ज्ञानेन्द्रको भौकाल - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

ज्ञानेन्द्रको भौकाल

प्रश्न गणतन्त्रका योद्धाहरुलाई


– रुचि श्रेष्ठ  

२०४७ सालमा संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि राज्यसत्तामा पुगेका प्रजातान्त्रिक आन्दोलनका योध्दाहरु र २०६३ सालमा भएको आमूल परिवर्तनपछि राज्यसत्तामा पुगेका गणतन्त्रका योद्धाहरु भाङ्ग खाएर मस्त सुतेकाले आजसम्म पनि दरबारिया, चौतरिया र आठपहरियाहरुमा रहेको ‘नोस्टाल्जिया’ अर्थात धङ्गधङ्गी सकिनै पाएको छैन ।

यी दरबारिया, चौतरिया र आठपहरियाहरु नोस्टाल्जियामा चुर्लुम्म डुबेकाछन र बेलाबेलामा रन्थनिदै महाराजको ‘भौकाल’ जगाउन सडकमा निस्कन्छन ।

केही दिन अगाडिमात्रै यस्तै भौकाल जगाउन सडकमा निस्किएका थिए यिनीहरु । नोस्टाल्जियाको नशा बहुत खतरनाक हुन्छ । नोस्टाल्जियाले गाँजेपछि ब्यक्तिले तर्क बुझ्दैन र यथार्थ देख्दैन ।

नोष्टाल्जियाको लतमा जकडिन थालेपछि ब्यक्तिमा बिशेष किसिमको उन्मादको बिकास हुन थाल्दछ । उसले आफ्नै जीवनकालमा देखेका क्रूरतम र अमानवीय अनुभव समेत किनारामा राख्दैजान्छ, पन्छाउदै जान्छ र केवल सुखानुभूति समेटिएको चित्र तयार पार्दछ ।

त्यो चित्र ‘युटोपिया’ मतलब, किम्बदन्तीमा सुनिएको ‘रामराज्य’ भन्दा कम रहरलाग्दो हुदैन । हो, अहिले त्यस्तै रामराज्यको तस्वीर बेच्ने ध्याउन्नमा छन ज्ञानेन्द्र महाराजका भौकालहरु ।

यिनीहरु आजको समयमा भौकाल जगाएर महाराजको औचित्य स्थापितगर्ने कुरो गर्छन । उदाहरणको लागि निर्दलीय र निरंकुश पन्चायती ब्यबस्थाका प्रवर्तक महेन्द्र महाराज नभइ हुदैन यिनीहरुलाई ।

मनोविज्ञानमा अर्को एउटा टर्म छ ‘एनामोइया’ । नोस्टाल्जियाकै अर्को रुप, तर नोस्टाल्जियाभन्दा एक कदम अगाडि : आफुले बाँच्दै नबाँचेको बिगतको कल्पनामा मस्त रहने मनोदशा ।

त्यही ‘एनामोइया’ को प्रकोपमा महेन्द्र महाराजले नपुगेर यिनीहरु श्री ३ महाराज जंगबहादुर र श्री ३ महाराज चन्द्रशमशेरको शासनकाललाई समेत सम्झिन थालेकाछन ।

चन्द्रशमशेर महाराजले पहिलो मोटरकार रेलको बाटो अमलेखगंज ल्याएर त्यहाँबाट भरियालाई बोकाएर चन्द्रागिरीको बाटो काठमाडौ ल्याइपुर्याएका थिए भनेर दंग पर्छन भौकाल निर्माताहरु । त्यो मोटर गुडाएर काठमाण्डौ पुर्याउने सडक निर्माण किन गरेनन चन्द्रशमशेर महाराजले ?

