपूर्ण रुपमा प्रतिरोध गर्नुपर्ने निष्कर्ष निकाल्यो। चण्डीप्रसाद भट्ट नामका एक प्रौढले ‘काट्नका लागि चिनो लगाइएका रुखहरुलाई महिलाहरुले ‘अंकमाल गर्ने’ उपाय सुझाए। हिन्दीमा अँगालो हाल्ने कार्यलाई चिप्को’ भनिने भएकाले पछि यसको नाम नै ‘चिप्को आन्दोलन’ रहन गयो। आन्दोलनका क्रममा कुनै पनि रुखहरुलाई अंकमाल भने गर्नु परेन।

बढ्दो जंगल फँडानीका कारण त्यस वरिपरिका क्षेत्रमा बाढीपहिरो बढ्न थालेको थियो। सरकारको मिलेमतोमा ठेकेदारहरुले जथाभावी रुख काट्न थालेपछि गाउँमा दाउराको अभाव पनि बढ्दै थियो। प्रत्येक वर्ष अभाव थपिँदै गएपछि आफ्ना लागि वनजंगल र पर्यावरण कति महत्वपूर्ण कुरा रहेछ भन्ने कुरा त्यस क्षेत्रका महिलाहरुले समेत महसुस गर्न थाले। त्यो विपत्तिले आफसेआफ गाउँलेहरुमा वनजंगल र रुखहरु जोगाउनु पर्छ भन्ने चेतना जागृत हुन थालिसकेको थियो।

त्यस्तैमा वन कार्यालयले सिमण्ड कम्पनीलाई १४ वटा खरानेका रुख काट्ने अनुमति दियो। रुखमा चिनो लगाएर ठेकेदार–कामदारहरु काट्न आउने भएपछि गाउँका सयौँ महिला–पुरुषहरु प्रदर्शनमा उत्रिए।

संकटले सिर्जना गरेको स्व–चेतनाका अलावा सरकारी निकायहरुले गर्ने विभेदले पनि गाउँलेहरुमा आक्रोस थपेको थियो। सिमण्ड कम्पनीले १४ वटा खरानेको रुख काट्ने अनुमति पाउनु भन्दा केही अघिमात्र दशोली गाउँका वासिन्दाले खरानेका दुई वटा रुख काट्ने अनुमति मागेका थिए। दशोली ग्राम स्वराज्य संघ अन्तर्गतको सिकर्मी समूहका लागि ती रुख काट्ने अनुमति मागिएको थियो।

त्यो भन्दा दुई वर्ष अगाडिपनि गाउँलेहरुले खरानेको रुख काट्न लगाइएको प्रतिबन्ध फुकुवाको माग गरेका थिए। यसका लागि गाउँको एउटा प्रतिनिधिमण्डल नैनिताल पुगेर ‘डिएफओ’ सँग छलफल गरेको थियो। तर, उनीहरुले अनुमति पाएनन्। सरकारी अधिकारीहरुको भनाई के रह्यो भने, ‘खरानेका रुख आर्थिक दृष्टिले राज्यका लागि मूल्यवान छन्, यी रुखका काठ महङ्गो मूल्यमा बिक्री गर्न सकिन्छ, त्यसो गर्दा सरकारी राजश्व बढ्छ। त्यसैले, खरानेका रुख काट्ने अनुमति दिन सकिँदैन।’

आफैँले हुर्काएको जंगलबाट गाउँको सामुहिक हितका लागि आवश्यक पर्ने काठ काट्ने अनुमति नपाउने, तर ‘आम्दानी हुन्छ’ भन्दैमा ठेकेदार कम्पनीलाई रुख काट्ने अनुमति दिइएपछि गाउँलेहरुमा आक्रोस बढ्नु स्वभाविक नै थियो। जथाभावी वनविनासका कारण गाउँमा पानीका मूल सुक्दै जान थालेको स्थिति, घाँस–दाउराका लागि टाढा–टाढा जानुपर्ने बाध्यताका बीच सरकारी अधिकारीहरुले विभेद गरेपछि गाउँलेहरुसँग आन्दोलन गर्नेबाहेकको विकल्प रहेन।

वनविनासविरुद्ध दशोलीबाट सुरु भएको असन्तुष्टिले गढवालव्यापी आन्दोलनको रुप लियो। गाउँ–गाउँमा प्रदर्शनहरु भए। वनजंगल संरक्षणको माग गर्दै पिछडिएको गाउँमा उठेको यो आन्दोलनको ज्वारभाटा यति शक्तिशाली थियो कि, त्यसले केन्द्र सरकारको समेत ध्यान खिच्यो। अनि, वनविनास रोक्न सरकारले प्रसिद्ध वनस्पतिशास्त्री वीरेन्द्र कुमारको नेतृत्वमा एउटा समिति निर्माण गर्यो। समितिले गढवालमा सुरु भएको आन्दोलनका मागलाई सही ठहर्यायो। अनि, गाउँलेलाई आवश्यक पर्ने काठ–दाउराबाहेक अरुका लागि १० वर्षसम्म जंगल कटानी गर्न नपाउने सिफारिस गर्यो। सिफारिसको कार्यान्वयन भयो। पछि १५ वर्ष थप गरी २५ वर्षसम्म जंगल कटानी गर्न नपाउने व्यवस्था गरियो।

