समाज रुपान्तरणका लागि लोकतन्त्र पहिलो शर्त हो : बिश्वप्रकाश लामिछाने - रुपान्तरण
 २०८० आश्विन १५, सोमबार    

समाज रुपान्तरणका लागि लोकतन्त्र पहिलो शर्त हो : बिश्वप्रकाश लामिछाने


देशको राजनीतिक राजधानी बागमती प्रदेशको जिल्ला काठमाडौं हो भने देशको सौन्दर्यको राजधानी गण्डकी प्रदेशको पोखरा हो । यसमा कसैको पनि दुइमत छैन होला । पोखरा निवासीहरु जनतामा चेतनाको कमी भएकोले देशको बिकास हुन नसकेको कुरामा बिश्वस्त छन । कुनैबेला पोखरा महानगरका पूर्व अध्यक्ष तथा अहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश कमिटीका सदस्य बिश्वप्रकाश लामिछानेको दृष्टिकोण अन्य पोखरावासीको भन्दा अलग छैन ।

लामिछाने देशको अवस्था राम्ररी बुझ्न खोज्ने ब्यक्तित्वका रुपमा परिचित छन । सामान्यतया माओवादी भन्नासाथ ध्वंशवादी ठान्ने मानिसको बर्चस्व भएको ठाउँमा उनी रचनात्मक दृष्टिकोण भएका ब्यक्तित्वका रुपमा लोकप्रिय छन । पत्रकारिताबाट राजनीतिमा आएका लामिछाने र उनका साथीहरु फेवातालको सौन्दर्य र सुरक्षाका लागि जन–सचेतना अभियान चलाउन निरन्तर लागेका छन । स्थानीय चुनावको वातावरण तात्दै गएको अहिलेको समयमा प्रस्तुत छ: माओवादी नेता विश्वप्रकाश लामिछानेसंग कार्यकारी सम्पादक रुचि श्रेष्ठको वार्ता –

कहिलेदेखि शुरु भयो तपाईंको सक्रिय राजनीतिक जीवन ?

मेरो राजनीतिक जीवन कहिलेदेखि शुरु भयो भन्दा पनि म आफनो परिवेश र सामाजिक जीवनका लागि कहिलेदेखि सक्रिय भएँ ? यो मुख्य कुरा हो । हामी कम्युनिष्टहरु सामूहिक संघर्षमा बिश्वास गर्छौ । जनतालाई सचेत तुल्याउनका लागि हामीले आन्दोलन उठायौं  यथास्थितिवादीहरु, बिशेष गरेर, दलाल पूँजीवादीहरुले संकीर्ण स्वार्थमा नै अल्झाइ राख्ने कामगरे । नेपाली समाजमा परिवर्तन नहुनुको मूल कारण यही हो । देशका बौध्दिक वर्ग यो कुराबाट अनभिज्ञ छैनन । तर पनि, आफनो लागि भन्दा समाजका लागि सोच्ने र समाजका लागि कामगर्ने चलन शुरु हुन सकेको छैन । यो अत्यन्त पीडादायक अवस्था हो ।

यो अवस्था पोखरा मात्रको त होइन नि । देशभरिको अवस्था यस्तैछ । तपाईंसंग पोखराको कुरागर्नु प्रासांगिक होला । होइन ?

हो । ठीक भन्नुभयो । ल, पोखराकै कुरा गरौं । घुमफिरका लागि, देश–देशाटनबाट किन पोखरा नै आउन चाहन्छन मानिसहरु ? पोखराका तालहरु, रमणीय प्रकृति, प्रचूर प्राकृतिक सम्पदा – के यही कारण होइन ? अहिले पोखरामा प्राकृतिक सम्पदाहरु ठेक्कापट्टामा लगाउने, वन–जंगल र तालको अतिक्रमणगर्ने, ताल मासेर होटल बनाउने जस्ता धेरै यस्ता हुने–नहुने काम भएका छन । पोखराको शासन–प्रशासन जन–प्रतिनिधिले चलाएका छन कि बिचौलियाहरुले ? दुःखको कुरा बिभिन्न गिरोहमा बिभाजित भएका यस्ता बिचौलियाहरुलाई परास्त गर्न जनतामा जुन आँट र आत्मबल चाहिन्छ त्यस्तो शक्ति तयार हुनै सकेको छैन ।

