– रुचि श्रेष्ठ
कथा नागरिकताको हो तर, यसको सुरुवात मैले नेशनल आइ डी अर्थात राष्ट्रिय परिचयपत्रबाट गर्नुपर्छ । हुन त नागरिकताको कथा जहाँबाट सुरु गरेपनि हुन्छ । कोठा–भाडालिने देखि बैंकमा खाता खोल्ने, कम्पनी दर्तागर्ने, जागिर माग्ने, ड्राइभिगं लाइसेन्स बनाउने, सबैले तपाइसँग नागरिकता माग्छन । तपाइको जीवनधारा नागरिकताबाट सुरुहुन्छ र त्यसैको वरिपरि गुजुल्टिरहन्छ ।
करीब दुइ वर्ष पहिले अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने हल्ला चल्यो शहरमा । किन बनाउनु पर्ने ? नबनाउदा के अप्ठ्यारो आइलाग्ने हो ? न बनाउन जानेलाई ठ्याक्कै थाहा छ, न यहाँ बनाइदिनेलाई अथ्र्याइरहने फुर्सद छ । नयाँ काम–कुरो ल्याउनेमा राज्यले देखाएको तत्परतामा कुनै शंका छैन । तर, नयाँ कुरो किन र के का लागि भनेर ब्याख्या र स्पष्टिकरण पाउने नागरिकको अधिकार कहिल्यै राज्यको प्राथमिकता बन्न सकेको छैन । त्यत्रो संबिधान निर्माणगर्दा नागरिक बीच गएर संबिधानको ब्याख्यागर्नु र स्पष्टिकरण दिनुपर्छ भन्ने कुराको राज्यलाइ होस भएन । राष्ट्रिय परिचयपत्र त हातमा नागरिकताहुने सबैले पाउछन, सरकारले सित्तैमा बनाइदिइ राखेकोछ, किन न बनाउने ? बनाउने नि !
राष्ट्रिय परिचयपत्र बनाउन मेरा घरका सबैले फोटो खिचाएर आइसकेका थिए । अब फोनमा मेसेज आउना साथ राष्ट्रिय परिचयपत्र लिन वडामा जाने रे !
त्यो नभएर मेरो कुनै काम रोकिने वाला छैन । न यसले अमेरिकाको स्टेट आइडी ले जस्तो सुबिधा दिन्छ, न भारतीय रासनकार्डको जस्तो यसको बहुमुखी उपयोगिता नै हुन्छ । राष्ट्रिय परिचयपत्रमा नागरिकता नम्बरको उल्लेख अनिवार्य चाहिन्छ र नागरिकताले गर्ने काम नै राष्ट्रिय परिचयपत्रले गर्छ । बरु, कतिपय ठाउँमा राष्ट्रिय परिचयपत्र भएपनि नागरिकता नै माग्छन भनेर कति सम्झाउनु घरका मान्छेहरुलाई !
मेरो पिताजीलाइ कागज–पत्रमा लटर–पटर पटक्कै मनपर्दैन । गर्नुपर्ने काम कुरो गरेर कागजपत्र ब्यवस्थित राख्नुपर्छ, फोटोकपी सहित । ता कि चाहिएको अवस्थामा सबै तैयार रहोस : असली चाहिए असली, नक्कली चाहिए नक्कली । हाम्रो राज्यब्यवस्थामा यस्तो कार्यकुशलताको निकै ठूलो महत्व छ ।
लौ त लौ, त्यो राष्ट्रिय परिचयपत्र बनाए पनि नबनाएपनि म राष्ट्रिय वा अराष्ट्रिय तत्व हुने होइन । कति कचकच सुन्नु भनेर म राष्ट्रिय परिचयपत्र बनाउन गए ।
फारम बुझाएर फोटो खिच्ने बेलामा मसिनले मेरो नागरिकताको फोटो ‘रिड’ गरेन । क्यामेरामा मेरो नागरिकताको फोटो सफा आएन ।
नेपाली कागजमा हातले लेखेको नागरिकता, बनाएको बीस बर्षमा कागजको पत्र, मसीको रंग उडी गयो त के अचम्म भयो !
अब के गर्ने ?
