कोरोनाको दोस्रो सिजनः सम्बन्धमा लकडाउन - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

कोरोनाको दोस्रो सिजनः सम्बन्धमा लकडाउन


-रुचि श्रेष्ठ

‘आज कमायो आजैलाई ठीक्क’ हुनेहरु त कति होलान कति, जसलाई अहिले आधा पेट खाएर सुत्नु परेको छ, खाली पेट निद्रा नलागेर छटपटाउनु परेको छ । तर, टन्न खान पुग्नेहरुलाई पनि कहाँ छ र चैन ? पेटभरी खाएर पनि निद्रा नलागेर आधा रातमा उठेर फेरि खानेहरु रात छर्लगैं पारेर बसिरहेका छन् हिजोआज । काम गर्न बाहिर जानै पर्नेहरु निद्रामा नै झसंग हुँदा हुन् ।

यी नेताहरु चैं कसरी चैनले सुतिरहन सकेका ? सुतिरहेकै त छन् होला । साट्ठी, सत्तरी कटिसकेकाहरु, निद्रा नपरेको भए बिरामी परि सक्थे नि ।

हत्तेरी, बृद्ध नेताहरुलाई सम्झने बित्तिकै कफी पनि नुनिलो भएर आयो । अबको आन्दोलन बृद्धतन्त्रकै बिरुद्धमा गर्नुपर्ला जस्तो छ ।

छयालिस सालको आन्दोलनको बेला यिनीहरुले कल्पना पनि गरेका थिएनन् होला कि तेत्तिस बर्षपछि पनि मैदानमा यिनीहरु नै ‘हट एण्ड हयापेनिंग’ भएर घुमिरहेका हुनेछन् । पुर्पुरो त लिएरै आएका रैछन् । धेरै पहिले कुनै दार्शनिकले भनेका थिए रे– ‘लोकतन्त्रमा जनताले आफ्नो हैसियत अनुसारको नेता पाउँछन् । इन अ डेमोक्रेसी पिपुल गेट द लिडरस् दे डिजर्भ ।‘

शक्तिका भोकाहरु स्वाद पाउँदै गए, लोभी हुँदै आए । भोकदेखि लोभको दूरी खासै लामो छैन । पेटमा हुन्जेल भोक सतहमा मात्रै हुन्छ । जब पेट भरिदैं जान्छ, भोक माथि माथि उत्रिदैं आउँछ । मस्तिष्कसम्म पुग्दापुग्दै त्यही भोक लोभ बनिसकेको हुन्छ । त्यसैले यो भोक भन्ने तत्वलाई माथि आउनै दिन नहुने रै छ । समाजशास्त्रको एउटा सूत्र छ नि ‘द कल्चर अफ पोभर्टी’ अर्थात गरिबीको संस्कृति । मैले पनि एउटा सूत्र बनाउनु पर्योः ‘भोकको राजनीति ।’ त्यो पनि जर्ज अर्वेलले उहिल्यै लेखिसकेका छन् ः ‘द पोलिटिक्स् अफ स्टारभेसन ।’ अहिले यहाँ ‘भोकको सामथ्र्य‘ देखाउने समय आएको छ, ‘द पावर अफ हंगर ।’

उसै त बैराग्य छ सबैतिर । यो नेताहरुलाई सम्झदा त झन दिकदारै लागेर आउने । यिनीहरुलाई सोचिरहनु भन्दा त बरु रोमान्टिक गीत सुन्छु : ‘काली पलक पिया मोरी, खुल्ने लगी है थोडी–थोडी, एक चोरनी एक चोर के घर करने चली है चोरी ।’ समृद्धिमा कला, संगीत, साहित्य मौलाउँछ, फस्टाउँछ । तर, यी सबको सबैभन्दा धेरै आवश्यकता हुने भनेको यस्तै संकट र बिपत्तिको बेलामा त हो नि । कलाले मान्छेको सम्बेदनालाई मर्न दिंदैन । हामीलाई स्मृतिसँग जोडेर राख्छ । अरु भन्दा पनि कल्पनामा एउटा बेग्लै दुनियाको शयर गराउछ । यथार्थलाई ‘बर्दाश्त’ गर्न यस्तो शयर अति आवश्यक छ । अहिलेको यथार्थको त झन कुरै नगरौं । ऊफ्फ्

ढोकामा घण्टी बज्छ । रोहिणी दिदीले तरकारी ल्याइदिएकी छिन । ‘तिमीले लौकाको यस्तो तरकारी खाएको छैनौ होला पहिला ।’

मैंले झस्किदै सोधे, ‘फेरी गाउँबाट पठाइदिएको ?’

