सी जिनपिङको विजयी भाषण: ‘विश्वलाई चीन चाहिन्छ’ - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सी जिनपिङको विजयी भाषण: ‘विश्वलाई चीन चाहिन्छ’


एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महासचिबमा निर्वाचित भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । सीपीसीको २०औं केन्द्रीय समितिको सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी जिनपिङ महासचिवमा निर्वाचित भएका हुन् ।

पेचिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्नेमा जोड दिंदै लगनशीलताका साथ काम गर्ने बताएका छन् । ‘विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ’, उनले भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुई ओटा चमत्कार बनाएका छौं, द्रुत आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता ।’

सीको अध्यक्षतामा भएको उक्त सत्रमा केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । उक्त कार्य सम्पन्न गर्न एक हप्ता लामो बैठक आयोजना गरिएको छ ।

सीपीसीको सूचीकृत २०५ जना सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिंदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । दोस्रो नेताको रुपमा भने ली चियाङ चयन भएका छन् । ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली यसअघि संघाईका पार्टी प्रमुख थिए। सात सदस्यीय पोलिटब्यूरोमा झाउ लेजी, वाङ हुनिङ,काई ची, डिङ सुइसिङ र ली सीको चयन भएका छन् ।