शैलजाको कालो पछ्यौरा - रुपान्तरण
 २०७९ असार २०, सोमबार    

शैलजाको कालो पछ्यौरा


-रुचि श्रेष्ठ

मेरो सम्झनामा २०४६ सालको जन–आन्दोलनको झझल्को सम्म बाँकी रहेकोछ : जब जब २०४६ सालको आन्दोलनको चर्चा चल्छ तव तव त्यो सम्झना स्लाइड फिल्मको फोटो भएर झल्याक–झुलुक आँखामा झुल्किन्छ । जनकपुर शहरमा जब–जब ‘बहुदल जिन्दाबाद !’ ‘निर्दल मुर्दाबाद !’को नारा लगाउँदै हुरुरुर जुलुस आउथ्यो,मानिसहरुको भागाभाग हुन्थ्यो । पुलिसले लखेट्थ्यो होला । त्यो भागाभागमा कति हाम्रो आंगन भित्र छिर्थे । सबैतिरबाट मानिसहरु हाम्रै घरको आंगनमा जम्मा हुन्थे र भिड लाग्थ्यो । म पनि आफ्नै आंगनमा जम्मा भएको भिडसँगै कहिले आँगनको खाटमा चढेर, कहिले छतमा गएर सडकतिर हेर्थे । त्यस बखत जनकपुरको भानुचोक खतरा र जोशले तात्तिएको हुन्थ्यो ।

२०४६ साल सम्म शहरमा जुन विद्रोह र क्रान्तिको जुननथियो, प्रजातन्त्रको स्थापनापछि त्यो उत्साह र उन्माद सेलाउदै गएको थियो । र, पनि त्यति बेला मैले पढ्ने जानकी माध्यमिक विद्यालयका शिक्षकमाझ प्रजातन्त्रमा आफ्नो माग पुरा गराउनको लागि बिरोध गर्न पाउने अधिकारको अभ्यास हुने गथ्र्यो बेला बखत । मास्टरहरु दाहिने पाखुरामा कालो पट्टी बाँधेर आफ्नो नित्य कर्म गरिरहेका हुन्थे । आफ्नो हाजीरी गर्ने, विद्यार्थीको हाजीरी लिने, पढाउने अनि मौका परे विद्यार्थीहरुलाई पिटी पनि हाल्ने । ती सबै दृश्य देख्दादेख्दै पनि न मैले कुनै मास्टरलाई त्यो कालोपट्टी किन बाँधेको ? भनेर कहिल्यै सोधेको सम्झना छ, न कुनै मास्टरले कहिल्यै हामीलाई त्यस बिषयमा केही बताएको नै । हामी भुराभुरीले शिक्षकहरुले पाखुरामा बाँधेको कालो पट्टीबारे प्रश्न नगरे पनि त्यो कालो पट्टीले हामीलाई तात्कालीन घटनाप्रति उत्सुक भने अवश्य गराइरहेको हुन्थ्यो ।

अहिले सत्तरीको दशकमा आएर चालिसको दशकको कालोपट्टीसँगै सत्र सालको शैलजाको कालो पछ्यौराको कल्पना गर्दैछु । यी दुईको तुलना म गर्न सक्दिन । मैले नबाँचेको समयको म कल्पना मात्र गर्न सक्छु । २०१७ साल, पुस १ गते महेन्द्रले शासन आफ्नो नियन्त्रणमा लिएपछि यताको पहिलो प्रजातन्त्र दिवस थियो त्यो फाल्गुन ७ गते । संसदीय प्रजातान्त्रिक ब्यवस्थामा जनताबाट चुनिएर आएका प्रधानमन्त्री बीपी कोइरालालाई सैन्यबल प्रयोग गरी बन्दी बनाएर टुडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहमा नेपाली जनतालाई प्रजातन्त्रको संदेश दिन आएका थिए महेन्द्र । भरखरै महेन्द्रको निमन्त्रणामा बेलायतकी महारानी एलिजाबेथ नेपाल भ्रमण गरेर फर्केकी थिइन । यो भ्रमणले महेन्द्रको निरंकुश शासनलाई अन्र्तराष्ट्रिय समाजमा बैधानिकता दिने आशा राखिएको थियो । कस्तो बिरोधाभाषमय परिस्थिति । यस्तै परिस्थितिका बीच महेन्द्र खरीबोट मुनी बनाइएको मन्चबाट जनतालाई सम्बोधन गरेर दरबार तर्फफर्कनै मात्र के लागेका थिए, टुडिखेलको पश्चिम पट्टी रहेको महांकाल मन्दिर अगाडिबाट पाँच जना युवतीहरु कालो झण्डा फहराउदै प्रकट भए । ती पाँच जना युवतीहरु थिए, कुन्दन शर्मा, गौरी राणा, सरोज प्रधान, विजया बराल र शैलजा आचार्य । पार्टीको झण्डा बोक्न प्रतिबन्ध लगाइएको त्यो समयमा शैलजा र उनका साथीहरुले आफ्नो कालो पछ्यौरा झण्डाको आकारमा च्यातेर महेन्द्रको निरंकुश शासन बिरुद्ध विद्रोहको पहिलो प्रदर्शन गरेका थिए । तत्काल शैलजा समेत ती पाँचै जना केटीहरुलाई सेनाले बन्दी बनाएर कारागारमा लग्यो । पुस १ गते महेन्द्रले ‘कु’ गरेर शासन आफ्नो हातमा लिए पछिको यो पहिलो सार्वजनिक बिरोध थियो ।