‘नागरिकताको प्रतिलिपि बनाएर ल्याउनुस । त्यसपछि फारम बुझाउनुस,’ भन्ने सुन्नमा आयो ।
यस्तो अड्चन त्यहाँ उभिएका एक–दुइ जनालाई पनि परेको देखेपछि यो सामान्य समस्या रैछ भन्ने बुझियो ।
हरेक ठाउँमा नागरिकता देखाउनुपर्छ । रेकर्डमा त फोटोकपी नै राख्छन, असलीवाला हेरेर । तर, वडा र सीडीओ कार्यालयले फोटोकपी मसिन राख्दैनन । कति नागरिकता त फोटोकपी गराउदै हराउँछ होला ।
खोइ के के नियम हो, बुझिसाध्य छैन । सरकारी कर्मचारीले जे जे भन्छन खुरुखुरु गर्नै पर्यो ।
मैले सोचेको भन्दा छिटो वडाबाट सिफारिस प्राप्त भयो र सीडीओ कार्यालयबाट नागरिकताको प्रतिलिपि पनि हात पर्यो । यति भएपछि राष्ट्रिय परिचयपत्र पाउनका लागि अर्को कुनै उल्का गर्नु परेन । वडा बाटै सम्पन्न भयो त्यो काम ।
अब आयो पासपोर्टको पालो । म बरालिएको छैन । पासपोर्टको कुरा नगरी मेरो नागरिकताको कथामा ट्वीष्ट आउदैन । यो पल्ट भाउजुको कचकच सुरुभयो । डेट सक्किन लागेपछि पासपोर्ट त नयाँ बनाउनुपर्छ भन्ने वहाँको भनाइ । यो चाही तर्कसंगत कुरो लागेर पासपोर्टको फारम भरेर बुझाइदिए । फारममा राष्ट्रिय परिचयपत्र नम्बर राख्ने ठाउँ त थियो । तर, अनिवार्य थिएन । यति दुःख गरेर पाएको नम्बर, अनिवार्य होस कि न होस, राख्ने ठाउँ पाएपछि राखिहाल्नु पर्छ भनेर नागरिकता नम्बर र राष्ट्रिय परिचयपत्र नम्बर दुबै हाली दिए फारममा ।
आठ–दश दिन पछि फोनमा एउटा मेसेज आयो । पिताजीको नाम र गल्लीको ठेगाना मिलेन । सच्याउनु पर्यो । भरेको फारमको प्रतिलिपि हेरे । नाम र थर लेख्ने ठाउँ मात्र छ । बीचको नाम, प्रसाद, बहादुर, कुमार लेख्ने ठाउँ नै रैनछ । लेख्ने ठाउँ नै नभए पछि कतातिर राख्नु ? मैले बीचको नाम छुटाएकोमा मलाइ अचम्म लागेन र ठेगाना नमिलेकोमा पनि मलाइ कुनै आश्चर्य लागेन । घरको ठेगानामा न कुनै चिठ्ठी आउनुछ, न कसैलाइ पठाउनुछ । के को याद हुनु त घरको ठ्याक्कै ठेगाना । भयो होला अलिकति यताउता ।
सबै कागजपत्र लिएर गए सीडीओ कार्यालय । एउटा झ्यालमा सोधे, अर्को फारम भरेर ल्याउनु पर्छ भन्नुभयो ‘मेडम’ ले । कसो म अर्को फारम भर्न दौडिइ हालिन । कहिले काही अल्छी भएको फाइदा हुदो रैछ ।
अर्को झ्यालमा गए । त्यहाँ ‘सर’ ले भन्नुभयो, ‘बाको नाम पनि बिर्सनु हुन्छ त ?’
मैले भने, ‘त्यही त सर, बिर्सिहालियो, अब सच्याउनु पर्यो ।’
सरले भन्नु भयो, ‘जुन कम्प्युटरमा फोटो खिचेको हो, त्यही कम्प्युटरमा सच्याउनु पर्छ, त्यही जानुस ।’
अर्को फारम भर्नु नपर्ने भयो । म दंग परे ।
आफूले फारम बुझाएको कम्प्युटरको कुर्सी खाली छ । छेउको कुर्सी अघिल्तिरको लाइन लामैछ । म छेउमै उभिइ राखे ।
दुइ–तीन जनाको काम सकेपछि ‘सर’ ले म तिर पुलुक्क हेरेर अगाडि बस्ने मानिसको काम गर्दै सोध्नुभयो, ‘के छ तपाइको ?’
