जनता जाग्दैछन - रुपान्तरण
 २०८२ बैशाख ११, बिहीबार    

जनता जाग्दैछन


–रुचि श्रेष्ठ

देशमा राजनीतिक उथलपुथल हुँदा पीजी, प्रदिप गिरि, भन्ने गर्नु हुन्थ्यो, “एउटा प्रचलित भनाइ छ : राजनीतिमा एक साता भनेको निकै लामो समय हुन्छ ।”

देशको राजनीतिमा निरन्तर बिचलनका बीच, गएको साता, संघीय गणतन्त्र नेपालको राजधानी काठमाडौंको राजनीतिक वातावरण उथल–पुथलमय भएर बितेको छ । ज्ञानेन्द्रको भौकाल जगाउन निस्किएकाहरुले राजनीतिक निर्णयमा होइन, नेपाली जनताको राजनीतिक चेतनामा उथलपुथल ल्याउने प्रयास गरेकाछन ।

२००७ सालको परिवर्तनपछिका राजनीतिक घटनाक्रमहरुलाई नजीकबाट देखेका र सुनेका, २०१७ र २०३६ साल झेलेका, २०४६ र २०६२–६३ मा राजनीतिक परिवर्तनका लागि सक्रिय रहेका ज्ञानीहरु यतिवेला भौकालबादीहरुको चीरफार गर्न थालेकाछन । भौकालबादीहरुको एकोहोरो कीर्तन खलबलिएकोछ ।

नेपालमा राजनीतिक परिवर्तनको इतिहास २००७ साल देखि प्रारम्भ भएको हो । त्यसभन्दा अघि शक्ति र सत्ताको खेल र षडयन्त्रमात्र हुने गर्दथ्यो । राजा महेन्द्रको निर्दलीय पन्चायतका पंच कार्यकर्ताहरुले लट्पट्याएको तीन दशक बाहेक पछिल्लो समयको प्रत्येक दश–पन्ध्र बर्षमा नेपाली जनताले परिवर्तनको आव्हान गरेको र आन्दोलनका लागि सडकमा ओर्लिएको कुरो प्रायः सबैले बुझिसकेकाछन ।

यसैलाइ सूत्र बनाएर गएको आमनिर्वाचन देखि नै जनमानसमा एउटा लहर चलेकोछ ।
फेरी परिवर्तन हुन्छ ! 
एकपटक फेरी आन्दोलन हुन्छ !

यो बुझाइलाइ सबै राजनीतिक दलहरुले आ–आफ्नै किसिमले भजाउन थालेकाछन ।

आम–निर्वाचनपछि सत्ता–स्वार्थको समीकरण मिलाउदा मिलाउदै राजनीतिक दलहरुले झण्डै दुइ बर्ष बिताइ दिएका छन । पछिल्लो समयमा संसदका ठूला दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेले संबिधान संशोधनलाई मुख्य मुद्दा बनाएर सत्तामा आएका हुन । तर, अहिलेसम्म, संबिधान संशोधनका बिषयहरुको निक्र्योलगर्ने प्रक्रिया नै शुरुहुन सकेको छैन ।

हो, हरेक १०–१५ बर्षमा परिवर्तनको लहर चलेको छ हाम्रो नेपालमा । किन चल्छ परिवर्तनको यस्तो मौसमी लहर ? मानिसले काम नपाएर ? हो, कामै नपाएर चाहिएको हो परिवर्तन । रोजगारी नपाएर । अवसर नपाएर ।

अघिल्ला राजनीतिक परिवर्तनहरु भन्दा यस पटक नागरिकले खोजेको परिवर्तन फरक छ । आज नेपालीले खोजेको परिवर्तन भ्रष्टाचारको बिरुद्ध र सुशासनका पक्षमा हो । हाम्रो राज्य–ब्यवस्थामा भ्रष्टाचारले कसैले तोड्न नसक्ने अभिमन्युको चक्रब्युहको रुप लिइ सकेकोछ । नेपालीका सारा समस्या भ्रष्टाचारकै बरीपरी चक्कर लगाइरहेकोछ भन्ने कुराको चेतना सबैलाई भइसकेकोछ ।

