ओली ‘भाइरस’को बिकल्प - रुपान्तरण
 २०७८ जेठ ३१, सोमबार    

ओली ‘भाइरस’को बिकल्प


-किशोर नेपाल

‘हामीले कहिले लगाउन पाउने हो खोप ?’ कोरोना आतंकले त्राहिमाम भएका जनताले कोभिड प्रतिरोधक खोपका बारेमा यो सामान्य प्रश्न गर्नु स्वाभाविक हो ।यो प्रश्नको जवाफदिने देशको सबैभन्दा आधिकारिक ब्यक्ति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नै हुन । भारत सरकारले सदाशय देखाएर नेपाली नागरिकलाई सहयोग स्वरुप दिएको दसलाख डोज, नेपाली सेनालाई दिएको एकलाख डोज र कोभ्याक्सबाट प्राप्त तीनलाख अडतीस हजार कोभिशिल्ड खोपको उदघाटन समारोहमा उनैले ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने’गुड्डी हाँकेका थिए । उनको त्यो वाणीको पतन के कारणले भयो ? के कारणले भारतीय कम्पनीसंग नेपालले खरीद गरेकोकोभिशिल्ड खोप आधामात्रै आयो?यसको जवाफ पनि प्रम ओलीले दिनुपर्ने हो । उनले जवाफ दिएका छैनन । उनका ‘आफनै मानिस’ संलग्न भएको बिषयमा जवाफ दिन नसक्नु अस्वाभाविक त हुँदै होइन ।

प्रधानमन्त्री ओलीले महामारीको पहिलो लहर चलेको समयमा बेसार पानी खाएर कोरोना भगाउने सल्लाह दिएका थिए जनतालाई । दोस्रो लहरका चलेपछि उनले अम्बाको पात पानीमा उमालेर खाए कोरोना भाग्ने बताए। उनको यो ज्ञानको स्रोत के हो ? कसैलाई थाह छैन । धन्न, उनले केही दिन अघि आपूmले कोरोनाको यथार्थ नबुझेको बताए । हिमाली जडिबूटी पखाल्दै हिमालबाट आएको स्वच्छ पानी पिएका नेपाली जनताको प्रतिरोधात्मक शक्तिप्रति उनको ठूलो बिश्वास थियो । तर, कोरोना महामारीको अगाडि नेपालीको प्रतिरोधात्मक शक्तिको केही जोड लागेन । ‘दूर दराज’ गाउँकाजनतामा कोरोना महामारीको खबर नपुगेको होइन । उनीहरु कोरोना जाँच गराउन चाहदैनन । ‘जाँचगर्दा शरीरमा कोरोना भेटियो भने हामी त मरी हाल्छौं । कसले गरिदिन्छ हाम्रो ओखति ?’ यो अवस्थामा छन नेपाली जनता ।

नेपालका चिकित्सक र स्वास्थ्यकर्मी कोरोना महामारीसंग लडने पूर्वाधारको निर्माण र बिरामीको उपचार साथसाथै गरी रहेका छन । शहर बजारमा कोरोनाको उपचारसामान्य नेपाली जनताको पहूँच बाहिर छ । अक्सिजन, भेन्टिलेटर लगायतका तमाम सुबिधा चाहिन्छ उपचारका लागि । शहर बजारका अस्पतालको अध्ययनगर्ने राजनीति, अर्थनीति र समाजशास्त्रीले कोरोनाले हुने र नहुनेलाई कसरी बिभाजित गरेकोछ ? त्यो थाह पाउन धेरै बेर लाग्दैन । अहिलेको समयमा हुनेखानेका लागि पैसाको मूल्य छैन । तर, जसले हरेक महिना कमाएर खानु पर्दछत्यसको लागि पैसा दुर्लभ बस्तु हो । स्तम्भकारका परिचित एक सज्जनको कोरोनाका कारण कुनै एउटा ठूलो अस्पतालमा उपचार गर्दागर्दै निधन भयो । परिवारले उनको शव उठाउनका लागि अस्पताललाई झण्डै चालीस लाख रुपैयाँ बुझाउनु पर्यो ।यस्ता अप्रिय घटनाहरु संघीय राजधानीमा मात्र होइन, प्रादेशिक राजधानी र देशका सबै ठूला शहरका अस्पतालमा थुप्रै भएका छन ।

केही दिनअघि मात्र, अस्पतालहरुमा, र ब्यक्तिको प्रयोगमा पनि, अक्सिजनको अभाव देशभरि नै आतंकका रुपमा देखापर्यो । भारतको नाममा जति नाक खुम्च्याएपनि,उसले,आफै कडा अभावमा रहेको समयमा, जुन तत्परताका साथ नेपालमा अक्सिजन आपूर्तिगर्ने सदाशय देखायो त्यसको सह्राहना गर्नैपर्दछ । त्यसपछि, चीनबाट अक्सिजन आयो । यसपटकको अक्सिजनको अभावले नेपालका केही साहू–महाजनको पनि चिन्तन शैलीमा परिवर्तन ल्यायो । उनीहरुले ब्यबसायिक ब्यक्तिहरुसंग मिलेर नेपालमा अक्सिजन उत्पादनगर्ने दसवटा प्लान्ट स्थापना गर्दैछन ।