भारतको उत्तर प्रदेशको पिछडिएको भेग उत्तराखण्ड, उत्तराखण्डको पनि एउटा दुर्गम कुनोमा रहेको ग्रामीण क्षेत्रमा वनजंगल र पर्यावरण जोगाउन चलिरहेको आन्दोलनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम दिने काम यिनै बहुगुणाले गरेका थिए। ठेकेदारहरुको मिलेमतोमा सरकारी अधिकारीहरुलाई प्रलोभनमा पारेर हुन थालेको जंगल विनासका विरुद्ध जब आन्दोलन सुरु भयो, त्यसप्रति ऐक्यवद्दता जाहेर गर्दै कुमाउँको तेहरी गाउँका बहुगुणाले २०३२ सालको सुरुताका भारतको पहाडी भेगका ‘कोट’ नामका दुई गाउँ जोड्ने गरी पर्यावरण यात्रा सुरु गरे। ती दुई गाउँ थिए, नेपालको दार्चुलासँग सीमा जोडिएको ‘रास्कोट’ हिमाञ्चल प्रदेशको ‘कोट’ गाउँ। उनको यो यात्राबाट प्रभावित बनेका विद्यार्थीहरुले ७ सय किमि लामो पैदल यात्रा गरे।

पर्यावरण यात्राका क्रममा बहुगुणाले वनजंगल वा पर्यावरणको संरक्षण मानव जीवनका लागि किन आवश्यक छ भनेर व्याख्या गरे। वनजंगलको संरक्षण गर्दा घाँस–दाउराका लागि सहज हुनेमात्र होइन, त्यसले भूक्षय रोक्ने र जीवनका लागि आवश्यक पर्ने अक्सिजन पनि प्राप्त हुने शिक्षा पनि स्थानीयवासीलाई दिए।

बहुगुणा किशोर उमेरदेखि नै महात्मा गान्धीको विचारबाट प्रभावित थिए। उनी अंग्रेज विरुद्धको स्वतन्त्रता संग्रामका योद्धा पनि थए। उत्तराखण्डका पहाडहरुमा ‘चिप्को आन्दोलन’ चम्कनु अगाडि नै उनले आफ्नो जीवन समाजका लागि अर्पण गरिसकेका थिए। स्वतन्त्रता संग्रामपछि सुरुमा उनी छुवाछुत विरोधी आन्दोलनमा सक्रिय भए, त्यसपछि रक्सी विरोधी आन्दोलनमा। यी आन्दोलनहरुमा उनकी श्रीमति विमला बहुगुणाले उनलाई भरपुर साथ दिइन्। खासमा बिहेपछिको दाम्पत्य जीवनपनि समाजकै लागि अर्पण गर्ने बाचा गरेर यो जोडी विवाह बन्धनमा बाँधिएको थियो। विवाहको बेलाको त्यही बाचा अनुसार घरपनि धान्दै विमला ग्रामीण महिलाहरुलाई संगठित गर्ने, उनीहरुलाई शिक्षादीक्षा दिने काममा लागिन्, विमलाको सहयोगका कारण सुन्दरलालले अलिक फराकिलो क्षितिज चियाए र आफ्नो पाइलाहरु त्यतातर्फ अघि बढाए।

हिमालय क्षेत्रमा पर्यावरण जोगाउन सञ्चालन गरेको अभियानलाई उनले मानवतावाद र गरिव जनताको आर्थिक अवस्था उकास्ने आन्दोलनसँग जोडेका थिए। वनजंगलको संरक्षण हुँदा त्यस वरपरका मानिस आर्थिक रुपले पनि सवल हुने उनको मान्यता थियो।

‘चिप्को आन्दोलन’ ले गढवाल क्षेत्रमा सफलता प्राप्त गरिसकेको थियो। वीरेन्द्र कुमार संयोजकत्वको समितिको सिफारिस अनुसार २५ वर्ष जंगल कटानी गर्न नदिने सरकारी नीति त्यसैको परिणाम थियो। गढवालमा वनजंगल कटानी गर्न नपाउने भएपछि ठेकेदारहरुले कुमाउँ क्षेत्रतिर आँखा लगाए। त्यसलाई पनि बहुगुणाले असफल पारे। सुरुदेखि नै उनलाई धुमसिंह नेगी लगायतका प्रौढहरुको साथ रह्यो। ‘चिप्को’ को मर्म अनुसार नेगीको समूहले रुखलाई अँगालो हालेर ठेकेदारहरुको प्रतिरोध गर्यो। गाउँ नै उल्टिएर आएका महिलाहरुले पनि नाराबाजी गरे।

यिनै प्रतिरोधहरुका बीच सन् १९८० अप्रिल (२०३८ बैशाख) मा उनले अनिश्चितकालका लागि भोक हड्ताल सुरु गरे। उनको माग थियो, ‘१ हजार मिटर उचाई माथिको क्षेत्रका रुख काट्नबाट प्रतिबन्ध लगाइनु पर्छ।’ गान्धीको सत्याग्रह शैली पछ्याउँदै गरिएको यो भोक हड्तालका कारण सरकार फेरि पनि झुक्न बाध्य भयो। १५ वर्षसम्म रुख काट्न नपाउने र त्यसअघि खाली ठाउँहरुमा व्यापक रुपमा वृक्षारोपण गर्ने नीति ल्याउन सरकार बाध्य भयो।

