बेचिएको युद्ध नबेचिएको संवेदना - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

बेचिएको युद्ध नबेचिएको संवेदना


-जानुका धमला

आजभोलीको दैनिकी जीवन बाच्नुको सार्थकता खोज्दै बित्छ । हिजो हेर्‍यो, आज हेर्‍यो र भोली हेर्‍यो गरेर समय बित्छ । हरेक दिन इतिहासमा एक झमट रमाउँदा अर्कै आनन्द लाग्छ । वर्तमानको उकुसमुकुस भित्र चिच्याउनुको, कराउनुको खास अर्थ हुँदैन भन्ने थाहा छ । अनि रक्तपातपूर्ण विगतभित्र आफैंलाई मुछेर आफैं रक्तमुछेल भइन्छ । यता चिथोर्यो, उकुच पल्टिएका घाउको पाप्रा कोट्यायो फेरि तेही घाउहरुलाई उकुज बनायो र सुम्सुम्यायो । अशान्त मुद्रामा चुपचाप बस्यो कुनै कसुरविना बन्दी बनाइएको कैदी जस्तै । समय यसरी बित्दोरहेछ । बितिरहेछ ।

न हातमा संसार छ न हत्कडी । जिते सिंगो संसार हारे हातमा हत्कडी भन्ने काल माक्र्सको भनाइ याद आउँछ । त्यो संसार कस्तो हुँदो हो भनेर केजाती युद्धमा लागियो । कहरले होइन रहरले । अनेक रहरका वर्णन यहाँ गरिसाध्य छैन । त्यही रहरले रगत, बन्दुक, लडाई, युद्धमा होम्यो । होम्यो होइन होमिएँ । आकाश, तारा, जून, सूर्यभन्दा शक्तिशाली सपना पोल्टाभरी पोको पारेर उत्साहपूर्वक युद्धको साक्षी पनि भइयो, सहभागी पनि भइयो ।

हतियार बोकेर युद्धमा सहभागि नहुन्जेल मलाई युद्ध के हो थाहा थिएन । युद्धको परिणामबारे पनि खास जानकारी थिएन । विद्यालयका पुस्तकहरुमा पढेका कुराहरु र प्रत्यक्ष युद्ध मोर्चाहरुमा सहभागि भएपछि भोगेका भोगाईमा खासै तादम्यता पनि देखिन । पढ्नु ज्ञान हासिल गर्नु रहेछ । भोग्नु अनुभव संगाल्नु रहेछ । किताबमा मैंले विभिन्न कालखण्डमा भएका विद्रोहका इतिहास पढेको हुँ तर म जब जनयुद्धको मोर्चामा सहभागि भए त्यो बेलादेखि मैंले युद्धलाई नजिकबाट नियालेको हो । युद्ध सुनौलो सपना बोकेर आउँछ र भयंकर चित्कार छोडेर जान्छ भनेर चाँहि युद्धबाट कोशौं टाढा पर आएपछि थाहा भयो । चाहे त्यो जुनसुकै नाममा गरिने युद्ध होस, युद्धका अनेक रुप र अर्थभित्र रुमल्लिंदा पनि नयाँ रोमाञ्च पैदा हुने रहेछ ।

नेपालमा दश वर्ष चलेको जनयुद्धको घोषित योद्धा हुनुको नाताले युद्धको सेरोफेरोमा भएका केही घटनालाई अहिले पनि सम्झनामा आउँछ । ती घटनामा म सहभागी भए पनि नभए पनि, देखेको वा सुनेको भए पनि, भोगेको वा कहानी मात्रले पनि विचारमा धारणामा नयाँ अर्थ खोज्न दबाव दिन्छ । कहीं आफ्नै आँगनमा, कहीं आफैं हिडेको खेतका गह्रामा, कहीं आफैंले पढेको विद्यालयको चौरमा, कहीं आफैं उफ्रिपाफ्री गर्ने घट्टका अघिल्तिर भएका अनेक घटनामा टोलाएर बस्न मन लाग्छ । ती घटना सही र गलतको फैसला गर्न होइन, सही र गलत नियाँल्न फुर्मासको समय उपयोग गर्न मन लाग्ने रहेछ ।

