चिनियाँ अर्बपति ज्याक माले सबैभन्दा धनी व्यक्तिको ताज गुमाए - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

चिनियाँ अर्बपति ज्याक माले सबैभन्दा धनी व्यक्तिको ताज गुमाए


एजेन्सी । चीन सरकारले अनुसन्धानको दायरा कसेपछि चिनियाँ अर्बपति व्यापारी ज्याक मा ले चीनको सबैभन्दा धनी व्यक्तिको ताज गुमाउनु परेको छ ।

मंगलबार प्रकाशित पछिल्लो प्रतिवेदन अनुसार, अनलाइन व्यापार गर्ने कम्पनी अलीबाबामार्फत् संसारभर चम्किरहेका ज्याक चीनको सबैभन्दा धनी व्यक्तिको स्थान गुमाउँदै चौथो स्थानमा पुगेका छन् ।

ज्याक मा र साथिहरुले सृजना गरेको यो साम्राज्य चिनियाँ शासकको वक्रदृष्टि परेसँगै ओरालो लाग्न थालेको हो । ज्याक र उनको परिवारले २०२० र २०१९ मा हुरुन ग्लोबल रिच लिष्टमा चीनको सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थान हासिल गरेका थिए ।

तर यस पटकको सूचीमा बोतलबन्द पानी बनाउने नोङ्गफू स्प्रिंगका झोंग शानशान ज्याकलाई पछि धकेल्दै पहिलो स्थानमा पुगेका छन् भने दोस्रो र तेस्रो स्थानमा पनि क्रमशः टेनसेन्ट होल्डिङ्ग्सका पोनी मा तथा इ–कमर्शका स्टाइन्ड पिन्डडियोडोका कोलिन हुआंग रहेका छन् ।

ज्याक मा र चिनियाँ नियामक निकायबीच गत अक्टूबरदेखि नै मनमुटाव शुरु भएको थियो । नियामक निकायले एन्टी–ग्रुप र अलीबाबामाथि एन्टी ट्रस्टको मुद्दा लगाएका थिए । यो सँगै अलीबाबाको शेयर ओरालो लाग्न थालेको बताइएको छ ।

चिनियाँ नियामक निकायसँगको मनमुटावसँगै तीन महिना सार्वजनिक रुपमा नदेखिएका ज्याक गत जनवरीमा एक भिडियोमार्फत् देखा परेका थिए ।