यी आन्दोलनहरुले गर्दा बहुगुणाको प्रख्याती भारतको सीमा नाघेर अन्तर्राष्ट्रिय क्षेत्रमा पुगिसकेको थियो। हुन त, ‘चिप्को आन्दोलन’ को सुरुवातकर्ता गढवाल क्षेत्रमा पर्ने चमोली गाउँका चण्डीप्रसाद भट्ट थिए। तर, १ सय २० दिन लामो पैदलयात्रा, हजारौँ मानिसलाई पर्यावरणको महत्वबारे ज्ञान प्रदान, अनिश्चितकालीन भोक हडताल आदिका कारण त्यो आन्दोलनको ‘ब्रान्ड नेम’ बहुगुणा बनिसकेका थिए।

वनजंगलको विनासमात्र होइन, जथाभावी खानीहरुको उत्खनन्, नदी संरक्षणका लागि ठूला–ठूला बाँधहरुको निर्माणपनि पर्यावरणका लागि उत्तिकै घातक छन् भन्ने उनको मान्यता थियो। त्यसैले, चिप्को आन्दोलनको सफलतापछि उनले आफूलाई यिनै विषयहरुमा केन्द्रित गरे। ९० को दशकमा उनले टिहरी बाँध विरोधी आन्दोलनको नेतृत्व गरे।

हिमालय क्षेत्रमा बिग्रँदो पर्यावरण उनको चासो र चिन्ताको विषय थियो। हिमालय क्षेत्रको पर्यावरण जोगाउनसके त्यसको फाइदा त्यहाँका बासिन्दाका अलावा मैदानी इलाकामा बसोबास गर्नेहरुलाई पनि हुन्छ भन्ने मान्यता उनी राख्थे। बहुगुणाको दृष्टिमा पर्यावरणीय दृष्टिले नेपाललगायत हिमाली क्षेत्र जोखिममा रहेको क्षेत्र थियो। त्यसैले, भोक हड्तालको सफलता लगत्तै उनले आफ्नो ध्यान भारतमा मात्र होइन, नेपालतर्फ पनि केन्द्रित गर्न थाले। यसैक्रममा उनले पश्चिमको कास्मिरदेखि पूर्वको कोहिमा ९आसाम० सम्म पैदल यात्रा गर्ने कार्यक्रम बनाए। त्यसक्रमा उनी नेपालपनि आउन भए।

चिप्को आन्दोलनले उनको व्यक्तित्व चुलिएको थियो। छापाहरुका लागि ‘सेलिब्रिटी’ बनिसकेका थिए। खाकीको पोशाक, लामो दारी, विस्तारै नरम बोलीमा आफ्नो कुरा राख्ने शैलीले उनलाई लोकप्रियपनि बनाएको थियो। माछामासु खाँदैनथे। समाजका लागि जीवन अर्पण गरेकाले उनी सुने–जानेहरुका उनलाई भेट्न खोज्थे।

भोक हड्तालको केही महिनापछि कास्मिर–कोहिमा ९आसाम० पदयात्राको क्रममा २०३८ चैत्रमा उनी नेपालको सुदुर पश्चिमी क्षेत्रको महेन्द्रनगर आइपुगेका थिए। साथमा चिप्को आन्दोलनमा अग्रमोर्चामा साथ दिएका धुमसिंह नेगीपनि थिए। गान्धीवादी दर्शनको व्यवहारिक कार्यान्वयन गर्थे उनी, सकभर होटलमा बस्दैनथे। महेन्द्रगरमा विष्ट थरका एक सैनिक अधिकारीकहाँ उनी बस्न आइपुगेका थिए।

नेपालको पश्चिमदेखि पूर्वसम्मको पैदल भ्रमण गर्ने उद्देश्यले जब बहुगुणा महेन्द्रनगर आइपुगे, उनलाई भेट्न महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा आइएस्सीका विद्यार्थी बेद उप्रेती पनि पुगे। चर्चित पाइलट उप्रेती हाल सिनामंगलमा ‘एभिएसन म्युजियम’ सञ्चालन गरिरहेका छन्। उप्रेतीलाई कर्णेल बिष्टले बहुगुणाको टोलीलाई पैदल यात्रामा सहयोगीका रुपमा साथ दिन आग्रह गरे।

‘हरेक छापाले चिप्को आन्दोलनबारे लेख्ने गरेकाले उहाँ निकै ठूलो सेलिब्रेटी भइसक्नु भएको थियो’, बहुगुणाको निधनको खबर सुनेलगत्तै फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै क्याप्टेन उप्रेतीले बहुगुणालाई यसरी सम्झेका छन्, ‘त्यो पैदल यात्राका क्रममा मैले उहाँलाई भलाद्मी, सहज र आँटिलो व्यक्तित्वका रुपमा पाएँ। घनाजंगलभित्र प्रवेश गर्दा जंगली जनावरका कारण मलाई डर लाग्थ्यो। तर, उहाँ ती जनावर भेट्दा प्रसन्न देखिनुहुन्थ्यो। दूध र फलफूलबाहेक अरु चिज खानुहुन्नथ्यो। साँझमा केरामात्र खानुहुन्थ्यो।’

