इलाममा न्यून मतदान, छैन उत्साह - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

इलाममा न्यून मतदान, छैन उत्साह


काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगले गरेको अपेक्षाभन्दा केही थोरै मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने–‘निर्वाचनमा मतदाता कम हुनुमा दुई तीनवटा कारण हुन सक्छ । मतदाता नामावली अद्यावधि गर्नका लागि हामीले जति आग्रह गरे पनि त्यो अपडेट नगर्ने अवस्थाले हुनसक्छ । जस्तो मृत्यु भएको मान्छेको मतदाता नामावलीमा नाम समावेश भइरहनु, त्यसबारे आयोगलाई जानकारी नगराउँदा, घर परिवारका मान्छेले आयोगलाई जानकारी नगराएसम्म हामीले हटाउन सक्दैनौँ । मतदाता नामावली नै कम अपडेट हुनुपनि कारण हुन सक्छ ।’

उनले अगाडि भने–‘अर्को कुरा त्यहाँका मानिसहरू उक्त जिल्लाबाहिर जागिरे होलान्, कतिपय विदेश पनि गएका होलान् । त्यहाँ मौजुद रहेमा मानिसहरूले भोट नहालेको भन्ने देखिँदैन । इलामका कतिपय मैले चिनेका मान्छेलाई फोन गरेर कहाँ हुनुहुन्छ भनेर सोध्दा काठमाडौँमै छु भन्छन् । काठमाडौँमा भएका कर्मचारी पनि गएनन् । मतदाता नामावलीमा नाम छ तर मान्छे त्यहाँ छैन, त्यस कारणले पनि मत कम खसेको हो ।’

 

"