कोरोनाका कारण जापानका २१ प्रान्तमा तेस्रो पटक आपतकाल - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरोनाका कारण जापानका २१ प्रान्तमा तेस्रो पटक आपतकाल


काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क़ोरोना भाइरस कोविड(१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले यसको नियन्त्रणलाई कडाइका साथ पालना गर्न १३ प्रान्तहरुबाट २१ प्रान्तहरुमा तेस्रो पटक आपतकाल थप गरिएको बताएका छन ।

आपतकाल थप गरिएका प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन । कोरोना भाइरस विज्ञ समितिले आपतकाल थप गर्न अनुमति दिएसंगै अगस्ट २७ तारिकदेखि सेप्टेम्बर १२ सम्मका लागि ती ८ प्रान्तमा आपतकाल थप गरिएको हो ।

जापानभरिमा दैनिक औषतमा २५ हजारभन्दा माथि कोरोना संक्रमित भैरहेको र भाइरसको डेल्टा भेरियन्टको सक्रमण तिव्र गतिमा फैलिइएकोले त्यसको नियन्त्रणका लागि भन्दै सरकारले आपतकाल लगाउदै आएको छ । जापानका ४७ प्रान्त मध्य हाल ३३ प्रान्तहरुमा पूर्ण र अर्ध आपतकाल लगाईएको छ ।

यसअघि पनि टोकियो सहित चिवा, साइतामा, खानागावा, ओकिनावा,ओसाका, इबाराकी,तोचिकि, गुन्मा,सिजुओका, क्योतो, हयोंगो र फुकुओका गरि १३ प्रान्तमा पनि सेप्टेम्बर १२ सम्मका लागि आपतकाल र १६ प्रान्तमा अर्ध आपतकाल लगाउदै आएको छ । आपतकाल थप गरि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरि संक्रमणलाई नियंत्रणमा राखिराख्नका लागि प्रान्तहरुले केन्द्र सरकारलाई आग्रह गरेपछि प्रधानमन्त्री सहित सरोकारवाला निकायसँग छलफल गरि आवश्यक निर्णय लिएको अधिकारीहरुले बताएका छन ।

अधिकारीहरुले रेष्टुरेन्टहरु र बारहरुलाई मध्यपान सेवा बन्द गर्न सो नियमलाई कडाइका साथ पालना गर्न भनिएको छ । त्यसै गरि शपिंग मल र मानिसहरुको जमघट हुने अनुमति दिईएका क्षेत्रमा मानिसहरुको संख्यालाई सीमित गर्ने समेत योजना छ। तर जापानले गरेको आपतकाल अरु देशहरुमा लगाइएको कडा बन्दाबन्दी जस्तो छैन।

अस्पतालहरूमा बिरामीको चाप उच्च भएपछि अस्पताल प्रशासन नै तनावमा रहेका छन । संक्रमितहरु कहाँ र कसरी संक्रमित भए भन्ने कुराको समेत जानकारी नभएको पाएपछि अझै समस्या परेको स्वास्थ्यकर्मीहरु बताउँछन ।

अधिकारीहरुले शिक्षालयमा कोरोना रोकथामका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेपनि बलपूर्वक बन्द गराउन नसकिने बताएका छन । शिक्षालयमा कार्यरत शिक्षक कर्मचारीलाई खोपमा पहिलो प्राथमिकता दिने र भाईरस टेष्ट किट प्रदान गर्ने योजना रहेको बताएका छन ।

प्रधानमन्त्री सुगाले दैनिक संक्रमणको दर उच्च हुदै गएकोले हरेक दिन जो कोहिपनि संक्रमित हुन सक्ने भएकोले सचेत र सजग रहनका लागि समेत सबैलाई आग्रह गरेका छन । बुधवार पनि जापानभरिमा संक्रमित हुनेको संख्या २४ हजार ३ सय २१ रहेको छ । राजधानी टोकियोमा ४२२८ नया संक्रमितहरु थपिएका छन भने देशभरिमा मृत्यु हुनेको संख्या ४४ जना रहेको बताइएको छ ।