दिदीले जवाफ दिइन, ‘कहाँ पठाउनु गाउँबाट । यहीको हो ।’

मैंले भनें ‘यो त चिकेन कोर्मा जस्तै देखिन्छ त ।’

दिदीले हाँस्दै भनिन, ‘लौकाको कोफ्ता हो । चिकेन कोर्मा नै सम्झेर खाउ ।’

‘के–के मात्रै बनाउन जानेको यो दिदीले पनि ।’

‘अस्तिनै गाउँबाट पठाइदिएको लौका खाँदा–खाँदा वाक्कै भएथ्यो, तिम्रो दाइले फेरी लौकै किनेर ल्याएछन् । त्यसैले मिहिनेत गरेर पकाइदिएको ।’

मनमनै भने, धन्न दिदी पनि वाक्क भइछिन् । ‘के हो आज त रोमान्टिक गीत चलेछ त, नन स्टप । रोमान्टिक मुडमा हो ?’

‘रोमान्टिक मुडको आवश्यकता पर्यो क्या दिदी । यसो बातावरणलाई तरगिंत पार्नु पर्यो नि । कति ठुस्स परेर, झोक्र्याएर बस्नु ।’

दिदीलाई भनें, ‘कौशीमा बस्दै गर्नु, म कफी बनाएर ल्याउछु ।’ दिदीले भनिन, ‘तिम्रो त्यो तितो कफी त नबनाउ । बरु चियै बनाउ न ।’ ‘ओ के बोस ।’

चिया बनाइ सक्दा संगीतको शैलाब सत्तरीको दशकबाट नब्बेको दशकमा आइसकेछ । ‘रिम झिम रिम झिम, रुम झुम रुम झुम, भिगि भिगि रुत में, तुम हम हम तुम !!!’

‘भरखर बिहे भए ताका तिम्रो दाईले गीटार बजाएर यो गीत गाउने गर्नु हुन्थ्यो ।’

‘तपाईंको लागि ? हाऊ रोमान्टिक । दाइ भाउजु अब सेकेण्ड राउण्ड हनिमून जाने हो कि फेरी, यो संकटको सेकेण्ड सिजन साम्य भएपछि ?’

‘यो उमेरमा हनिमून ?’

‘के उमेरको कुरा गर्या दिदी । म लेजबियन भाको भए तपाइलाई उहिल्यै पट्टाइ सक्थे ।’

दिदी फिस्स हाँसिन । उनको हाँसोमा उत्साह थिएन ।
‘के भो दिदी ?’

‘यी गीतहरु राम्रो लागेर सुन्ने भन्दा पनि त्यो गीतसंग जोडिएको भावनाको, अनुभूतिको सम्झनाले गर्दा राम्रो लाग्ने हो नि । होइन र ? गीतहरुसँगै ती पुराना अनुभूतिलाई फेरी त्यही रुपमा अनुभूत गर्न खोजेर कहाँ सम्भव हुन्छ ?’

‘रोमान्टिक मुडबाट तपाई कता दार्शनिक मुडमा पुगेको ?’

दिदीले सर्लक्क कुरा अर्कोतिर लग्दै भनिन, ‘तिम्रो चै रोमान्टिक प्लान के छ ?’

‘मेरो त टन्नै छ । सुनाउँला फुर्सदमा ।’

‘गफाडी । अहिले म गए है । खाना खाने बेला भयो ।’

रोहिणी दिदी गएपछि म तीतो कफीको मिठो सीप लिंदै सोच्न थाले, दिदीले कुरो त एकदमै चित्त बुझ्दो गरेकी हो । सुखद सम्झनालाई बर्तमानमा खोज्न थाल्यो भने समस्याको सुरुवात त्यहींबाट हुन्छ । तर, यस्तो दर्शनको ज्ञान बेदना नपरी आउदैन । त्यसो भए के रोहिणी दिदीको आपसी सम्बन्धमा पनि ‘लकडाउन’ भएको होला त ? @shrestharuchi