मौन समयको चिन्तन - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

मौन समयको चिन्तन


– रुचि श्रेष्ठ
निर्वाचनको संदर्भमा प्रदीप गिरि भन्ने गर्नुहुन्थ्यो : वर्षको एक पटक नागपन्चमीको दिन घरको दैलोमा सर्पको फोटो टाँसेर पूजा गरे जस्तै भएको छ हाम्रो निर्वाचन । प्रत्येक पाँच वर्षमा एक पटक नेताले जनताको पूजा गर्छन ।

यस पटक नाग पन्चमी दुई वर्ष पहिले नै आएको छ ।

अहिले देश चुनाव अघिको मौन अवधिमा रहेकोछ । कुनै नेता र दल विशेषको पक्ष र बिपक्षमा बोल्न वर्जित छ । यस्तो मौन अवधिको अभ्यास निर्वाचन अघि मात्र नभएर प्रत्येक महिना गरिनुपर्ने हो । यसो भए, सूचनाको कोलाहलका बीचमा सुकुनको सास लिनुको महत्व बुझ्न पाउथे जनताले ।

चालिस वर्ष पहिले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको लागि मरिमेट्न तयार प्रजातन्त्रका उनै योद्धाहरु आज सूचनाको होली र रंगोली देखेर बैराग्यको अवस्थामा छन । सामान्यरुपमा बैराग्य भावलाई उमेरले ल्याउने प्रवृत्तिका रुपमा हेरिने चलन छ । तर, पाकाले मात्र होइन, युवाले पनि राम्ररी बुझेका छन – यो उमेरले ल्याएको प्रवृत्ति होइन । प्रविधिको यो उत्सवमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको महत्व मननगर्ने मौका हराउदै गएको छ । उत्सवमा भीड हुन्छ, नेता हुदैन । उल्लासमा हल्ला हुन्छ, नारा हुन्छ, विचार अभिव्यक्त गर्ने स्वतन्त्रता पनि हुन्छ । तर, त्यहाँ सुन्ने कोही हुदैन ।

सूचनाको होली–रंगोलीमा नेपाल मात्र किन हुन्थ्यो र ? सारा विश्व झुमिरहेको छ । नेपाली मात्र होइन, सबै मुलुकका धेरै जनता यस्ता उत्सवबाट मुक्ति चाहन्छन । तर, उत्सवलाई निर्विकल्प रुपमा स्थापित गरिएको विश्वबजारमा वैराग्यको चाहना भएपनि त्यसलाई बिकल्प बनाउन असंभव त नभनौ, अति मुस्किलपर्ने पक्कै छ । बैराग्यमा आशा पलाउछ, श्रृजना मौलाउछ, चेतनाले गतिशीलता पाउँछ । यी सबैभन्दा महत्वपूर्ण कुरा, बैराग्यमा मानिस स्वतन्त्र हुन्छ । जुनकुरो बजार र पूँजीबादको लागि कुनै हकमा स्वीकार्य छैन ।

दोस्रो बिश्वयुद्धपछि शक्तिशाली मुलुकहरुले बिश्वबजार र बिश्वब्यापिकरणको नाममा यस्तो ‘फ्ल्ड-गेट’ खोलिदिएका छन कि बिकास र समृद्धिको बाढीको लपेटबाट कुनै सिद्धान्त, जीवनमूल्य र मान्यता उम्कन पाएन । बिकास र समृद्धिको बाढी पत्रकारिताको लागि भने सुनौलो युग नै साबित भयो । आज नेपाली पत्रकारिता र बिश्व–पत्रकारिता कुन युगमा छ ? यसै भन्न मुस्किल छ । तर, स्वर्णयुगमा भने पक्कै पनि छैन । स्वर्णयुग त त्यो थियो जब पत्रकार युद्धक्षेत्रमा जान पाउदा गर्व महसूस गर्थे । युद्धभूमिबाट मानव संवेदनालाई झकझक्याउने तस्वीर ल्याएर बिश्वप्रसिद्ध हुन्थे । आज सत्य र “एआइ” बीचको मसीनो धागो तुवाँलोमा परिणत भइसकेकोछ । तुवाँलोको पछाडि सत्य र असत्य दुबै धमिलै देखिन्छ ।

सूचना प्रविधिको यो उत्सव सही हो वा गलत हो, कति सही हो, कति गलत हो भन्ने विषयमा गाइने दोहोरी अनन्त सम्म चलिरहला । नेपालीले मौन भएर मनन गर्नु पर्ने यो भन्दा धेरै महत्वपूर्ण विषय अरु नै छन ।

अस्तित्वका हिसावले सबै देशको एक भोट छ भन्नु जति सत्य हो, यथार्थमा त्यति नै तीतो सत्य हो – सबै भोटको महत्व एक समान छैन । साँढेको जुधाइमा बाच्छाको नियतिसँग तुलना गरिने नेपाल जस्तो साना मुलुकका समस्या विश्व मानचित्रमा कण बराबरको देखिएला । तर, त्यही कणमा आफ्नो संसार बनाएर बस्न चाहने करोडौ नेपालीका लागि आफ्ना समस्याको बिकटता एउटा अति विकसित मुलुकका नागरिकका समस्या भन्दा कम छैनन ।

उहिले देखि अहिले सम्म गरिखाने नेपालीका समस्याहरुको चरित्र फेरिएको छैन । समस्या उही गाँस, बास र कपास कै छ । फरक यत्ति हो, उहिले खेतले खाद्य सुरक्षा दिन्थ्यो, अहिले त्यो सुरक्षा बैंक खाताले दिएको छ । बाँकी सारा जटिलता त्यही बैंक खाताको अंकबृद्धि गर्ने दौडले ल्याएको छ । खेत देखि खातासम्म – समग्रमा नेपाली जनताले बिकास र समृद्धिको नाममा पाएको उपलब्धि पनि यही त हो ।