‘बाको नाम र गल्लीको ठेगाना मिलेन छ ।’
‘कसरी गलत लेख्नुभएको त ?’
‘गल्ती भइहाल्यो सर, अब सच्याइ दिनुस न ।’
सरले भन्नुभयो, ‘फारम बुझाउने बेला चेक गर्नु पर्दैन ?’
मैले भने, ‘मैले त सबै ठीकै छ भनेर बुझाएको हो ।’
सरले फेरी भन्नुभयो, ‘तपाइ जस्तो जान्ने बुझ्ने मान्छेले पनि यस्तो गल्ती गर्न हुन्छ ?’
अब भने मेरो दिमागको घण्टी बज्न थाल्यो । फारमको प्रतिलिपि देखाउदै मैले भने, ‘फारममा बीचको नाम लेख्ने ठाउँ नै छैन । मैले कसरी थाहा पाउनु प्रसाद, बहादुर, कुमार नाम तिर राख्नु कि थर तिर राख्नु ?’
सर अझै आफ्नै अडानमा हुनुहुन्थ्यो । ‘तपाइ जस्तो बुझ्ने मान्छेले त ठीक लेख्नुपर्छ ।’
‘लेख्ने ठाउँ नै नभएको ठाउँमा सामान्य दिमागले कसरी बुझ्न सक्छ ? फेरी सिस्टम भनेको जान्ने बुझ्नेको लागि मात्रै त हुदैन । सारा नेपालीले बुझ्नु परेन ?’
यति भनेर म चुप लागे । सर आफ्नो काम मै ब्यस्त हुनुहुन्थ्यो । त्यतिकैमा सरको अगाडिको कुर्सीमा मेरै जस्तो फारममा केही सच्याउनु पर्ने ब्यक्ति आइपुग्नु भयो ।
वहाँ भन्दै हुनुहुन्थ्यो, ‘बाहिर पसलमा फारम भरिदिएको, गल्ती गरिदिएछ ।’
म आँखा अन्तै डुलाउदै मनमनै मुस्काए । अनायाश दिमागमा झिलिक्क भयो । राजधानी शहर काठमाडौंको सीडीओे कार्यालयको त यो हालत छ भने कालीकोटको सीडीओ कार्यालयको गति के होला ?
सरले केही नभनी त्यस व्यक्तिको काम गरिदिनु भयो ।
त्यसपछि सरले मलाइ बोलाएर मेरैवाला कम्प्युटरमा लगेर मेरो गल्ती सच्याउदै आफ्ना सहकर्मीहरुलाइ भन्नु भयो, ‘कसले बुझिलिनु भएको हो फारम ? आज बिहान देखि पाँचजना सच्याउन आइसक्नुभयो । लिने बेलामा राम्ररी हेरेर लिनुपर्छ नि ।’
लौ, यो काम पनि भयो ।
यसको केही दिनपछि ‘पासपोर्ट तयार भयो’ भनेर मेरो फोनमा मेसेज आयो । पासपोर्ट लिन जान कागजपत्र खोज्दा नागरिकता त छैन । यो फेरी के आइलाग्यो । नागरिकताको खोजीमा सारा घरमा मैले हंगामा गरेको एकातिर, नागरिकताको प्रतिलिपि निकाल्न फेरी वडा र सीडीओ अफिसको चक्कर लगाउनुपर्ने निरस कल्पना अर्को तिर ।
मर्ता क्या न कर्ता । नागरिकता हराएकोछ आफ्नो, आफू नगइ सुख ?
पासपोर्ट, नागरिकता दुबैको बन्दोबस्त बुझ्नु पर्यो भनेर सीडीओ अफिस गएँँ । गज्जब ! राष्ट्रिय परिचयपत्र देखाएरै पासपोर्ट हात पर्यो । नागरिकताको विषयमा भने अर्को उल्का सुन्नु पर्यो ।
‘वडाबाट नागरिकता प्रतिलिपिको लागि सिफारिस र अविवाहित प्रमाणपत्र लिएर आउनुस’ भन्नुभयो ‘सर’ ले ।
मैले कहिल्यै नसुनेको यो ‘अविवाहित प्रमाणपत्र’ के हो ?
‘के हो सर यो अविवाहित प्रमाणपत्र भनेको ?’