भौकालबादीहरु ज्ञानेन्द्र महाराजको राष्ट्रप्रेमको भक्तिगानमा भन्छन – राजाहरु राजगद्दी त्याग गरेपछि देशमा बस्दैनन । तर, ज्ञानेन्द्र महाराजले देश छाड्नु भएन ।

पहिलो कुरो, महाराजले गद्दीत्याग गरेको होइन । नेपाली जनताले महाराजलाइ गद्दीच्यूत गरेको हो ।

दोस्रो कुरो, महाराजको यत्रो अकूत सम्पत्ति देशमै छ । ठाँट छ, रवाफ छ । महाराज त भाग्यमानी हुन कि सपरिवार, सुरक्षित नेपालमा ऐयाशीका साथ बस्न पाइरहेका छन । बिश्वमा कुन मुलुकका गद्दीच्यूत राजाले यस्तो ठाँटका साथ बस्न पाएको छ ?

‘एनामोइया’ को नशाले गाँजेका भौकालबादीहरु तर्कगर्ने अवस्थामै कहाँ हुन्छन र !

ज्ञानेन्द्र महाराजले संबिधानलाइ लत्याएर, संसद बिघटन गरेर सत्ता आफ्नो हातमा लिए । आमसंचार र पत्रपत्रिकामा बन्देज लगाए । महेन्द्र महाराजबाट जे सिकेका थिए ज्ञानेन्द्र महाराजले त्यही गरे ।

तर, जुन लोकतन्त्रबाट अभिब्यक्ति स्वतन्त्रताको अधिकार पाएर यी भौकालबादी आज सडकमा नाच्दै हिडेकाछन, त्यही अधिकारको खारेजीका लागि सडकमा लठारिदै हिंडेकाछन । यिनीहरुलाइ यथार्थको हेक्का नहुनुमा के अचम्म मान्नु ?

सत्ता वरिपरि भुनभुनाइरहेका प्रजातन्त्रका ‘सेनानी’ र गणतन्त्रका ‘योद्धा’ हरुको कुरो पो अचम्म लाग्दो छ । एकातिर पूर्वराजा पनि भन्न छाड्दैनन, अर्कोतिर पार्टी खोल, चुनाव लडेर आउ भन्छन । भाङ्ग नखाएको भए यी नेताहरुले यस्तो बक्तब्य दिन्थे होलान ?

सत्ताच्यूत हुनु र गद्दीच्युत हुनु एउटै कुरो होइन । तानाशाही शासकको चरित्र बुझेकैले होला, जुन–जुन देशका जनताले महाराजलाइ गद्दीच्युत गरेकाछन, तिनलाई देश निकाला गरिदिएका छन ।

यसको सबभन्दा ठूलो उदाहरण इरानका सर्वाधिक शक्तिशाली ‘शहंशाह’ मोहम्मद रेजा पहल्वी हुन जसलाई मृत्युपछि दुइगज जमीन पनि नसीव भएन । चिहान पनि अमेरिकाले जुटाइ दिनु पर्‍यो   ।

नेपालीहरु प्रजाबाट नागरिक भएको दुइ दशकपनि बितेको छैन । तै पनि, सोझा भनेर सँधै हेपिएका नेपाली जनताले बिगतको नोस्टाल्जिया र भबिष्यको सपनाका बीचको फरक राम्ररी बुझेका छन ।

उनीहरुलाई थाह छ : हिजो देखेको परिवर्तन आजको यथार्थ होइन । आज नेपाली नागरिक भोका छन, निराश छन, तर भाङ्गको नसामा लट्ठिएका छैनन ।

उनीहरुलाई थाह छ – ज्ञानेन्द्र महाराज नेपालका दश जना सवभन्दा धनी ब्यक्तिमा प्रमुख हुन । उनीहरुले बुझेकाछन, आजको बिसंगतिको बिकल्प भोलिका लागि बुनिएको सपनामा छ, नोस्टाल्जियाको नशामा होइन ।

नेपालीले महाराजको ‘रामराज्य’ लाई उहिल्यै हुत्याएर गणतन्त्रको बाटो समातेका हुन । भौकालबादीहरुले यो सत्यलाई जति छिटो स्वीकार्न सक्लान, त्यति छिटो मुक्ति पाउलान ।