एमालेको चियापानमा ओलीले दिन चाहेको सन्देश - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

एमालेको चियापानमा ओलीले दिन चाहेको सन्देश


काठमाडौं । नेकपा (एमाले)ले दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्दिय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहाल अपरान्ह पौने ३ बजेतिर सहभागी भएका हुन् । एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समावादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुंगाना, विभिन्न राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुसहितको बाक्लो उपस्थिति रहेको थियो ।

एमालेले बडा दशैंलगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष (हिजो) कार्तिक १४ गते आयोजना गरिएको सो कार्यक्रम संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिन पछि (आज)सारिएको हो । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताहरुको घुईंचो लागेको छ । अध्यक्ष ओलीलाई भेटन ज्येष्ठ नागरिकहरु पनि उत्साहका साथ कार्यक्रममा सहभागी भएका छन् ।

चियापानका अवसरमा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए । त्यस क्रममा प्रधानमन्त्रीसँगको भेटपछि ओलीले उक्त भेटलाई अर्थपूर्ण रुपमा लिएको टिप्पणी गरे । प्रधानमन्त्रीसँगको भेटपछि ‘राम्रै लक्षण’देखिएको प्रतिक्रिया दिए ।

ूउहाँसँग मेरो बिहान भेट भएको थियो । तर, मलाई त्यस्तो केही भन्नुभएन त ! अघि प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौँ । तपाईंहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा देख्नुभयो । हाउभाउ देख्नुभयो । हात हल्लाएको देख्नुभयो । हात मिलाएको देख्नुभयो । मुस्कुराएको देख्नुभयो । खुसी भएको देख्नुयो । एउटै चाडमा एकै ठाउँमा खुसियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन’ ओलीले सञ्चारकर्मीसँग भने ।