‘वडाले बनाइ दिन्छ । सिफारिससँगै त्यो पनि लिएर आउनुहोला ।’
‘मैले केही समय अघि मात्र यही कार्यालयबाट प्रतिलिपि लिएको हो । ‘बसाइ सराइ’ र ‘नाता प्रमाणित’ देखाएको थिएँ । यो ‘अविवाहित प्रमाणपत्र’ को कुरै आएको थिएन ।’
‘खोइ, पहिले कसरी बनाउनुभयो थाहा भएन । अहिले चाहिन्छ ।’
पासपोर्ट हात परेकोले राहत भएको थियो । गलफत्तीगर्ने ‘मूड’ भएन । यसबारे सोधपुछ गर्दै गर्नु पर्ला भनेर त्यहाँबाट निस्किएँ ।
त्यहाँबाट त निस्किए तर, यो ‘अबिवाहित प्रमाणपत्र’ मेरो मस्तिष्कमा भुनभुनाउन थाल्यो । अर्को दिन वडामा गएर सिफारिस बनाए । ‘अबिवाहित प्रमाणपत्र’ बनाइन । यो मेरो मथिगंलमा फडफडाइ रहेको थियो । यस बीचमा मैले केही मित्रहरु सँग कुरा गरे । बकालत पढेका, वकालत गरिरहेका र पत्रकार । सबैले अचम्म माने । मलाइ अचम्म लाग्नुमा कुनै अचम्म मान्नुपर्ने कुरा रहेनछ !
अब मैले राज्यको, कानूनको र कर्मचारीको दिमागले सोच्नुपर्ने भयो । किन यिनीहरुले मसँग ‘अबिवाहित प्रमाणपत्र’ माग्दैछन ?
नम्बर एक, महिला सँग मात्र माग्छन कि पुरुषसँग पनि माग्छन ‘अबिवाहित प्रमाणपत्र’ ?
नम्बर दुइ, कुन उमेर देखि माग्न थाल्छन ?
नम्बर तीन, खासमा यो प्रमाणपत्र चाहिएको किन हो ?
यी कानूनी प्रश्न त हुन नै । साथै यो संबिधानले सुनिश्चित गरेको एउटा नागरिकको सार्वभौमिक अधिकारको प्रश्न पनि हो ।
गएँ म फेरी सीडीओ कार्यालयको त्यही झ्यालमा, जुन झ्यालले मलाइ ‘अबिवाहित प्रमाणपत्र’ लिएर आउनु भन्ने आदेश दिएको थियो ।
त्यो झ्यालले त्यही वाक्य दोहोर्यायो । ‘अबिवाहित प्रमाणपत्र खोइ त ?’
मैले सोधे, ‘यो प्रमाणपत्र तपाइहरुले महिलासँग मात्र माग्नु हुन्छ कि पुरुषसँग पनि माग्नु हुन्छ ?’
झ्यालले भन्यो, ‘पुरुषसँग त किन माग्ने र ?’
कति स्वाभाविकरुपले त्यो झ्यालले उत्तर दिएको थियो । तर, कति अस्वाभाविक थियो त्यो जवाफ ।
मैले अर्को प्रश्न गरे, ‘कति उमेर देखिको महिलासँग यो प्रमाणपत्र माग्नु हुन्छ ?’
झ्यालले उस्तै स्वाभाविक भएर भन्यो, ‘उमेर पुगेको महिलासँग ।’
‘उमेर पुगेको भनेको कति हो ?’
‘तीस कटे पछि ।’
मैले फेरी सोधे, ‘यो चाहिने चाही किन हो ?’
झ्यालले भन्यो, ‘उमेर पुगेपछि बिवाहित हो कि, डिभोर्सड हो कि, अबिवाहित हो भनेर देखाउनु पर्छ ।’
मैले भने, ‘यही झ्यालबाट मैले प्रतिलिपि लिएको धेरै भएको छैन । त्यति बेला तपाइले माग्नु भएन प्रमाणपत्र । अहिले पनि प्रतिलिपि नै लिन आएको हो ।’
‘खोइ, पहिले के गरि लिनु भयो थाहा छैन । अहिले त चाहिन्छ ।’
मैले फेरी सोधे, ‘नियम, कानून मै छ यस्तो ?’