अठार, उन्नाइस बर्षकी कलेज पढ्ने केटी शैलजाको त्यो साहसलाई उमेरको जोश नै भने होलान त्यो घटना देख्ने, सुन्ने र त्यसका बारे पढ्नेहरुले । यही साहसिक कदमले उनलाई नेताको रुपमा स्थापित गराइदियो । तर, त्यस बेला एउटा कुरा कसैले कल्पना गर्न सकेका थिएनन होला । नेपाली समाजमाप्रजातन्त्रको पुनस्र्थापनापछि शैलजा राज्य सत्तामा मन्त्री र उप–प्रधानमन्त्री भइसक्दा पनि नेपालमा लोकतन्त्रको बिकास र उत्थानका लागि गणतन्त्रको बिकल्प नरहेको मान्यतामा उनी झन्झ दृढ हुदै गइँन ।

देशमा बहुदलीय प्रजातन्त्र स्थापनाको छैठौं बर्ष नबित्दै, २०५२ सालमा माओबादीले गणतन्त्रको लागि आवाज उठाएका थिए । त्यो बेलासम्म धेरै नेपालीलाई लागेको थियो, नेपालमा गणतन्त्रको स्थापना भनेको मात्र एउटा अभिलाषा वा कल्पित सोच हो । त्यो कथित कल्पित सोचलाई नेपाली जनताले बास्तविकतामा अनुदित गरीसकेका छन । अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र छ ।

साठी बर्षको सेरोफेरोमा किन सम्झिदैछु म शैलजाको त्यो ऐतिहासिक कालो पछ्यौरा ? आफनो भौतिक शरीरसँगै शैलजापनि अब इतिहास बनी सकेकी छिन । समाजले उनको स्मृतिमा गर्ने गरेको सभा–समारोहको आयोजना शैलजाका लागि कदापि होइन । आफैं इतिहास रच्नेहरुका लागि त्यसले केही अर्थ पनि राख्दैन । इतिहासको लेखाजोखा र मूल्यांकन बर्तमानले गर्दछ, बर्तमानमा बाँचिरहेकाहरुले त्यसको हेक्का राख्नु पर्दछ ।

एक अर्थमा हेर्ने हो भने इतिहास भनेको पनि कथाको अर्को रुप नै हो । रामायण, महाभारत र बाइबलका कथाहरु । हामीले साना नानीहरुलाई सुनाउने दन्त्य कथाहरु । यी सबै कथाहरुमा उल्लेख भएका घटनाहरु भनेको सम्झनाको धागोमा उनीएका कडीहरु हुन । त्यही कडीले हाम्रा आजका निर्णयहरुको औचित्य स्थापित गर्दछ । हाम्रा दोष र उपलब्धिको मापन गर्दछ । हामीलाई अस्तित्वबोध गराई रहन्छ । सम्झना नै नरहे के का आधारमा हामीले कल्पना गर्ने ? के का लागि सपना देख्ने ?