उप्रेती बहुगुणाको टोलीलाई ‘गाइड’ गर्दै महेन्द्रनगरबाट धनगढी पुगे। त्यहाँबाट बहुगुणाको टोलीलाई साथ दिन युवा प्रभाकर भण्डारी थपिए। पूर्व–पश्चिम राजमार्ग निर्माण भइरहेकै थियो। ४० वर्ष अगाडि अहिले जस्तो वस्ती विस्तारका कारण जंगल मासिइसकेको थिएन। उप्रेती र भण्डारीका साथमा बहुगुणाहरु गुलरिया (बर्दिया) पुगे। क्याम्पसमा पढाई जारी रहेकाले उप्रेती फर्के। दुई दिनको यात्रामा उनको मस्तिष्कमा बहुगुणाले पारेको प्रभाव अझै सशक्त नै छ।

‘पातलो जीउडाल, लामो दारी, सेतो कपडाका कारण मानिसहरु बहुगुणालाई जोगी भन्थे, उहाँ उनीहरुलाई वनजंगल, त्यहाँ बसोबास गर्ने प्राणी हाम्रा लागि कति महत्वपूर्ण छन् भन्ने कुरा बताउनु हुन्थ्यो’ उप्रेतीले सम्झे, ‘जीउडालमात्र होइन, जीवनशैली, मानिसहरुलाई गर्ने व्यवहार, उद्देश्य र उद्देश्य प्राप्तिका लागि गरेको आन्दोलन–शैलीका कारण मलाई उहाँ महात्मा गान्धीको अर्को प्रतिमूर्ति हो जस्तो लाग्यो।’

पढाईका कारण उप्रेती महेन्द्रनगर फर्केपनि भण्डारीले बहुगुणालाई काठमाडौँसम्मै साथ दिए। भण्डारीका भनाईमा, उनीहरु दैनिक १०–१५ किलोमिटरदेखि ३०–४० किलोमिटरसम्म पैदल हिँड्थे। पैदल मार्गमा विद्यालय भेटिए विद्यार्थी र शिक्षकहरुलाई पर्यावरणको महत्वबारे बताउँथे बहुगुणा। ठूलो जमघट भन्दा सानो–सानो समूहमा आफ्ना कुरा राख्न रुचाउँथे।

‘जीवनका लागि माटो र पानीको आवश्यकता त थाहा थियो, बहुगुणा बतास, हिमालय जस्ता चिजपनि जीवनका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने कुरा बताउनु हुन्थ्यो’, उनले सम्झे, ‘हामीलाई काठमाडौँ पुग्न झण्डै एक महिना लाग्यो। उहाँलाई काठमाडौँ छाडेर म धनगढी फर्कें। उहाँ काठमाडौँबाट पूर्वी नेपालतर्फ लाग्नुभयो।’

बहुगुणाको साथमा रहेका चिप्को आन्दोलनका अर्का अभियन्ता धुमसिंह नेगीले कुमाउँ–गढवालबाट प्रकाशित हुने ‘पहाड’ नामक पत्रिकामा काठमाडौँसम्मको यात्रा–संस्मरण लेखेका छन्। त्यो संस्मरण हेर्दा के देखिन्छ भने, पूर्व–पश्चिम राजमार्गको अन्तिम विन्दू महेन्द्रनगरबाट नेपाल प्रवेश गरेपनि उनीहरुले सबै ठाउँमा त्यो राजमार्गलाई पछ्याएनन्। जस्तो, उनीहरु बुटलव आइपुगेपछि तानसेनतर्फ लागे। र, भारतले पोखरा जोड्न निर्माण गरिदिएको सिद्धार्थ राजमार्ग हुँदै तानसेनबाट पोखरा आइपुगे। उनीहरु स्याङ्जाको आँधिखोला, अर्मादी लगायतका स्थानहरुमा रोकिए, त्यहाँ उनीहरुले अन्यत्र झैँ स्थानीय शिक्षक–विद्यार्थीहरुबाट न्यानो स्वागत पाए। अनि, पोखरा हुँदै काठमाडौँ प्रस्थान गरे। नौबिसे धादिङ आइपुगेपछि उनीहरुले पृथ्वीराजमार्गलाई छाडे, कुनै ग्रामीण बाटो पछ्याउँदै थानकोट उक्ले। ७ बैशाख २०३९ (२० अप्रिल १९८०) मा काठमाडौँ आइपुगेपछि कीर्तिपुरतर्फ लागे, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक–विद्यार्थीहरुसँग भलाकुसरी गरे। र, कीर्तिपुर नजिकै रहेको कुनै गाउँमा बास बसे। कीर्तिपुरबाट देखिएको बिहानको दृष्य उल्लेख गर्दै नेगीले आफ्नो डायरीमा लेखेका छन्, ‘प्रातकालिन लालिमा चारैतिर फैलिइसकेको छ। राता इँटाहरुद्वारा निर्मित क्याम्पस (त्रिभुवन विश्वविद्यालय) भवन यो लालिमाका कारण अझ बढी रातो देखिएको छ। आकाश सफा छ र पुरै उपत्यकामा उज्यालो फैलिइसकेको छ। नजिकै रहेको कीर्तिपुर गाउँका मानिसहरु काठमाडौँतर्फ र किसान, महिला–पुरुष र बच्चाहरु भने हातमा कोदालो र बीउका पोका बोकेर खेततर्फ गइरहेका छन्।’

