चीन–भारत सीमा झडप: दुवै देशले स्वीकारे - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

चीन–भारत सीमा झडप: दुवै देशले स्वीकारे


काठमाडौं । गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको चीनले स्वीकार गरेको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएपछि चिनीया पक्षले स्वीकारेको हो ।

घटनामा दुवैतर्फ सैनिकहरु घाइते भएको तर हताहति नभएको खबर छ । १७ हजार फिटको उचाईबाट चिनियाँ सैनिकले सिमा पार गर्न खोजेपछि झडप भएको भारतीय संचार माध्यमहरुको भनाइ छ । तीन सयको संख्यामा रहेका चिनियाँ सैनिकलाई भारतीय सेनाले लखेटेको दाबी पनि भारतीय सञ्चार माध्यमले गरेका छन् ।

यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो ।

यसैबीच, लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका छन् । साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिए ।

भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर संसद्मा विपक्षी सांसदहरुले हङ्गामा गरेका थिए । रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोकसभाबाट बाहिरिएका थिए ।

गत वर्ष अक्टुबरमा पनि सोही क्षेत्रमा दुई देशका सेनाबीच झडप भएको थियो । सन् २०२० को अगस्टमा पनि भारतीय र चिनियाँ सैनिकबीच गलवान उपत्यकामा झडप भएको थियो । सोही वर्ष मे मा लद्दाखमा झडप हुँदा दुवैतर्फका सैनिकहरु मारिएका थिए ।