कोरोनालाई नियन्त्रणमा लिएर जनताको ज्यान बचाउने सबभन्दा प्रभावकारी उपाय खोप अथवा भ्याक्सिन नै हो । अहिले नेपालमा त्यसैको अभाव छ । भारत र चीनबाट आएको सहयोग र अन्य मित्रराष्ट्रबाट आउने भ्याक्सिन सदाशयता र मैत्री सहयोगमात्रै हो । त्यसैको भरमा जनताको जीवन बन्धकी राख्न मिल्दैन । बिश्वस्त सूत्रहरुबाट प्राप्त जानकारी अनुसार, भारतबाट आउन बाँकी कोभिशील्ड यो बर्ष (२०२१) को नभेम्बर महिनासम्म आइ पुग्नेछ । निजी क्षेत्रले पनि खोपको खोजीमा तदारुखता देखाएको बताइन्छ । उता, निर्माताहरुलाई बिभिन्न देशहरुका लागि खोपको भाग पुर्याउनै हम्मेहम्मे परेकोछ । पैसा तिर्नसक्ने देश नै खोप निर्माताको प्राथमिकतामापर्दछन । यो ध्रुबसत्य कुरा हो ।

नेपाल सरकार अहिले जनतासंग संख्याको खेल खेल्दैछ । कोरोनाले मर्नेहरुको संख्या दिनहूँ बढदै गएकोछ । सरकारले मृतकहरुको बास्तबिक संख्या घटाएर प्रकाशितगर्न थालेकोछ । हाम्रो देशमा कोरोना परीक्षणको कुनै पध्दति छैन । सकारात्मक समाचारका नाममा यस्तो खेलवाड खासगरी एकाधिकारवादी चिन्तन भएका राजनीतिक पार्टीहरुले गर्दछन । एकजना बरिष्ठ चिकित्सकका अनुसार, तथ्यांकमा कतिसम्म बेइमानी गरिन्छ भने सीएमसीसी सचिवालय र प्रधानमन्त्रीको कार्यालयमा पठाइने कोरोना तथ्यांक नै फरक फरक हुन्छन ।

सरकारमा रहेका केही नेता तथा कर्मचारी भारतमा कामगर्ने नेपाली कामदार ठूलो संख्यामा नेपाल फर्किएकालेसंक्रमण बढेको अमानवीय तर्क गर्दछन । के ती नेपाली बिदेशमा नै मर्नुपर्ने हो ? भारतमा बसेर कामगर्ने अवस्था नरहेपछि ती आफनो घर नफर्किएर कहाँ जाउन त ? के ती नेपालका लागि भोट र रेमिट्यान्सका स्रोत मात्रै हुन ? सरकारले सीमानामा संक्रमित अथवा संक्रमित नभएपनि देश फर्किएका नेपालीप्रति राम्रो ब्यबहारगर्न सकेको छैन । केही सय रुपैयाँ चपरासीको हातमा राखिदिने नेपाली सजिलै सीमा पारहुने चलन बढेको बताउँछन प्रत्यक्षदर्शीहरु । नेपालका केही शहरका अस्पताल र संघीय राजधानीमा कोरोना नियन्त्रणका लागि भएका कामका रंगीन तस्वीरहरु देखाइए पनि दुःखी जनताको तस्वीर रंगीन हुन सकेको छैन ।

प्रधानमन्त्री ओली मनमौजी स्वभावका छन । भन्नु पर्दैन, अहिले उनी शक्ति र सत्ताको शिखरमा छन । उनलाई यो शिखरमा कसरी टिकी रहने? यसको ठूलो चिन्ताछ । मानिसमा जतिसुकै दर्प भएपनि आफनो अस्तित्वको चिन्ता त भै हाल्दछ । यही चिन्ताले होला, पछिल्लो समयमा उनले आफना कपाल र जुंगामा‘खिजाब’ समेत लगाएका छैनन । प्रधानमन्त्री ओलीले आप्mना फुलेका कपाल र जुंगा फुर्सद नै नभएर अथवा स्वेच्छाले सेतै राखेका पक्कै होइनन होला । यतिबेला उनको राजनीतिक मामिला पनि सुल्टिनुको सट्टा झन झन उल्झिन थालेकोछ । प्रतिनिधि सभालाई नियन्त्रणमा लिन नसकेकोमा उनी बढी नै तनाव र क्षोभको स्थितिमा रहेको बुझिन्छ ।