महेन्द्रनगर–गुलरियासम्म सँगै रहेका उप्रेतीका भनाईमा, जंगल र हिमालय प्राकृतिक सुन्दरताले बहुगुणालाई बिछट्टै लोभ्याएको थियो।

‘हिँड्दै गर्दा कतैबाट हिमाल देखियो भने बहुगुणा लोभिनुहुन्थ्यो। अहा, कस्तो सुन्दर हिमाल भन्नुहुन्थ्यो’, उनी भन्छन्, ‘मानिसहरुलाई प्रकृतिको महत्वबारे जानकारी दिनुको अलावा प्रकृतिसँग रमाउन पनि उहाँले त्यो पदयात्रा गर्नुभएको हो कि ?’

नेगीले भने त्यो संस्मरणमा कास्मिर–कोहिमा यात्राको क्रममा आफूहरु नेपाल प्रवेश गरेको बताएका छन्। कास्मिर–कोहिमा पदयात्राका क्रममा नेपाललाई पनि छनोट गर्नुको अर्को कारण प्राकृतिक सुन्दरताको रसपान गर्नुमात्र नरहेको हुनसक्छ। त्यो बेला नेपालमा तीब्र रुपले वनविनास हुँदै थियो। २०२१ मा निर्माण सुरु भएको पूर्व–पश्चिम राजमार्ग त्यो बेलापनि निर्माणाधिन अवस्थामै थियो। पूर्व–पश्चिम राजमार्गको अधिकांश ट्र्याक चारकोशे झाडीको रुपमा नाम कमाएको घनाजंगल फाँडेर खोलिएको थियो। राजमार्ग निर्माणसँगै त्यसको वरपर वस्ती विस्तारित हुन थालेका थिए। जनमत संग्रहमा पञ्चायतलाई जिताउने आर्थिक जोहोका लागि पनि वन विनासलाई तीब्र पारिएको थियो। वनविनाससँगै जंगली जनावरहरुको बासस्थानपनि बिथोलिँदै थियो।

राजमार्ग निर्माण र वस्ती विस्तारको नाममा चुरेसँगै जोडिएको क्षेत्रमा जसरी जंगल विनास हुँदै थियो, त्यसलाई रोक्ने सामर्थ्य बहुगुणामा नभएपनि, कम्तिमा राजमार्ग र आफूले यात्रा गरेका स्थानका मानिसलाई जंगल र त्यहाँ बसोबास गर्ने जनावरको महत्व मानिसका लागि कति छ भन्ने जानकारी दिलाउन उनले त्यो रुट चयन गरेका हुनसक्छन्।

त्यो पदयात्रापछि पनि उनी पटक पटक नेपाल आइरहे। हिमालय क्षेत्रको पर्यावरण संरक्षण सम्बन्धी कार्यक्रममा वक्ताका रुपमा कहिले उनलाई एकिकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय कार्यक्रम (इसिमोड) ले निम्तो दिन्थ्यो, कहिले अन्य संस्थाले प्रवचनका लागि निम्त्याउँथे।

‘ठ्याक्कै मिति त याद छैन, तर पुल्चोकमा कार्यालय छँदा उहाँ नेपाल आउनु भएको थियो र उहाँले हिमालय क्षेत्रको पर्यावरणबारे लामो प्रवचन दिनु भएको थियो’, लामो समय इसिमोडमा निर्देशकका रुपमा काम गरेका मिलन तुलाधर ९पूर्व प्रम झलनाथ खनालका विदेश मामिला सल्लाहकार० भन्छन्, ‘चिप्को आन्दोलनमा सहभागी उहाँका केही शिष्यहरु इसिमोडमा कर्मचारी–अनुसन्धाताका रुपमा रहेकाले पनि होला, उहाँ काठमाडौँ आइरहनुहुन्थ्यो, त्यसक्रममा इसिमोडले आयोजना गरेको एउटा कार्यक्रममा उहाँले प्रवचन दिनुभएको मलाई सम्झना छ।’

२०३९ मा नै पश्चिमदेखि पूर्वसम्मको नेपाल छिचोलेका बहुगुणामा पर्यावरणीय दृष्टिले जोखिममा रहेका नेपाली भूभाग र क्षेत्र घुम्ने, अध्ययन गर्ने र आफ्नो बर्गतले भ्याएसम्म सचेतना फैलाउने धित पछिसम्म पनि मरेको थिएन। चुरेको विनास र त्यसले तराई क्षेत्रको पर्यावरणमा पारेको असरबारे उनी विशेष चिन्तित थिए। उनी पूर्वी तराईको भ्रमण गरी त्यहाँ भइरहेको पर्यावरण विनासबारे जान्न चाहन्थे। त्यसैले, २०५० को दशकको सुरुवातमै पत्राचारको माध्यमबाट सम्बन्ध जोडिएका चन्द्रनिगाहपुर (रौतहट) का युवा सपुतबहादुर कार्कीले २०५३ बैशाखमा सानो अनुरोध गर्नासाथ उनी त्यता जान राजी भए।