राज्य विरुद्ध लडिरहेको अवस्थामा जो मारिन्छन तिनी शहिद हुने रहेछन् । ऊ बेला शहीद हुनु पनि मोह हुन्थ्यो । शहीद हुन पाए के के हुन्छ भन्ने पनि हुन्थ्यो । शहीदका पक्षमा लेखिएका स्मृति वा साहित्यमा पनि मन भक्कानिएर आउँदा पनि अब शहीद हुने पालो मेरो होस् भन्ने कामना हुन्थ्यो । शहीदको लहरमा उभिएर शहीद हुन पाउँ भन्ने कामना नगर्ने योद्धा कहाँ हुन्छ ? कसले किन कसरी कुन उद्देश्यले भन्ने प्रश्न नै थिएन, सँगैका साथी शहीद भएपछि आफूलाई पनि शहीदको लहरमा राख्न पाए कति गर्व हुँदो हो भन्ने भावना हुने रहेछ ।
भावनाका बीचमा संवेदनाका के अर्थ ? नहुने रहेछ ।

भावना र संवेदना अलग्गै जिनिस रहेछन् । आज पनि समाजमा निरपराध मान्छे मारिन्छन् । तर संवेदना जाग्दैन । हरेक दिन गर्भमा छोरी भएको आशंकामा भ्रुण हत्या भइरहेका खबर छ्याप्छ्याप्ती आउँछन् । संवेदना जाग्दैन । हरेक दिन सीमामा नागरिक मारिन्छन् । संवेदनाले छुँदैन । तल्लो र उपल्लो जातको पर्खालभित्र विपन्न वर्गका मान्छे मारिन्छन् । तैपति संवेदना जाग्दैन ।

जुनबेला युद्धमा थिएँ त्यो बेला माथिका सबै विषयमा दाह्रा किट्ने मानिस अहिले न बोल्छ न चल्छ । युद्धले जगाएको संवेदना मरिसकेको रहेछ । वा युद्धबाट बाहेक भएपछि खासखास प्रकृतिका संवेदना मर्ने रहेछ । त्यो बेला विचार र भावना गौण हुने रहेछ । घुणा पनि नहुने, आक्रोश पनि नपलाउने हुँदो रहेछ ।

किनकी, युद्धभित्रको संबेदनाले पक्षधरता लिंदोरहेछ । युद्धमा सहभागि हामी युद्धको समयमा कयौंपटक रुँदारुदै हास्यौं र हाँस्दा हाँस्दै रोयौं । माओवादीका प्राधिकार प्रचण्डले यो वाक्य हामी जस्ता आम लडाकूलाई कन्भिन्स गर्न त्यो बेला पर्याप्त थियो । एउटा मर्छ रोयो, अर्को मर्छ हाँस्यो । यसरी युद्धले संवेदनाको निर्माण गर्ने रहेछ ।

सिन्धुली जिल्लाको जरायोटारमा मारिएको समुन्द्र टेकनाम उनी पहिला माओवादी पार्टीको पूर्णकालिन कार्यकता थिए । संकटकालमा सिन्धुली ब्यारेकमा गएर सेनासँग आत्मसमपर्ण गरे । पछि उनी माओबादीको नेतृत्वदेखि सर्वसाधारण जनतालाई मार्ने सुराकी गर्न काममा लागे । नुवाकोटमा सागर र सुवास तामाङ जस्तै । अफसोच, सान्दाने भिडन्तको दिन समुद्र जनमुक्ति सेनालाई सुराकी गर्दैगर्दाको अवस्थामा भेटिए र तेही दिन २०६२ बैशाख २९ गते उनलाई जनमुक्ति सेनाको फोर्सले भाग्दै गरेको अवस्थामा उनको सफाया गरिदियो ।

