बालकविरुद्ध हुने यौन हिंसा अन्त्यका लागि ऐक्यबद्धता, राष्ट्रिय संजाल निर्माण - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

बालकविरुद्ध हुने यौन हिंसा अन्त्यका लागि ऐक्यबद्धता, राष्ट्रिय संजाल निर्माण


काठमाडौं । बालकविरुद्ध हुने यौन हिंसाका लागि नेपालका आठ संस्थाले सामूहिक अभियान शुरु गरेका छन् । प्रत्येक बर्षको अप्रिल १६ तारिखका दिन मनाइने विश्व नीलो छाता दिवस २०२४ का अवसरमा एक कार्यक्रमको आयोजना गरी बालकहरुमाथि हुने सबैखाले यौन हिंसा विरुद्ध एकजुट हुने प्रतिवद्धता जनाएका हुन् ।

‘हामी दाजुभाइ’ नामक संस्थाको संयोजन र क्याम्पेन फर चेन्ज संस्थाको सह संयोजनमा भएको ‘भाइलेन्स अगेन्स ब्याइज’ अर्थात बालकविरुद्ध हुने यौन हिंसाका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा हाल आठवटा संस्था आबद्ध भइसकेका छन् ।

क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक एवम अभियानका सह संयोजक ईशान रेग्मीले अप्रिल १६ तारिखका दिनदेखि शुरु गरिएको बालकहरु माथि हुने यौन हिंसा विरुद्धको अभियानमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकिकृत क्रियाकलापबाट अभियानलाई शसक्त बनाइने बताए ।

अभियानमा आवद्ध सिविन नेपालका सदस्य सागर भण्डारीले केटा मान्छे सँधै सुरक्षित छ भन्ने भाष्यलाई चिर्न र उनीहरुमाथि हुने सबैखाले यौन हिंसा एवम् दुव्र्यवहार न्यूनीकरण गर्न अभियान शुरु गरिएको बताए ।

भ्वाइस अफ चिल्ड्रेनकी सदस्य एवम अभियन्ता कृति भट्टराईले ‘ब्लु अम्रेला डे’ अर्थात नीलो छाता दिवसका बारेमा जानकारी दिंदै बालकहरु निश्चित ठाउँमा नभइ जहाँसुकै दुव्र्यवहार र यौन हिंसाको शिकार भइरहेको बताइन । उनले विश्वका ८५ प्रतिशत सडक बालकहरु यौन दुव्र्यवहारमा पर्ने गरेको जानकारी दिइन । ‘बालिकाहरुको तुलनामा बालकहरुको उजुरी कम पर्ने गरेको र बालकहरुको अनुभवलाई साधारण रुपले लिने गरेको पाइन्छ । कुनैपनि हानिकारक र जोखिमयुक्त तरिकाबाट लिइँदैन । तथापी हिंसाका घटनाहरु भने बढिरहेका छन्,’ उनले भनिन ।

नेपाल प्रहरी महिला वालवालिका जेष्ठ नागरिक सेवा निर्देशानलयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९।०८० मा ३३ जना बालकहरु यौन हिंसाको शिकार भएको पनि कार्यक्रममा जानकारी गराइयो । विश्वभर १३ जना बालकमध्ये एक जना वालक १८ बर्ष हुनुअघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको अनुमान गरिन्छ ।

मंगलबार आयोजित कार्यक्रममा बालकमाथि हुने सबैखाले यौन हिंसा न्यूनीकरणका लागि ‘नेसनल नेटवर्क फर इन्डिङ भाइलेन्स अगेन्स ब्वाइज(भ्याब नेटवर्क)को लोगो पनि सर्वजनिक गरिएको छ । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाँ,  अभियानका सन्जोग ठकुरीलगायतले अभियानका आवश्यक्ता र महत्वका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा नेपालको विभिन्न कानूनहरु जस्तै अपराध संहिता अन्तर्गतको जबरजस्ती करणीको महलले समेत बालकमाथि जबरजस्ती करणी हुनसक्ने विषयमा मौन रहेको र त्यसैकारण बालकमाथिको बलात्कारको मुद्दा अप्राकृतिक मैथुन अन्तर्गत अघि बढ्ने गरेको जानकारी गराइयो ।

नेपालका विविध कानूनहरुमा बालकमाथिको हिंसाका विषयमा छलफल गर्न र यस मुद्दालाई पनि नेपालको बालअधिकारवादी आन्दोलन र ऐन तथा नीतिमा समेत स्थापित गर्नुपर्ने विषयमा सरोकारवालाहरुले एकबद्ध आवाज उठाएका छन् । यूनिसेफको तथ्यांक अनुसार प्रत्येक १३ जना मध्ये १ जना बालक १८ वर्ष पुग्नु अगावै यौन हिंसामा पर्ने गर्दछन् भने कानूनको विवादमा परेका ७१७ जना बालकहरु हाल विभिन्न सुधार गृहमा रहेका छन् ।

यो संख्या जम्मा सुधार गृहमा भएका बालबालिकाहरुमध्येको ९६ प्रतिशत हुन आउँदछ । एकातर्फ बालकहरुमाथिको दुव्र्यवहार र हिंसा माथि समाज मौन छ भने अर्कोतर्फ सानै उमेरबाट विषाक्त पुरुषत्व सिकाउँदै हुर्किरहँदा बालकहरु हुर्कदै गर्दा अपराधमा र लैंगिक हिंसामा संलग्न हुने क्रममा पनि बढ्ने गरेको छ । यीनै विषयलाई सम्बोधन गर्नका लागि नेपालका बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि राष्ट्रिय संजालको निर्माण भएको जानकारी दिइयो ।

"