कार्कीका भनाईमा, उनी ‘कादम्बिनी’ नामक भारतबाट प्रकाशित हुने पत्रिकाको नियमित ग्राहक थिए। त्यसको एउटा अंकमा ‘चिप्को आन्दोलन’ र ‘हिमालय बचाउ अभियान’ सम्बन्धमा बहुगुणाको लेख छापिएको थियो। ‘चिप्को आन्दोलन’ पहिल्यैदेखि सुनेका उनको ध्यान बहुगुणाको त्यो लेखले तान्यो। लेखमा बहुगुणाको ठेगानापनि उल्लेख भएकाले उनले बहुगुणालाई पत्र लेखे। पत्र पाउनासाथ बहुगुणाले ‘रेस्पोन्स’ गर्दै जवाफी पत्र पठाए।

एक पटक काठमाडौँमा रहँदा कार्कीले पत्रिकामार्फत् बज्र होटल (स्वयम्भू, काठमाडौँ) मा आयोजना गरिएको कार्यक्रममा ‘बहुगुणा प्रमुख अतिथिको रुपमा उपस्थित हुँदैछन्’ भन्ने जानकारी पाए। उनी बज्र होटल पुगे। बहुगुणाकी निजी सचिवसँग भेटी आफूले बहुगुणालाई भेट्न चाहेको उल्लेख गरे। निजी सचिवले भेट गर्न नपाउने टर्रो जवाफ दिइन्।

‘भेट्ने–नभेट्ने चाहिँ बहुगुणाजीको इच्छा भयो, कम्तिमा मेरो यो सानो चिठी उहाँलाई दिनुस् भनेँ’, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य समेत रहेका कार्की भन्छन्, ‘धन्न, उनले मेरो चिट बहुगुणासमक्ष पुर्याइदिइन्। एकैछिनपछि उहाँ हाँस्दै मलाई भेट्न आइपुग्नुभयो र तपाईं कार्कीजी हो भन्दै अंकमाल गर्नुभयो। उहाँले मलाई गरेको रेस्पोन्स देखेर ती निजी सचिव छक्क परिन्। आफूले गरेको व्यवहारका कारण लज्जित पनि भइन्।’

होटलमा कार्यक्रम जारी थियो। बहुगुणाले कार्कीलाई केही समय पर्खिन आग्रह गरे। प्रवचन सकेर उनी फेरि कार्कीलाई भेट्न आए। त्यो छोटो कुराकानीमा कार्कीले चुरेको विनासले तराईको पर्यावरणमा पारेको असरबारे बहुगुणासँग चिन्ता जाहेर गरे। र, वनजंगल जोगाउने उद्देश्यस्वरुप चन्द्रनिगाहपुरस्थित आफ्नो गाउँ (टेका टोल) वासीहरुले वन संरक्षण गरी जनचाहना सामुदायिक वन समिति गठन गरेर वृक्षारोपण सुरु गरेको जानकारी गराए। साथै, त्यसको निरीक्षणका साथै वृक्षारोपणको महत्वबारे गाउँलेहरुलाई बताइदिने गरी आफ्नो गाउँ जान अनुरोध गरे। बहुगुणा सहजै चन्द्रनिगाहपुर जान राजी भए।

‘तर कसरी जानेरु समय पनि कम छ। मसँगै अरु साथीहरु पनि आएका छन्’, बहुगुणाले अप्ठेरो सुनाए।

‘तपाईंहरु जान तयार हुनुहुन्छ भने म सिमरासम्म जाने गरी जहाजको टिकट काट्छु, सिमराबाट गाडीमा जान सकिन्छ’, कार्कीले विकल्प अघि सारे।

बहुगुणा जहाजमा जान तयार भएनन्।

‘४–५ जनालाई टिकट काट्दा धेरै खर्च हुन्छ, तपाईंलाई ठूलो आर्थिक भार पर्छ’, बहुगुणाले भने, ‘हामी गाडीमै आउछौँ। हामीसँग समय धेरै नभएकाले तपाईं पहिले गएर गाउँलेहरुलाई जम्मा गर्न सक्नुहुन्छ ?’