झ्यालले भन्यो, ‘तपाइ त्यो पल्लो झ्यालमा जानुस । त्यहाँ सम्झाइदिनु हुन्छ ।’
गए म पल्लो झ्यालमा । आफ्ना त्यही प्रश्नहरु राखे । त्यो झ्यालले मलाइ फेरी अर्को झ्यालमा पठाइदियो । अर्को झ्याल सहायक सीडीओको रैछ । सहायक सीडीओ सँग त के झ्यालबाट कुरा गर्नु । अफिस भित्रै गएँ । लाइनमा भएका दुइ–तीन जनाको कागजमा हस्ताक्षर गरिसकेर झ्याल खाली भएपछि सहायक सीडीओ साहेबले मलाइ सोध्नुभयो, ‘के छ तपाइको ?’
मैले फेरी आफ्नो उही फेहरिस्त सुनाउदै भने, ‘मेरो बसाइ सराइको कागज छ । अस्ति नै प्रतिलिपि निकाल्दा यही हेरेर दिनुभएको थियो । अहिले कागज पुगेन भन्नु हुन्छ ।’
सहायक सीडीओले भन्नुभयो, ‘बसाइ सराइको कागज निकै पुरानो रैछ ।’
‘बसाइ सराइ त एकै पटक हुन्छ नि सर । नयाँ कसरी ल्याउने ।’
‘हो । तर, तपाइ अहिले बिवाहित, अबिवाहित भन्ने कुरो खुलाउने कागज भएन नि ।’
‘मैले भनिरहेको छु तपाइलाइ कि म अबिवाहित हु । त्यतिले पुगेन ?’
सहायक सीडीओ साहेबले मेरो काम सजिलो बनाइदिने उद्येश्यले भन्नुभयो, ‘वडा अध्यक्षले तपाइलाइ चिन्नुहुन्छ भने अहिले वहाँले फोनमा भनिदिनुभए पनि पुग्छ ।’
मैले भने, ‘वडा अध्यक्ष सँग मेरो ‘फ्रेण्डली टर्म’ छैन । काम पर्दा हस्ताक्षर लिन जाने हो । व्यक्तिगत चिनजान छैन ।’
त्यतिकैमा अर्को एकजना पुरुष सेवाग्राही, एउटी सोर्ह–सत्र उमेरको बालिका सँग अघिनै देखि त्यही कोठामा हुनुहुन्थ्यो, ले मलाइ सल्लाह दिनुभयो, ‘हेर्नुस, त्यो प्रमाणपत्र बनाउन एकदम सजिलो छ । वडामा जानुभयो भने तुरुन्तै बनाइ दिन्छ ।’
त्यतिन्जेलमा अर्को कुनै झ्यालवाला पनि त्यहाँ पुगिसकेका थिए ।
मैले ती सबैलाइ भने, ‘मलाइ वडा कार्यालय जान कुनै समस्या छैन । अहिले म त्यहीबाट आउदैछु । मेरो समस्या के हो तपाइले बुझ्नुभयो ।’
सहायक सीडीओ साहेबले भन्नुभयो, ‘खोइ, मैले त तपाइको समस्या नै बुझिन ।’
मैले भने, ‘आमाको नाममा नागरिकता बनाउन सकिन्छ । पैत्रिक सम्पत्तिमा हक दाबी गर्न महिला न पैंतीस वर्ष पुगेको हुनुपर्छ, न अबिवाहित नै हुनु आवश्यक छ । न म यहाँ एकल महिलाको भत्ता माग्न आएको हो, भने यो अबिवाहित प्रमाणपत्रको के अर्थ ?’
सहायक सीडीओ साहेबले ‘सम्हानुभूति’ शैलीमा भन्नुभयो, ‘हेर्नुस, असमानता महिलाको हकमा मात्र छैन । पुरुषको हकमा पनि छ । महिलाले आफ्नो थर परिवर्तनगर्न चाहनुभयो भने वहाँहरुसँग तीनवटा ‘अप्सन’ छ । पिताको थर, आमाको थर र पतिको थर । हामी पुरुष थर परिवर्तन गर्न जाउँ त ? कहाँ गरिदिन्छन र !’
मैले भने, ‘अबिवाहित प्रमाणपत्र मलाइ खट्क्यो । म आएँँ बोल्न । तपाइको पनि आमाको, श्रीमतीको थर राख्ने इच्छा छ भने तपाइपनि आवाज उठाउनुस । कसले रोकेको छ ?’