यो त लोकतन्त्र कै सुन्दर पक्ष हो कि लोकतन्त्रमा नागरिकले सत्ता र ब्यवस्थाको कुरुप पाटोसंग पनि साक्षात्कार गर्न पाउदछ ।
लोकतन्त्रमा लोकतान्त्रिक अधिकारको अभ्यासबाट मात्र ब्यवस्थामा सुधार ल्याउन सकिन्छ । लोकतन्त्रको यो अर्को सुन्दर पक्ष हो ।

तर, भौकालबादीहरुको सौन्दर्यबोध नै बेग्लै छ । यिनीहरुको सौन्दर्यचेतमा आफ्नो ‘ज्ञानेन्द्रिय’ मात्र प्रसन्न रहनु पर्दछ । त्यहाँ तर्कको र अभिमतको कुनै गुंजाइस हुदैन ।

यो पंक्तिकारसंगको एक अन्तर्वार्तामा पूर्व सभामुख दमननाथ ढुंगानाले भन्नुभएको थियो, “यो देशमा एउटा यस्तो धार छ जुन धारले एक पटक राम्रो गर्छ र त्यो राम्रोलाइ नराम्रो पारिदिन्छ । अनि, त्यो ‘नराम्रो’ भएपछि जनतामा चेतना जाग्छ । जनता त्यसको ब्यापक बिरोधगर्छ, राम्रो खोज्छ । जस्तो अहिले भइरहेकोछ । २०४७ सालको संबिधानभन्दा २०७२ को संविधान राम्रो भन्यो । अहिले आएर यो झन नराम्रो भयो । राम्रो खोज्न नागरिक तयार भइसके । अब, यो संबिधानलाई खारेज गरेर राम्रो ल्याउने कि, यसलाइ संशोधन गरेर राम्रो बनाउने ? अहिले हामी त्यो मोडमा आइपुगेकाछौ ।”

महाराजले “अब बेला आयो” भन्नुको सूत्र त यहाँ पो रैछ !

नागरिकको असन्तोष र निराशालाइ हथियार बनाउने ध्याउन्न हो भौकालबादीको ।

भौकालबादीको माग जब गणतन्त्र र संघीयताको खारेजी हुन्छ, तिनीहरुले आफुलाइ परम्पराबादी, लोकतन्त्रबादी, जे बादी भने पनि तिनीहरु प्रतिक्रियाबादी नै हुन्छन । तात्विक रुपमा प्रतिक्रियाबादीहरु जुनसुकै ब्यवस्थामा पनि एक्स्ट्रिमिस्ट, अर्थात उग्रबादी नै हुन्छन : चाहे ती बामपन्थी हुन वा दक्षिणपन्थी । यो बिश्वब्यापि सत्य हो ।

अब यसलाइ हाम्रो लोकतन्त्रको उदारता भन्ने कि गणतन्त्र ल्याउने नेतृत्वको मूर्खता भन्ने ? भौकालबादीको समर्थनमा वकालतगर्ने राजनीतिक दल संसदसम्म पुगेका छन ।

संबिधानमै गणतान्त्रिक संघीय राज्य भनेर लेखिसकेपछि त्यसको बिकल्पको खोजीमा वकालतगर्ने दल संसदमा पुग्नु नै बिचित्र कुरो हो । त्यसमाथि संसदमा तिनीहरुको तर्क रहीत बक्तब्य सुन्नु त झनै हास्यास्पद हुन्छ ।

गणतन्त्रका नेतृत्वपंक्तिमा बसेकाहरुले यतिका बर्षमा जनतालाई एउटा सामान्य सत्यका प्रति बिश्वस्त बनाउन सकेका छैनन : नेपालको राज्य ब्यबस्थामा लोकतन्त्र, गणतन्त्र र संघीयताको बिकल्प छैन । यसको बिकल्प खोज्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हिर्काउनु जस्तै हो ।

नेतृत्वको वचन, बिचार र ब्यवहारमा देखिएको नैतिक स्खलनका कारण अलमलमा परेका दलका कार्यकर्ताहरुको पीडा आफ्नै ठाउँमा छ । नेतृत्वको नालायकीले गर्दा राज्यमा परिवर्तनको धार नै अलमलमा परेको छ । नेपाली जनताले राजनीतिक परिवर्तन खोजेका होइनन । गरीखाने अवसर, सामाजिक सुरक्षा, भ्रष्टाचारको अन्त्य र आफुले जितेको अधिकारको कार्यान्वयन खोजेका हुन । गएको साता नागरिकले यही आवाजलाई मुखरित गरेकाछन ।