युद्धको मैदानमा समुन्द्रप्रति मभित्र कुनै संवेदना नै जागेन । उल्टो आफूले चिनेका गाउँका जिल्लाका त्यस्ता सुराकीहरु त्यसैगरी सफाया भएको खबर सुन्न पाए भाग्यमानी भइन्छ भन्ने लाग्थ्यो । टाउकोको मूल्य तोकिएको बेलामा प्रतिकार समितिको अध्यक्ष भनेर त्यही नाम मेरो घरमा मटितेल छर्केर आगो लगाउन र परिवार ध्वस्त पार्न उदत थियो । मानसिक बिरामी भएर बाटोमा भौतारिदै गन्तब्यको वीहिन माब बहादुर गिरीलाई प्रतिकार समितिको नाममा बाटोमा समातेर गस्तीमा रहेको सेनालाई फलाटे बजारमा बुझाउँदा र त्यही मानबहादुर गिरिलाई माओवादी आतंककारी दोहोरो भिडन्तमा मारियो भनेर समाचार सुन्दा पनि कुनै संबेदना जागेन ।
(अहिले नियति सुध्रेपछि रे अहिले त तिनै प्रचण्ड माओवादीका जिल्लाका खुंखार नेता भएको खबर पनि छ ।)

माया, प्रेम, करुणा, संवेदना, भावना, मानवियताले युद्धको विपरीत अर्थ बुझाउँछ । तर युद्धलाई फरक आँखाले हेर्नेहरुको लागि युद्धले शान्ति, न्याय, समानता, मुक्ति, स्वतन्त्रताको अर्थ देखाउने रहेछ । त्यसैले एकातिर युद्धको सौन्दर्यमुलक संवेदना हुने रहेछ त अर्कोतिर संर्घष प्रधान सौन्दर्य हुने रहेछ । त्यसैले समाजमा युद्ध संवेदना सँधै वृत्ताकार भएर घुमिरहेको हुने रहेछ ।

वृत्ताकार । अर्थात हिजो अर्कै आज अर्कै ।
आज अर्कै र भोली अर्कै ।

भर्खर एसएलआर नामको राइफल काँधमा हाल्दै गर्दा ऊ बेला जनयुद्धका दिमागी मानव ठानिएका नेताको भाषण हामीलाई सुनाइन्थ्यो । ती दिमागी भनिएका नेता थिए बाबुराम भट्टराई । बाबुराम भट्टराईको भाषणको एउटा अंश अहिले पनि चर्चामा यदाकदा आउँछ । उनी भन्छन्, नेतृत्वलाई विश्वास गरेर मर्न मार्न तयार हुने मान्छे हामीलाई चाहिएको हो । १६÷१७ वर्षको मान्छेलाई माक्र्सवाद के थाहा ? ती सबैलाई पढाएर के साध्य ? हामीलाई नेतृत्वप्रति विश्वास गरेर मर्न र मार्न तयार युवा चाहिएको हो ।

हो रहेछ । हाम्रो पार्टीको नेतृत्वलाई मृत्यु र हिंसाको नदीमा अन्धभक्त बनेर हामफाल्ने भेडा सिपाही चाहिएको रहेछ । उक्त भाषणले यही कुरा प्रमाणित गर्छ ।

२०५९ चैतको कुरा । माझी मुक्ती मोर्चाको राष्ट्रिय सम्मेलन सर्लाहीमा भएको थियो । सम्मेलनमा प्रचण्डको अनुहार देखेपछि अब मरिएछ भने पनि प्रचण्डलाई प्रत्यक्ष रुपमा देखियो अब त अरुले बर्णन गरेको स्वर्गमा पुगिन्छ भन्नेमध्य एक थिए जीवन साथी आनन्द कुमार थापा । आनन्दले प्रचण्डलाई देखेपछि भयको सबै सीमा पार गरेर स्वर्गको मोहको तलाउमा पौडन थालेका थिए । र, त्यही तलाऊमा उनको अन्त्य भयो । शत्रुको बन्दुकले जितेपछि आनन्दले हार्यो र शहीद भयो । प्रचण्ड देखेको केही महिनामै उ स्वर्गको पाहुना भयो । यस्तो बेलामा पनि मभित्र संवेदना जागेन ।