पर्यटकहरु किन पोखरा आउँछन ? यसको स्वच्छ वातावरणको स्वाद लिन । तर, पोखराको वातावरण दिन–प्रतिदिन बिग्रिइ रहेकोछ । वातावरण संरक्षणका योजना अलपत्र परेका छन । प्राकृतिक सम्पदाको बिनासमा लागेकाहरुलाई पराजित गर्नु पर्दछ समाजबाट पनि र चुनाबमा पनि । पोखरेली समाजमा यस्तो चेतना नफैलिएसम्म कुनै राजनीतिक दलले पनि यो कामगर्न सक्दैन ।

तपाईंले पोखरेली जनताको सामाजिक र राजनीतिक अवस्थाका बारे ब्याख्या त गर्नु भयो । तर यो त सनातनी कुरा भयो । परिवर्तन ल्याउन टाउकोमा कात्रो ओढेर लडनेहरुले यस्तो कुरागर्न सुहाउँछ त ?

तपाईंको प्रश्न सही हो । पोखरा जस्तो समृध्द महानगरको त यो हालत र हविगत छ भने अन्यत्रको त झन के नै कुरा गर्नु ? हामी राजनीतिक दलहरुले जनतालाई बुझाउन सकेनौं । यो हाम्रो कमजोरी हो । अब यो कमजोरी स्वीकारगर्दै यसका कारणको खोजी हामीले पनि गर्नु परेको छ । एक दशक लामो युध्द लडेर हामीले तानाशाही राजतन्त्रको जरो त उखेल्यौं । तर देशमा राजतन्त्रले संरक्षण गरेको प्रबृत्ति र संस्कार हटाउन सकेनौं । हाम्रा नेताहरुले जुन दूरदर्शिताका साथ युध्द संचालन गरेका थिए, युध्दोत्तर समयलाई राम्ररी हाँक्न सकेनन । यो एकप्रकारको दुर्भाग्य नै हो ।

राजनीतिक दलले चुनाव महंगो भयो भनेका छन । तपाईंले पनि कुरा त्यतातिरै सोझ्याउनु भयो । के साँच्चै राजनीतिक दलहरु संकटमा छन ?

हो । हेर्नुहोस, यो चुनाव नै महंगो भयो । कार्यकर्ता इमान्दार छन । देशप्रतिको जिम्मेवारी राम्ररी बुझेका छन । अब कार्यकर्ता इमान्दार भएर के गर्ने ? उ संग त पैसा छैन । पैसा नभएसम्म एक पाइला कतै हिंडन सकिदैन । मैले एकजना निर्वाचित वडा अध्यक्षलाई सोधें–भ्रष्टाचारका कुरा आइ राखेका छन त नेताज्यू ? उनले हाकाहाकी भने, अब चुनावको टिकट लिन नेतालाई पचासलाख बुझाएको छु । चुनावमा अर्को पचास लाख खर्च गरेकोछु । यस्तो खालको परिस्थिति छ । पचास लाखको ब्याज र अरु खर्च उठाउन एक करोड चाहियो । पैसा खर्चगर्न नसक्ने र लुखुर लुखुर हिडेर चुनाव प्रचारमा जाने उम्मेदवारले खिसीट्यूरीमात्र पाउँछ ।

यो बिलौना गरेर हिडेर त कतै पुगिदैन । होइन र ?