शैलजाले सपना देखेकी थिइन । अठार–उन्नाइस वर्षको युवाले देखेको सपना अरु सबै उमेरका मानिसले देखेको सपना भन्दा पृथक हुन्छ र बढी उर्जावान पनि हुन्छ । सामान्यतया मानिसलाई उसको आफ्नै पेटको आगोले विद्रोह गर्न सिकाउछ । र, केवल बाँच्नकै लागि हर यत्न र प्रयत्न गर्न लगाउछ त्यही आगोले । तर, एउटा नेतालेनेतृत्व गर्नका लागि उनको विचारमा, चिन्तनमा, मस्तिष्कमा आगोको झिल्कोले छोएको हुनुपर्दछ । उनलाई अस्तित्वबोधले झकझक्याएको हुनु पर्दछ । राष्ट्रलाई दिशानिर्देश गर्ने नेतृत्वले पूंजीबादी अर्थतन्त्रको माग र आपूर्तिको सिद्धान्तको अनुसरण गर्दैन । पूंजीबादी सिद्धान्तको मूल आधार र उद्देश्य भुंडीबाट शुरु हुन्छ र भुंडीमै गएर सिद्धिन्छ । पूँजीवादीसिद्धान्तले मानव संवेदनालाई मुनाफाको सबैभन्दा बलियो औजार बनाएको छ । शैलजाले अवश्य पनि पूंजीबादको त्यो छली प्रवृत्तिलाई बुझेकी थिइन । त्यसैले उनका चिन्तन र बिचार मौलिक हुन्थ्यो, भावनामा नक्कली आँशु थिएन । उनको अस्तित्वबोध ब्यक्तिमा सिमित थिएन । उनले सम्पूर्ण राष्ट्रलाई अस्तित्वबोधको लागि झकझक्याइ रहिन । त्यही नै उनको सपना थियो, नेपालमा लोकतान्त्रिक गणतन्त्र र समाजबादको स्थापना ।

उनलाई नजीकबाट देख्न र चिन्न पाएकाहरुले भन्ने गर्छन, उनलाई कसैले कुनै प्रलोभनमा पार्न सक्दैनथ्यो । उनी कठोर अनुशासनको पालना गर्दथिइन । बैचारिक दृढताको प्रश्नमा अराजकताको हदैसम्म पुग्न सक्थिन । कसरी उनी यति साहसी र निडर हुन सकिन ? सत्यको नजिक रहेको चिन्तनले अलौकिक शक्ति दिन्छ । त्यसैले होला उनले लिएका बैचारिक अडानमा उनी सधै बिश्वस्त रहिन ।

आफूले कृषि मन्त्रीको दायित्व निर्वाह गरी रहँदाउनले संसदको रोष्ट्रममा उभिएर बोलिन,‘नेपालको राज्य ब्यवस्था भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’ उनको यो भनाइमा उत्तेजना थिएन । कसैप्रति बदलाको भाव थिएन । नेपाली राजनीतिको रणभूमिमा शैलजा एक अथक र निर्भिक योद्धा थिइन । शैलजा, जसले कहिल्यै झुक्न जानिनन ।

संसदमा भ्रष्टाचार बिरुद्ध बोलेको लगत्तै पछि उनले पदबाट राजीनामा दिइन । यसलाई सत्ताका विचौलियाहरुले शैलजा पराजित भएकोठाने होलान । त्यसको बिपरित यो शैलजाको नैतिक विजय थियो । जुन राज्यको सत्ता भ्रष्टाचारको बिरुद्ध आवाज उठाउनेको बिरुद्ध उभिन्छ, त्यो राज्यको लोकतान्त्रिक आचरण प्रश्नै प्रश्नको घेरामा पर्छ । आफ्नो बिचारको शक्तिबाट प्रेरित शैलजाले कहिल्यै हार्न जानिनन । बैचारिक स्पष्टता, निष्ठा र दृढताले हरेक समयमा चुनौतिको सामना गर्नु पर्दछ । त्यसैले शैलजाको उत्सर्ग ती सबैका लागि प्रेरणा हो, जो शोषणका बिरुध्द, मानवीय मुक्तिको लडाइमा होमिएका छन ।#यस आलेखको तेस्रो प्याराग्राफमा सरोज प्रधान हुनुपर्नेमा शरण प्रधान भएकाले सच्याइएको छ#

"