युद्धले संवेदना होइन, घृणा र आक्रोश जगाउने रहेछ । प्रतिवद्ध योद्धामा संवेदना नजाग्ने रहेछ । मभित्र पनि जागेन । यस्ता हजारौं कार्यकताको विश्वास र बलिदानको उपलब्धी पनि हो गणतन्त्र । मलाई युद्धको सामान्य चरित्र मात्र लाग्यो । न भाव पैदा भयो न उत्तेजना ।

पछि थाहा भयो, युद्धमा प्रेमको परिभाष अलग हुने रहेछ । बलिदानको परिभाष अलग हुने रहेछ । त्यागको परिभाषा अलग हुने रहेछ । दया, माया करुणाको पनि भिन्दा भिन्दै परिभाषा लगाउन सकिने रहेछ युद्धको मैदानमा । युद्ध मैदान यस्तो ठाँउ रहेछ जहाँ उभिरहदा सारा संसार नै अलग लाग्ने रहेछ । युद्धमा जबरजस्ती भर्ना गरिएका र पंक्तिबद्ध उभ्याएर मृत्युको कारखानामा भुटिन तयार धेरै अनुहार सम्झदा त्यो बेला छेकेको संबेदनाले अहिले पनि पोल्छ । जुँगाको रेखी नबसेका किशोर र छातीमा गाँठा नपलाएका किशोरी मानै र मर्न तयार भएर मोर्चावद्ध हुँदा नपलाएको संवेदनाले अहिले पोल्नुको खास अर्थ त छैन । तर अनुभवको अर्थ हुने रहेछ ।

मानब हृदयको सबैभन्दा पुरानो कहानी संबेदना हो जस्तो ऊबेला कहिल्यै लागेन । रगत बगेको मैदानमा संबेदना जाग्नुको बदला घृणा र आक्रोस उत्पन्न हुन्छ । लाशहरुको खात माथि खात हेरेर भाषण सुन्दा मैंले संबेदनाको अनुमान कहिल्यै गरिन ।

२०६१ बैशाख १ गते माओवादीका होनहार कार्यकर्ता खानीगाउँका बद्री ढकाल, मुकुन्द अधिकारी मारिए । राज्यले उनीहरुको हत्या गर्यो । ३१ गते गाउँकै नवराज ढकाल र विष्णुप्रसाद अधिकारी अर्को हत्याको खबर आयो । अहिलेको सुर्यगढी गाँउपालिका चोकदे बजारबाट जम्मा एक किलोमिटरको दूरीमा भएको त्यो हत्याकाण्डले संवेदनाको तह त छोयो तर अर्थहीन । जसको घरमा खाना खाइएको थियो तिनी मारिए, जसका आँगनमा नाचिएको थियो तिनी पनि मारिए । युद्धले सबै भोग्न सिकाउने रहेछ । क्रुर हुने सिकाउने रहेछ । युद्धबाट सिकेका क्रुरताका पाठहरुमा संवेदनाको कुनै शीर्षक नहुने रहेछ । संवेदना छातीको दाहिने वा देब्रे कुनोमा छामेर प्राप्त हुने होइन रहेछ । गिदीमा संवेदना नभए पछि विचार र भावनाले संवेदना उत्पादन गर्ने होइन रहेछ ।

गाडिएको लासहरुको छेउमा उभिएर बदलाको प्रतिरोधको रुपमा लिंदा कहिल्यै संबेदना थाहा भएन । प्रेम र हिंसा बीचको पर्खालमा उभिएर हेर्दा ठ्याकै बिपरीत तस्वीर आउने रहेछ । नक्सा निकालेर युद्ध मोर्चामा जाँदै गर्दा यता सम्झौताका बुँदाहरु बुझिएको खवर पाउँदा पलाएको भावना अनेक हुँदोहरेछ । त्यसपछि मान्छेले संबेदना र भावनाको अर्थ खोज्दोरहेछ ।

युद्ध रोकियो । भावना रोकिएन ।
युद्ध रोकियो र संवेदनाको खेती शुरु भयो ।
अचम्मको विरोधाभाष रहेछ अनुभव ।
कसैले युद्ध बेचे । कसैले योद्धा बेचे ।
म बेचिएको युद्धको नबेचिएको संवेदनाभित्र आफूलाई खोज्न प्रयास जो गर्दैछु ।