ती तीनैजना पुरुषहरु केही क्षण केही बोलेनन । त्यो अर्को झ्यालवाला भन्नथाले, ‘कानूनमै यस्तै छ, हामीले केगर्ने ? हामीले त नियममा जे छ, त्यही अनुसार काम गर्ने हो ।’
मैले भने, ‘त्यसो भए अब म कहाँ जानुपर्यो त ?’
झ्यालवालाले भने, ‘तपाइको क्षेत्रको प्रतिनिधिलाई भन्नुस । संसदले पास गर्नुपर्छ ।’
‘ल ठीक छ । त्यसै गरुला’, म त्यहाँबाट निस्किएँ ।
पछिल्लो समयमा स्थानीय तहको सरकारले पाएको अधिकार र त्यसबाट नागरिकले पाएको सुविधाबाट म प्रभावित भएकोछु । तर, वडा अध्यक्षको ‘एक–कल’ ले म अबिवाहित रहेको प्रमाणित हुनसक्ने कुरोले मलाइ फेरी खसखस लाग्यो ।
मेरो हजुरबुवा गोश्वारामा जागिरे हुनुहुन्थ्यो रे । उ बेला बडाहाकिमको दाहिने हात हुनुहुन्थ्यो रे । हजुरबुवा शातीर शिकारी, त्यसमाथि अंग्रेजी, हिन्दी र उर्दू लेखपढ जान्ने । नेवारी र बिभिन्न स्थानीय भाषाहरु पनि जान्ने । त्यति भएपछि बडाहाकिमको दाहिनेहात हुन अरु के योग्यता चाहियो र ! हजुरबुवा पनि जंगबहादुरकै प्रभावमा हुनुहुन्थ्यो होला । अनि शिकार खेल्नु नै परम पुरुषार्थको प्रतीक लाग्यो होला उहाँलाइ ।
खासकुरो के भने, त्यस बेला चिनजानका मानिसले कागजमा टिपोट लेखेर पठाइदिएकै भरमा हजुरबुवाले बडाहाकिमबाट सहिछाप गराएर काम फत्ते पारि दिनु हुन्थ्यो रे । सहायक सीडीओ साहेबले भन्नु भएको वडा अध्यक्षको ‘एक–कल’ ले मलाइ झसंग पारेको थियो : ओहो, हामी त अझै इतिहासमै बाँचिरहेका रहेछौ । वडा अध्यक्षको ‘एक–कल’ले म अविवाहित भएको प्रमाणित गर्नसक्नु संघीयताले अधिकार सम्पन्न बनाएको स्थानीय सरकार हो कि संघीयताको खोलमा आज पनि मेरो हजुरबुवा र बडाहाकिमहरु नै छन अड्डा–अदालतहरुमा ?
जुन आकस्मिक ढगंले मेरो नागरिकता अन्तरध्यान भएको थियो, त्यस्तै नाटकीयरुपमा एक दिन अचानक त्यो प्रकट भयो, मेरो कार्यालयको कागजपत्रहरुका बीच । त्यतिन्जेलमा मैले अरु जिल्लाका वडा कार्यालय र सीडीओ कार्यालयहरुमा ‘अबिवाहित प्रमाणपत्र’ बारे बुझ्न भ्याइसकेको थिएँ । सबैले यसको अनिवार्यता नरहेको बताए । गृह मन्त्रालयको नागरिकता संबन्धी ऐन र नियमावली हेरे । ‘अबिवाहित प्रमाणपत्र’को उल्लेख गरेको कतै भेटिन ।
नागरिकता हराएसँगै उब्जिएको ‘टु बी, अर नट टु बी’ को मेरो अस्तित्वको यो व्दन्दको त नागरिकता भेटिएसँगै पटाक्षेप भयो । तर, प्रत्येक दिन अड्डा–अदालतहरुमा नेपाली जनताले तिरेको करको तलब खाएर जीवन निर्वाहगर्ने कर्मचारीले जनतासंग गरेको ब्यबहारले सरकारकै औचित्यमाथि प्रश्नचिन्ह लगाएकोछ । जनता आफ्नो अस्तित्वको संघर्ष र त्यसको औचित्यप्रति नै निरपेक्ष हुनथालेका छन ।