कार्कीले सहमति जनाए। त्यसै साँझ रात्रिबस चढेर उनी चन्द्रनिगाहपुर पुगे। सामुदायिक वनका पदाधिकारी र गाउँलेलाई दिउँसोका लागि जम्मा गरे।

बज्र होटलले उपलब्ध गराएको गाडी चढेर बहुगुणा भोलिपल्ट १२ बजे चन्द्रनिगाहपुर पुगे। सामुदायिक वन संरक्षणमा सक्रिय गाउँलेहरुसँग भेट गरे, राम्रो काम गरेको भन्दै उनीहरुको प्रसंशा गरे। त्यहाँको डायरीमा प्रसंशाका केही शब्दहरु लेखे। बहुगुणाको टोलीले कार्कीकै घरमा बिहानको खाना खायो।

‘अरुले दालभात तरकारी खाए’, कार्कीले सम्झे, ‘गान्धीवादी भएकाले उहाँले यी चिज खानुहुँदो रहेनछ। उहाँले फापरको रोटी र आलु दुधसँग खानुभयो।’

खाकीको सेतो कपडा लगाएका बहुगुणाले खुट्टामा गाउँघरका सार्कीद्वारा निर्मित साधारण छालाको जुत्ता लगाएको सम्झना कार्कीलाई छ।

त्यो भेटघाटपछि पनि बहुगुणा–कार्कीबीच पछिसम्म पत्राचार भइरह्यो। त्यसमध्ये १३ मे १९९६ (३१ बैशाख २०५३) को पत्रमा बहुगुणाले बालीनालीका लागि रासायनिक मल र कीटनासक औषधी प्रयोग गरिँदा भारतमा विनासकारी प्रभाव रहेको उल्लेख गरेका छन् र नेपालको तराईमा पनि त्यसको प्रयोग गरिएकोमा चिन्ता प्रकट गरेका छन्। जंगल फडानीका कारण नेपालको तराईको पर्यावरण बिग्रँदै गएकोमा उनको हृदयमा कति क्रन्दन रहेछ, पत्र हेर्दा देखिन्छ।

‘तपाईं तराई क्षेत्रमा रहनुहुन्छ, त्यहाँ पहिले घना जंगल थियो, अहिले त्यो जंगल फडानी भइसकेको छ। यसले तराईमा पानीका अलावा मौसमउपर पनि नराम्रो प्रभाव पारेको छ’, १३ मे १९९६ (३१ बैशाख २०५३) को पत्रमा बहुगुणाले लेखेका छन्, ‘त्यसैले, तराईमा लोप हुँदै गएको वनश्री ९जंगल० लाई जतिसक्दो फर्काउने कोशिष गर्नुहोला।’
‘चिप्को आन्दोलन’ का कारण बहुगुणाको अन्तर्राष्ट्रिय ख्याति भएकाले उनको आगमनमात्रै पनि समाचार बन्थ्यो। यसैक्रममा डा। अर्जुन कार्की (अमेरिकाका लागि निवर्तमान नेपाली राजदूत) ले नेतृत्व गरेको ‘रुरल रिकन्स्ट्रक्सन फर नेपाल’ (आरआरएन) नामक संस्थाले २०५२ फागुनमा बहुगुणालाई काठमाडौँ निम्त्यायो। उनी आएको विषय काठमाडौँका छापा सञ्चारमाध्यमहरुका लागि समाचारको विषय बनिहाल्यो। बहुगुणा काठमाडौँ आएको जानकारी पत्रिकामार्फत् पाएपछि पूर्व प्रधानमन्त्री (अन्तरिम) कृष्णप्रसाद भट्टराईले डा. कार्कीलाई फोन गरे, भेटघाटका लागि बहुगुणालाई सानेपास्थित आफ्नो निवासमा ल्याइदिन अनुरोध गरे।

‘पूँजीवाद विरोधी स्वभाव थियो बहुगुणाको, त्यसैले होटलमा बस्नुहुन्नथ्यो, उहाँ मेरै निवासमा बस्नुभएको थियो’, डा कार्कीले भने, ‘किसुनजीको आग्रह अनुसार बहुगुणालाई उहाँको निवासमा लगिदिएँ, उहाँहरुबीच डेढ घण्टा भलाकुसारी भयो। उहाँहरुबीच निकै पुरानो सम्बन्ध रहेछ भन्ने कुरा त्यसपछि मात्र मलाई जानकारी भयो।’

त्यो बेला प्रौढावस्थामा पुगेका विमान परिचारिका (एयर होस्टेज) हरुलाई शाही नेपाल वायुसेवा निगमले अवकास दिने नीति ल्याएको थियो। त्यसका विरुद्ध विमान परिचारिकाहरु आन्दोलन गरिरहेका थिए। सहयोगका लागि गुहार माग्दै उनीहरु पूर्व प्रधानमन्त्री भट्टराईको ढोका ढकढक्याउन पुगेका थिए। बहुगुणा पुगेपछि भट्टराईले परिचारिकाहरुलाई केहीछिनका लागि बाहिर बसिदिन अनुरोध गरे, परिचारिकाहरु निस्के। भट्टराई–बहुगुणाबीचको कुराकानी झण्डै डेढ घण्टा लम्बियो।

‘भट्टराई बनारसमा पढ्न बसेका बेला स्वतन्त्रता संग्रामका क्रममा दुईजनाबीच चिनापर्ची र मित्रता भएको रहेछ’, डा कार्कीले भने, ‘बहुगुणालाई मैले ‘चिप्को आन्दोलन’ को नेतृत्वकर्ताको रुपमा मात्र चिनेको थिएँ। स्वतन्त्रता संग्रामका बेला नेपालीहरुसँगको उहाँको गहिरो सम्बन्धबारे उहाँहरु बीचको त्यो भेटघाटपछि जानकारी पाएँ।’

