माओवादीमा मुना पलाउने मौसमको प्रतीक्षा - रुपान्तरण
 २०८१ श्रावण ९, बुधबार    

माओवादीमा मुना पलाउने मौसमको प्रतीक्षा


-नारायण नेपाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई नागरिक समाज र बौद्धिक वर्गले चाखपूर्वक हेरिरहेका छन् । नेकपाको पचहत्तर बर्षे यात्राका क्रममा देशले अनेकौँ आरोह अवरोह भोगेकोे छ । भीमकाय युद्धको ज्वालामा पाकेर समकालीन राजनीतिक दलसँग मिलेर गणतन्त्रको नेतृत्व गर्दै आएको माओवादी दल देशको तेस्रो भए पनि यसका अध्यक्ष प्रचण्ड संघीय गणतन्त्रको नेतृत्व गर्दै हुनुहुन्छ । प्रचण्ड सरकारको नेतृत्वमा अध्यक्ष प्रचण्डको अवतरणपछि माओवादी आन्दोलनमा नयाँ रक्तसन्चार भएको छ । अब माओवादी राजनीतिमा नयाँ मुना पलाउने मौसमको प्रतीक्षामा छन ।

गत निर्वाचनमा किन माओवादी पछि परे ? किन पूरा भएन समाज परिवर्तनको संकल्प ? यसबारे माओवादी नेतृत्वले आत्म–मन्थन गर्नु पर्दछ । जिम्मेवार कमिटीहरुबाट निर्वाचनको मतपरिणाम र समीक्षा प्रतिवेदन लिखितरूपमा माग्नुपर्छ । त्यसको आधारमा आगामी रणनीति तय गर्नुपर्छ ।

यतिवेला अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले जनतामा आशाको सञ्चार गराएको छ । नक्कली भुटानी शरणार्थीपछि सतहमा आएको ललिता निवास काण्ड र त्यसपछि अहिले भर्खरै सतहमा आएको सुन काण्डमा सरकारले देखाएको निरपेक्ष भावले जनतामा सकारात्मक प्रभाव पारेको छ । यी ठूला काण्डका कर्ता पक्राउ परेसँगै चियाचौतारीदेखि सामाजिक सञ्जालसम्म यी घटनाको चर्चा हुन थालेको छ । जनताको अपेक्षा छ ः सरकारले यस्ता कार्यलाई निरन्तरता देओस ।

माओवादी राजनीति ओरालो लाग्ने तर जनताले माओवादीकै भरोसा खोज्ने यो अन्तरविरोधको हल यस्तै अभियानले गर्नेछ । नेपालको राजनीतिमा झण्डै किनाराकृत हुन लागेको माओवादी राजनीतिलाई अगाडि बढाउने मुल मुद्दा अहिलेको भ्रष्टाचार विरोधी अभियान बन्दैछ । पछिल्लो निर्वाचनमा माओवादीका बिरुध्द भड्किएको शहरिया मध्यम वर्गलाइ यो अभियानले पूनः माओवादीतिर आकर्षित गरेको छ । संगठन र नेतृत्वले यो समीक्षाको महत्वपूर्ण सवालमा आँखा चिम्लिन मिल्दैन ।

माओवादी पाटीले आफना जनवर्गीय संगठनलाई गतिशील बनाउनु जरुरी छ । पार्टीको नेतृत्व तहमा रहेर भ्रष्ट आचरण गर्ने, जनताप्रतिको उत्तरदायित्व वोध नगर्ने, असहयोगी व्यवहार देखाउने नेताहरूले नै माओवादी आन्दोलनलाई कमजोर पार्ने प्रवृत्तिलाई प्रोत्साहन गरेका छन् । यस्तो प्रवृत्तिमाथि निर्मम प्रहार गरेर संगठनात्मक रूपमा नै नेता, कार्यकर्ता र जनतालाई उत्तरदायी बनाउने प्रणालीको विकास हुन जरुरी छ ।

सबै मान्छे सबै मोर्चामा अब्बल हुन सक्दैन । एउटा सवालमा विज्ञ मान्छे अर्को सवालमा दक्ष नहुन सक्दैन । अग्रज नेतालाई पार्टीमा सम्मानित भूमिका प्रदान गरेर नव आगन्तुकलाई पार्टी आन्दोलनमा गतिशील तुल्याउन ढिलो भइसकेको छ । अन्याय र अत्याचारको दुनियाँ जलाउन आफ्नो टाउकोमा आगो बालौँ भन्ने प्रचण्डपथको मान्यतामा पाइला अघि बढाउन सबै माओवादी सक्रियहुनु जरुरी छ ।

माओवादी सरकार र सत्ताबारे केन्द्रदेखि स्थानीय तहसम्म लेख्ने, बोल्ने स्वतन्त्रताबिना विचारको विकास नहुने मात्र होइन, सामाजिक राजनीतिक सत्ताको पनि रक्षा हुदैन । आजको राजनीतिक सिद्धान्त र प्राथमिकता विपरीत दिशामा केन्द्रित छ । हँसिया हथौड़ा चुनाव चिन्ह बोकेका उम्मेदवारले यो चेतना बोकेका छन् कि छैनन् ? काम र परिणाममा मूल्याङ्कन हुन जरुरी छ । आजका कार्यकर्ताहरु हरेक क्षेत्रमा परिवर्तनका लागि अध्यक्ष प्रचण्डको हस्तक्षेप गराउन चाहन्छन । तर बिकास भन्ने कुरा प्रचण्डले हस्तक्षेप गरेपछि मात्रै आउने कुरा होइन । बिकासका लागि स्थानीय तहको इच्छा र आकांक्षा प्रवल हुन्छ भन्ने मान्यता स्थापित गर्न जरुरी छ माओवादीहरूले ।

प्रतिगमनविरुद्ध बनेको वाम लोकतान्त्रिक गठबन्धन अहिलेको राजनीतिको जग हो । यो गठबन्धनविरुद्ध मोर्चाको चलखेलको श्रृङ्खलाबद्ध प्रहार सरकारले झेलेकै छ । विभिन्न शक्ति केन्द्रको उक्साहट र प्रायोजनमा छिर्के खेल जारी छ । केन्द्रमा गठबन्धन कायम रहँदा स्थानीय तहमा गठबन्धनको मर्म र भावना लगभग टुटेको छ । एकथरि लैनो गाईको कल्चौडोबाट गौवामा दुध दुहेर भोज लगाउने र अर्कोथरि घाँस पानी भकारो सोहरेर खेतबारी मलिलो पार्ने अनि भुइँमान्छेलाई तेरो भाग छैन भन्न पाइँदैन । प्रचण्ड भावनात्मक र गतिशील अभिव्यक्तिको प्रतीक हो । यस्तो नेतृत्वले आकस्मिक वा भैपरि आउने मोर्चा वा परिस्थितिको सामना गर्नसक्ने योद्धाको पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता हो । माओवादी बैठकदेखि बैठकसम्म र कोठादेखि कार्यालयसम्म सीमित नरहुन । शुभकामना !

"

"