अन्य बिषय पनि उत्तिकै गम्भीर खालका छन । जनता समाजवादी पार्टीकामहन्थ ठाकुर तथा राजेन्द्र महतोको समूहकोसमर्थनमा सरकार टिकाउने पक्कापक्की गरेका प्रधानमन्त्री ओलीयतिबेला साँच्चै अलमलिएका छन । पृष्ठभूमिकै कुरागर्ने हो भने संविधान निर्माणकालदेखि नै उनले मधेशका मामिलामा अनुदारवादी अडानलिएका हुन । अहिले ‘परिवन्द’ ले उनलाई मधेशका महत्वपूर्ण नेता महन्थ ठाकुर र राजेन्द्र महतोकोनजीक पुर्याएकोछ । यो क्रममा,मधेश समस्या समाधानका लागि सरकारले थरुहट, थरुवान र थारु कल्याणकारी सभासंग सम्झौता गरी सकेकोछ । नयाँ मन्त्री परिषदको ढाँचा तयार हुँदैछ । त्यसमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापालाई समेत समावेशगर्न वार्ता भै रहेकोछ ।यति नै बेला, ठाकुर र महतोको समर्थनमा सरकार टिकाउने कुरा थाती राखेर,प्रधानमन्त्री ओली एमालेका बिद्रोही नेता माधव नेपालसंगसम्झौताको ढोका खुलै राखेर बसेकाछन ।

राजेन्द्र महतोलाई मन्त्रिपरिषदमा भित्र्याएपछि मधेश समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले गरेका सम्झौता‘बुमर्यांग’ हुने सम्भावना बढेकोछ ।यो सम्झौताका बिरुध्द नेपालका मानव अधिकारवादीहरुको पुरानो संस्था नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले फेसबुकमा आफनो स्टेटस अपडेटगर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी सम्बन्धी मुद्दाका बारेमा लेखेका छन ः ‘यो गम्भीर फौजदारी अपराध हो । राष्ट्रसेवक सुरक्षाकर्मीको सामूहिक हत्याको घटना र बिषय हो । नेपालको संविधान र कानूनले यस्ता अपराधमा न त रिहाई स्वीकारगर्छ न त मुद्दा फिर्ता नै ।’ अहिलेको मधेशको समस्यामा रेशम चौधरीले जति महत्व राख्दछन त्यत्ति नै महत्व आचार्यको यो स्टेटसले राख्दछ । यसले देशका मानव अधिकारवादीहरुलाई चलायमान तुल्याउनेछ ।

सबै‘मेलोमेसो’ मिलाएर योजना बनाउँदापनि प्रधानमन्त्री ओलीका दुःख सकिएका छैनन । दुइ दुइ पटक प्रतिनिधि सभाको बिघटनको सिफारिशले उनलाई घरको न घाटको बनाएकोछ । ‘कहूँ तो माँ मरी जाये, ना कहूँ तो बाप कुत्ता काट खाये !’ को अवस्थामा छन प्रधानमन्त्री ।

प्रधानमन्त्री ओली मनमौजीमात्र होइनन, सत्ताका अम्मली हुन । उनले बितेका तीन बर्षको समयमासरकारले गर्ने नियमित काम बाहेक एउटै पनि त्यस्तो महत्वपूर्ण काम गरेका छैनन जो उनैको प्रयासले भएको स्पष्ट देखियोस । मेलम्ची जस्ता बर्षौ देखिका आयोजना आफनो पालामा पूरा भएको भ्रममा बाँच्न उनी स्वतन्त्र छन । भारतीय नाकाबन्दी कालको लोकप्रियताले उनको राजनीति अहिलेसम्म धानेकोछ । उनले जनताको मन जित्नभन्दा आपूm शक्ति र सत्तामा टिक्नका लागि हुने–नहुने र चाहिंदा नचाहिंदा सबै नारा लगाएका छन । उनले हर्रो नपाएर हैरान भएका जनतालाई जाइफलको सपना देखाए । जनताले हर्रो पनि पाएन । आज हालत यो छ उनले नारा लगाएको रेल त आउला वा नआउला । जे सुकै होला । जनकपुरसम्म आइसकेको नेपाली रेलले समेत नियमित सेवा शुरुगर्न सकेको छैन ।

कोरोना महामारीको यो समयमा प्रधानमन्त्री ओलीको राजनीतिक चातुर्य, बिकास कार्यमा मन्दी र भ्रष्टाचारमा बढोत्तरी जस्ता घटनाले खासै महत्व राख्दैनन । निकट भबिष्यमा कोरोनाको तेस्रो लहर आउने सम्भावनाको नजीक छ बिश्व । कोरोनाको दोस्रो लहरसंगै ‘ब्ल्याक फंगस’ नामको कोरोनासंग सम्बन्धित कडा खालको महामारी फैलिन थाली सकेकोछ । भारतको राजधानी दिल्ली रमुम्बइ, बेंगलुरु र चेन्नाइ जस्ता प्रमुख शहरका जनतालाई यसले आतंकित तुल्याएकोछ । ब्ल्याक फंगस हाम्रो देशमा पनि आइ सकेकोछ । कोरोना नियन्त्रणमा सरकारले देखाउन नसकेको जाँगर र कल्पनाशील ब्यबहारको कडा मूल्य चुकाउनु पर्नेछ जनताले ।

राजनीतिमा प्रधानमन्त्री ओलीले आफनो बुध्दि र बर्कतको प्रयोग महामारी नियन्त्रणमा गर्ने होभने स्थितिमा परिवर्तन आउन सक्नेछ । तर, उनी यसमा बिश्वास गर्दैनन । देश पनि प्रधानमन्त्री ओलीको बिकल्प कै खोजीमा छ ।