‘हिमालय बचाउ सम्मेलन’ का क्रममा आएका बहुगुणाले त्यो बेला पुतलीसडकस्थित राष्ट्रिय सरोकार समाजको कार्यालयमा केही पत्रकारहरुसँग भेटेका थिए। खासमा उनीबारे मलाई कुनै जानकारी थिएन, न उनको नाम सुनेको थिएँ, न त चिप्को आन्दोलनबारे नै मलाई कुनै जानकारी थियो। तर कुन संयोगले हो, मपनि त्यहाँ पुगेको थिएँ। त्यहाँ उनले मानवजीवनका लागि पर्यावरण र हिमालयको संरक्षण पृथ्वीका समस्त मानिसका लागि किन अत्यावश्यक छ भन्नेबारे प्रभावशाली प्रवचन दिए।

त्यो मेरो पत्रकारिता जीवनको प्रारम्भिक समय थियो। राजनीति, अपराधबाहेक पत्रकारिताका लागि लेखनयोग्य अन्य विषयवस्तु हुन्छन् भन्ने ज्ञानपनि मलाई थिएन। उनको प्रवचन सुनेपछि बल्ल मलाई लाग्यो– पर्यावरण, नदी, हिमालय जस्ता विषयपनि महत्वपूर्ण रहेछन्। तर, आफू र आफूपछिको पुस्ताका लागि महत्वपूर्ण यी विषय ‘फलो’ गर्ने र लेख्ने काम भने मबाट कहिल्यै भएन। ‘सत्तासंघर्ष–प्रतिगमन–जनआन्दोलन’ जस्तो सधैँ दोहोरिरहने दिक्कलाग्दो ‘राजनीतिक–चक्र’ वरिपरिमात्रै मेरो पत्रकारिता–यात्रा घुमिरह्यो। यस्तो झण्झटिलो र वेस्वादको ‘विट’ लाई आफ्नो पत्रकारिताको ‘करिअर’ बनाएकोमा अहिले थकथकी लाग्छ। अँ, ‘चिप्को आन्दोलन’ बारे जानकारी लिने काम भने मैले त्यसपछि गरेँ। जब ‘इन्टरनेट’ को जगजगी सुरु भयो, ‘गुगल’ मार्फत् बेला–बेला बहुगुणाबारे खोजीनीति गर्ने कामपनि गरिरहेँ।

मेरो सम्बन्ध भएका, मसँग चिनजान नभएपनि उनीहरुले समाजमा दिएका महत्वपूर्ण योगदानका कारण मैले टाढैबाट चिनेका थुप्रै असल मानिसहरुले कोभिड–१९ को महामारीका कारण अकालमा जीवन गुमाएका छन्। समयमै उपचार र अक्सिजन नपाएर अकालमा ज्यान गुमाउनु परेका प्रियजनहरुको मृत्युले प्रत्येक दिन मेरो हृदय गलाइरहेकै थियो। बहुगुणा, जसले अक्सिजन र पर्यावरणका लागि आफ्नो जीवन अर्पे, उनको पनि कोभिड–१९ र शरीरमा अक्सिजन अभावका कारण निधन हुन पुगेको खबरले हृदयलाई थप गलायो।

हिमालय क्षेत्रको पर्यावरण र हाम्रा लागि बहुगुणा कति महत्वपूर्ण थिए, शक्तिशाली शब्दहरुले त्यसलाई अभिव्यक्त गर्ने क्षमता मेरो छैन। यो पृथ्वीका लागि उनको महत्व कति थियो, अग्रज पत्रकार चन्द्र किशोरले बिहीबार ९१२ जेठ० आफ्नो फेसबुकमा ‘ओबिच्युरी पोष्ट’ मा निकै शक्तिशाली भावका साथ यो कुरा अभिव्यक्त गर्नुभएको छ। अर्का अग्रज पत्रकार विकाश रौनियारले खिच्नु भएको बहुगुणाको तस्वीरका साथ उहाँले लेख्नु भएको छ, ‘यी हुन्, भारतीय राज्य उत्तराखण्डका सुन्दरलाल बहुगुणा, पर्यावरण गान्धी, हिमालय पुत्र। यिनको निधनले हिमालय मौन भयो, रुखहरु उदास भए। नदीहरु रुन थाले। ‘तस्वीर आफै बोल्छ’ भनेजस्तै उनको असाधारण सादगी र विनम्रता झल्किन्छ। हो, बहुगुणा आफैँमा पहाड थिए, हिमालका अटल चुचुरो पनि। उनको माध्यमबाट पहाड बोल्थ्यो र हिमाल सुसाउँथ्यो।।।।’

त्यसपछि त चन्द्र किशोर पनि अघि बढ्न सक्नु भएको छैन। लाग्छ, यति लेख्दालेख्दै उहाँको पनि गला अवरुद्ध हुन पुग्यो। र, उहाँले विदा माग्नुभयो, ‘नेपालबाट नमन।’

चन्द्रकिशोर दाईको व्यथित स्वरमा मेरोपनि स्वर थप्दै स्व. बहुगुणालाई आज म यत्तिमात्र भन्न सक्छु, ‘बहुगुणा साहेब, नेपालबाट तपाईंलाई मेरोतर्फबाट पनि नमन।’ साभार : नेपाल खबर डटकम

"