प्रदेश १ मा हर्न बजाउँदै सवारी हुँइक्याउन बन्द - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

प्रदेश १ मा हर्न बजाउँदै सवारी हुँइक्याउन बन्द


धरान । व्यस्त बजार क्षेत्रमा कर्कश आवाजमा हर्न बजाउँदै हुँइकिने मोटरवाइकवालाहरु लाई ध्वनी प्रदुषणले मानिसमा पर्ने नकारात्मक असरका बारेमा अब बुझ्नुपर्ने भएको छ ।

गाउँ बस्ती वा बन जंगलको सडकमा प्रेसर हर्न बजाउँदै हुइकिने बस, ट्रक सहितका सवारीवालाहरुले पनि बुझ्नुपर्ने भएको छ, त्यस्तो आवाजले जैविक प्राणीहरुका वातावरणमा कसरी नराम्रो असर गर्छ ।

प्रदेश १ मा हर्न निषेधित क्षेत्र घोषणा कार्यान्वयन अभियानमा खटेका ट्राफिक प्रहरीहरुले उनिहरुलाई गाडि रोकेर बताउन थालेका छन् । सरकारले हर्न निषेधित नीति अहिले ल्याएको भने होइन् । यो २०७४ असोज १ गते देखि लागु भएको हो ।

तर यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरी निस्क्रिय थियो । बढ्दो सवारीको चापले उत्सर्जन गर्ने ध्वनी प्रदुषणले बातावरणमा पर्ने नकारात्मक असरलाई बेलैमा न्युनिकरण गर्न कडाइका साथ पालन गराउन थालिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निषेधको नीति कडा नगर्दा शहर बजारमा हर्नको अभद्र व्यवहार समेत बढेको छ । व्यस्त बजारमा पैदल हिडिरहेका बटुकै पछाडि आएर कर्कश हर्न बजाउने गरिन्छ । महिला, बालबालिका हिडिरहेका छेउमै अभद्र व्यवहार गर्दै चर्को हर्न बनाउने गरिन्छ । यस्तो व्यवहारकै कारण धेरै दुर्घटना हुने गरेका छन् । एक्कासी बजेको हर्नले मानिस अत्तालिने, कानै शुन्य हुने गर्दा आत्तिएर दुर्घटना हुने गरेको हो ।

निषेधित क्षेत्रमा हर्न नबजाउनु भनेको पैदल वटुवाहरु, अगाडिका सावरी लाई ओभरटेक गरेर अगाडि नजानु भनेको हो । यस्तो बाटोमा गति सीमित गरेर सुरक्षीत सवारी हाँक्नुको सट्टा साना सवारी र मोटरसाइकलहरु चर्को हर्न बजाउँदै सर्वसाधारणलाई ठक्करै दिने गरी अघि बढ्न खोज्ने गरेका छन् । हर्नको यस्तो दुरुपयोगले बातावारणमा ध्वनी प्रदुषण बढाउने मात्र नभएर सडक दुर्घटनाको संख्या पनि बढाएको ट्राफिक प्रहरीको अनुसन्धानहरुले देखाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार निषेधित क्षेत्रमा विशेष परिस्थिति वाहेक हर्न नबजाउन र साथीभाईलाई समेत यसबारे जानकारी गराउन सवारी चालकहरुलाई अनुरोध गर्दै अभियान थालिएको छ । राजमार्गहरुमा ठूला सवारीहरु लाई प्रेसर हर्न बजाउन पुरै बन्द गरिएको छ ।

यसलाई कडाइका साथ पालना गराउन राजमार्ग तथा सहायक मार्गका सडकहरुमा सवारीका साधन रोकेर ट्राफिक प्रहरीले हर्न निषेध लागु गराउन सावरी चालक लक्षित कार्यक्रम संचालनमा ल्याएको हो । यो अभियान प्रदेश १ स्थित ९२ वटा ट्राफिक प्रहरी इकाईबाट कम्तिमा एक ट्राफिक एक सवारी साधन रोकी चालकलाई आग्रह गर्ने कार्ययोजना लागु गरिएको क्षेत्रिय ट्राफिकले जनाएको छ ।