कोरानाको दोस्रो सिजन - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरानाको दोस्रो सिजन


रुचि श्रेष्ठ

एकातिर, मनमा महामारीको त्रास छ । अर्कोतिर घर बसिराख्न फिटिक्कै मन छैन । आज त जे पर्ला पर्ला । मस्तले रिंगरोडको एक चक्कर लगाएर आउछु । बिहान ६ बजे अर्लाम बन्द गर्ने बित्तिकै मेरो मनमाआएको दिव्य बिचार थियो यो ।

ब्यायाम गर्ने, ध्यान गर्ने, खाना पकाउने, सिनेमा हेर्ने, किताब पढ्ने, समयमा खाने, समयमा सुत्ने । अनि भोलि बिहान उठेर फेरी त्यही सब दोहोर्‍याउने । कति गर्ने ? खानामा एउटै तरकारी लगातार तीन छाक खानु परेपछि भने अनेक उपाय लगाउनु पर्छ । अस्ति नै रोहिणी दिदीले गाउँबाट ल्याएको भनेर दुई किलोको लौका दिएकी थिइन् । एक छाक चनाको दाल राखेर पकाएँ । अर्को छाक सुकुटी हालेर । तेस्रो छाक त त्यो लौका रोहिणी दिदीलाई नै लगेर फिर्तादिउँ जस्तो भएथ्यो । यो लकडाउनमा सारा दिनचर्या नै लौकाको तरकारी भएको छ । बार्दलीबाट अगाडिको पसलेलाई हेर्‍यो । छतमा गएर वरीपरीका छिमेकीहरुलाई हेर्‍यो । सबै लौकाकै तरकारी ।

मनमा ‘आज घुम्न जाने’ भन्ने बिचार आएपछि खाना पकाउन पनि जाँगर चलेर आयो । स्कुटर निकाल्दै थिए, रोहिणी दिदी झ्यालबाट कराइन, ‘बजार बन्द भएपछि निस्किन थाल्यौ त ?’‘दिदी, म त आज रिंगरोड तिर बरालिन निस्कन लागेको !

कहाँ जान लागेको भनेरै बुझ्न खोज्या हो दिदीले । सोध्न मात्र नसकेको । त्यो अगाडिको पसले छ नि । आँखा जुध्नै हुदैन । प्वाक्कै ‘कहाँ जान लाग्नु भा ?‘ भनी हाल्छ । जहाँ जान लागेको भए पनि उसलाई के चासो ? न उसले मेरो भात कुर्नु पर्ने हो । न मैले उसको पसलको सटर तानिदिने हो । सटर बन्द भइ सक्या रै छ । आनन्दै भयो । रोहिणी
दिदी फेरि कराइन् ।

मुसुमुसु हाँस्दै जिस्क्याइन, ‘कि डेटिंग जान लाग्या ?’ ‘जान पाए त हुन्थ्यो नि दिदी । सब दुलोभित्र लुक्या छन् । गए नै भनेपनि कहाँ जानु यो बन्दा बन्दीमा ?’

मोटर, बाइकहरु त पातलै भएपनि चलिरहेछन । पसलहरु सब बन्द । औषधी पसल बाहेक केही खुलेको छैन । दशैं, तिहारताका यही सुनसान सडकमा स्कुटर कुदाउँदा कस्तो सुकून, चैन लाग्थ्यो । अहिलेको शून्यता त कस्तो छटपटी लाग्दो । कुनै थीम नभएको, आत्मा नभएको पेन्टिगं जस्तै भएकोछ काठमाडौको दृश्य । आखिर शहर होस् वा गाउँ होस्, समाजको आत्मा भनेको मान्छे नै त हो नि । मान्छे मान्छे देखि डराउने, एकअर्का देखि भागाभाग गरिरहनु पर्‍यो भने बिस्तारै यो समाज कै थीम हराउन के बेर ।

पुतलीसडकबाट जय नेपालतिर उक्लदै थिएँ कि ट्राफिकले रोक्यो । ‘कता जान लाग्नु भा ? ‘घुम्न निस्केको त भन्न नहुनेहोला ।

‘अक्सिमिटर चाहिया थियो । तपाइँलाई थाहा छ यता कता पाइन्छ होला ?’ ‘जानुस’ भन्यो ट्राफिकले ।

एक कप कफी खाउँला र जोश आउला भनेको, लक्षण देखिएन । रिंगरोड सम्म पुग्ने जाँगर पनि सेलाउन थाल्यो । बजारको त यो हाल छ भने रिंगरोडको के हाल होला ? समाचार खोज्दै भौंतारी रहनलाई म पत्रकार पनि त होइन । दरबारमार्ग एक चक्कर लगाएर घर फर्कन्छु । गेटमा पुग्ने बित्तिकै रोहिणी दिदीलाई फेरी भान्छाकै झ्यालमा
देखें ।

‘ए दिदी, म आधा शहर डुलेर आइसके । तपाई चाहीं अझै भान्छा मै ? के गरिराख्नु भा ?’

‘कहाँ जानु छ र छिटो छिटो गर्नलाई ? भान्छाको काम सिद्धियो भने कि बारीमा चल्न जानु पर्यो, कि बसेर टिभी हेर्नुपर्यो । जे गरेपनि गर्ने नै हो ।

‘कस्तो अर्थहीन भएको दिनचर्या । अहिले मानव जातिको एक मात्र उद्देश्य भएको छ, बाँच्नु र बाँचिरहन सक्नु । हुन त पहिला पनि के नै उद्देश्यले बाँचेका हौं र हामी ? बाँचिरहन कै लागि बाँचेका त हौं नि। अहिले परिस्थिति बदलिएकोछ र हाम्रो सम्पूर्ण ध्यान, उर्जा, चिन्तन एउटै बिन्दुको वरीपरी घुम्न थालेकोछ । अवचेतन मनको एउटा कुनामा सँधै रहीरहने जीवनको मोह र मृत्युको त्रासलाई सतहमा ल्याइदिएकोछ अहिलेको परिस्थितिले ।

तर, के बाँच्न चाहनु आफैंमा सम्पूर्ण उद्देश्य होइन त जीवनको ? सपना, सद्भाव, सम्बेदना, संतुष्टि, सबै यत्नहरु बाँच्न कै लागि त हुन । आत्मा खुशी रह्यो भने जीन्दगीको चार दिन बढ्छ । दुःखी भयोभने दुई दिन घट्छ । यो जुनीमा बाँचिरहेकाहरुले अर्को जुनी देख्या छैनन । अर्को जुनीमा पुगेकाहरुले फर्केर आएर केही भन्या छैनन ।

मेरो आत्मा चाहीं अहिले तात्तातो मःमः खान पाए साहै्र खुशी हुने थियो । twitter: @shrestharuchi 

"