हो बिलौना मात्रै गरे त हामी कांग्रेस र एमालेभन्दा के भिन्न हौंला र ? यो अवस्थालाई परिवर्तन गर्नुपर्छ अब । हाम्रो एजेण्डा स्पष्ट हुनुपर्दछ । हामीले हाम्रो भिजनका साथ अघि बढनु पर्दछ । यसमा तपाईहरु जस्ता मिडियाको पनि हात हुन्छ । किशुनजीले हाम्रो पत्रकारिताको जग बसाल्नु भएको थियो । अहिले मिशन पत्रकारिताको अवस्था कहाँ पुगेको छ ? हेर्नुहोस त ! परिवर्तनका लागि अब त अभियान नै चलाउनु पर्दछ ।

भर्खरै माओवादी केन्द्रले आफनो महाधिवेशन सम्पन्न गरेकोछ । यो महाधिवेशनले पार्टीलाई लोकतान्त्रिक मूल्य मान्यतासंग नजीक लैजान खोजेको देखिन्छ । यो परिवर्तनका कारण र उद्देश्यका बारे के भन्नुहुन्छ ?

हामी माओवादी सबैभन्दा लोकतान्त्रिक हौं । कम्युन र समाजवाद संसारमा सबैभन्दा बढी लोकतान्त्रिक हुन । हामी खुला राजनीतिमा आइसकेपछि माओवाद र माओवादीलाई बुझने वातावरण बनेन । हामी जनयुध्दबाट फर्किइ सकेपछि जनताले हामीलाई ठूलो परिवर्तनको वाहकका रुपमा बुझेको थियो । तर, पार्टीमा घुसेका गलत मानिसहरुले हाम्रो अपमान मात्र गरेनन, बदनाम समेत गरे । यो प्रतिगामी घातपछि हामीमा पनि दम्भ देखियो । हामी पनि अलिकति प्रतिघातमा उत्रियौं ।

बास्तबमा भन्ने नै हो भने, संसारमा लोकतान्त्रिक बिधि र पध्दति भन्दा अर्को वाद नै छैन । सबै वाद र बिचारको सार हो – समाज रुपान्तरणका लागि लोकतन्त्र पहिलो शर्त हो । समाजवादको बाटो पनि त्यही हो । समाजवाद भनेको समाजमा रहेका सबैको आधारभूत आबश्यकता पूरा हुनु हो । कसैको एक आना जग्गा छैन । उ भूमिहीन छ । कसैको हजारौं बिगाह जमीन छ र उसैको छ सबभन्दा ठूलो बैंक । अझ हाम्रो देशमा त एउटै मान्छेका अनेक अवतार देखिन्छ । एउटै मान्छे – उद्योगपति उही, भूमिपति उही, बैंकर उही, नेता उही र दाल–चामल र नून–तेलको ब्यापारी पनि उही ।

तपाईं आफै भन्नुहोस–यति ठूलो परिवर्तनपछि भूमिसुधारको एजेण्डा हुनुपर्दैन ? पोखरा शहरमा आठ–दशवटा बिल्डिंग ठड्याएर तिनै घरको भाडाखानेहरुले एक सुका कर तिर्दैनन । जसको घरै आम्दानी छ उसले करतिर्नै पर्दैन । यसो दशैं तिहारमा नजराना टक्य्राएपुग्छ । जसले पसीना बगाउँछ उ छाप्रोमा रमाउँछ ।

नेपाली जनता आपूmसंग के क्षमता छ भनेर पनि नहेर्नेे, आफनो क्षमतामा पनि बिश्वासगर्न नचाहने प्रवृत्ति (लो सेल्फस्टीम सिण्ड्रोम) बाट ग्रस्त देखिन्छ । जनयुध्दले यो मनोदशामा परिवर्तन ल्याउन सकेन नि ?

जनयुध्दले त्यो मानसिकतामा उथल–पुथल ल्याएको थियो । अहिले त्यही शक्ति काम नपाएर भौतारिइ रहेकोछ ।