लोमान्थाङमा अशान्तिका तरंगहरु - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

लोमान्थाङमा अशान्तिका तरंगहरु


-रुचि श्रेष्ठ ।

लोमानथाङ (मुस्तांग) । बितेका दुई बर्ष शान्त र स्थीर रहेको जोमसोम बजार फागुन महिनाको आधाआधीदेखि तरङिगत हुन थालेको छ । अहिले कोरोनाको त्रास घटेका छ । साथसाथै, जाडो पनि घटने क्रममा छ । मुस्ताङ्बासीका लागि एउटा रमाइलो संयोग हो यो । बिशेष गरी अन्नपूर्ण सर्किटमा ट्रेकका लागि आउने यूरोपेली र अमेरिकी पर्यटकले जमाएको जोमसोम बजारलाई हिजोआज मुक्तिनाथ दर्शनगर्न आउने नेपाली र भारतीय तीर्थयात्री र पर्यटकले पनि तताएको छ । रेष्टूरेण्टका मेन्यूहरुमा दाल मखानी, परौठा र चिकेन–टिक्कामसाला सजिलै भेटिन्छन । अर्थशास्त्रको मांग र आपूर्तिकोसूत्र आखिर जुन बजारमा पनि लागु भइ नै हाल्छ ।

होटल ब्यवसायीहरुलाई भारतीय पर्यटकको चित्त बुझाउन कहिले कही अप्ठ्यारो पर्ने रहेछ । तातोपानीका एक होटल ब्यवसायीले भने, ‘एक कप चिया चारजानाले बाँडेर खान्छन । हामीले चारवटा कप धुनुपर्छ ।’ यस्तैमा त्यहाँ चारजना नेपाली बाइकर्स् बास बस्न आइपुग्छन । उनीहरु पोखराबाट जोमसोम हँुदै माथि ‘कोराला नाका’ सम्म पुग्न हिडेका । उनीहरुले होटलमा छिर्ने बित्तिकै चारवटा चीसो बियर अर्डर गरे । धेरै बाइकर्सहरु अचेल कोराला नाका सम्म पुग्ने गरेका रहेछन । केही माथि लेतेमा थकाली आमैले भनिन, ‘भर्खर दुईजना खैरे आएका थिए । दुई जनालाई एउटा कोठाको एक हजार भनेको, कस्तो महंगो भन्दै हिंडे ।’

नेपाली जनतालाई पो महंगोतिर्ने बानी नै परिसक्यो । यसै महंगो, उसै महंगो । हामी महंगीको तुलना महंगी सँगै गर्छौ र चित्त बुझाउँछौ । नेपाल बाहिरका पर्यटकहरुले त यहाँको महँगीलाई आफ्नो मुलुकको महंगीसंग तुलना गरेर हेर्छन होला ।

जोमसोमपछि कागबेनी हुदै माथि तिर लागेपछि माथिल्लो मुस्ताङ्को यात्रा शुरु हुन्छ । यही देखि शुरु हुन्छ-नाङ्गा चट्टानी पहाड र त्यसमा खोपेर बनाइएका गुफाहरुको दृष्य । पुरातत्वविद्हरुका अनुसार यहाँ भेटिएका गुफाहरु बढीमा तीन हजार वर्ष सम्म पुराना छन । प्रकृतिले बनाएका मूर्त चट्टानी पहाडहरु अमूर्त आकृतिहरुले भरिएका छन । अमूर्त कला अर्थात एब्सट्रयाक्ट आर्टलाई बीशौं शताब्दीको आधुनिक र उत्तर–आधुनिक चिन्तनको अभिव्यक्ति भनिन्छ । यतिबेला हामी गुडीरहेको मोटरमा थियौं । यहींबाट हामीले प्रकृतिले पुरातनकाल देखि आफनै हातले रच्दै आएको अमूर्त चित्रहरुआफ्नो चारैतिर छरपष्ट देखिरहेका थियौं ।

बेलुका अध्याँरोमा लोमान्थाङ् पुग्दा कहाँ पुगियो, कहाँ पुगियो जस्तो भएथ्यो । बिहान गाउँ डुल्दै जादा लोमान्थाङ्का सा–साना बाटाहरु, ती बाटाहरुमा घाटीमा झुण्ड्याइदिएको घण्टी बजाउदै हिड्ने गाई र चौरीहरु, ढुङ्गा र माटाका सेता घर र पर्खालहरु, घरको छानामा वरीपरी टन्न सुकाएका दाउरा, रङ्गी–चङ्गी झ्याल र ढोकाहरु ः हेर्दै जाँदा कतै म थ्री डी सिनेमा त हेरिरहेको छैन ? जस्तो लाग्यो । एकै छिनमा लेक लागेर टाउको दुख्न थाले पछि पो थाहा भयो, म समुद्री सतह देखि ३८४० मीटरको उँचाइमा रहेको लोमानथाङ् मै रहेछु ।

त्यति नै बेला सम्झे, लोमान्थाङ् त नेपालमै छ नि । यो सम्झना आउनासाथ टाउको दुखी रहदा पनि म एक्लै मुसुक्क हाँसे । लोमान्थाङ् नेपालमा हुनुले यति बेला मेरो लागि पाँचवटा अर्थ राखेको थियो । एक, मैले यहाँ आउन प्रवेश शुल्क तिर्नु परेको थिएन । दुइ, यहाँ दालभात खान पाएको थिएँ । तीन, दालभात खाएको पैसा नेपाली रुपियाँमै तिर्न पाएको थिएँ । चार,आफनो घर परिवार र आफ्ना साथीभाईलाई नेपाल टेलिकमको सिम प्रयोग गरेर आफनो हाल–बेहालसुनाइरहेको थिए । र पाँच, लोमान्थाङ्गीको कथा नेपाली भाषामा सुन्न पाएको थिएँ । अतिथि देवो भव भनिने हाम्रो संस्कार माथिल्लो मुस्ताङ्को महत्वपूर्ण बस्ती, लोमान्थाङ्मा झन बढी छर्लङ्ग देखियो । लेक लाग्यो भन्ने बित्तिकै लसुनको सुप ल्याइदिइन साहुनीले ।

लोमान्थाङ्, उबेलाका मुस्ताङ्गी राजाको दरबार क्षेत्र भएको कारण सानो केन्द्र थियो । अहिले पनि दरबार ऐतिहासिक संरचनाका रुपमा नै रहेकोछ । राजा छन । उनीसबैधानिक रुपमा होइन, आलंकारिक रुपमारहेका छन । तर, राज–परिवारबाटजनताले कुनै प्रकारको राजनीतिक उत्तरदायित्वको अपेक्षा राखेका छैनन । यहाँका पाकाहरु राजपरिवारलाई धर्म र संस्कृतिसँग जोडेर हेर्नेगर्दछन ।

लोमानथाङ्बाट करिब बीस किलोमिटर माथितिर लागेपछि ४६६० मिटरको उचाइमा देखिन्छ : नेपाल–चीन सीमानामा रहेको बहुचर्चित कोराला नाका । नेपाल–चीन बीचको सबै नाकाहरु मध्ये मानसरोवर पुग्ने सबैभन्दा छोटो दूरीको नाका कोराला नाका हो भन्ने ज्ञान सबैलाईछ । मोटर–बाटो बाट झण्डै छ–सात घण्टाको दूरीमा छ कोरालाबाट मानसरोवर । नेपाल सरकारले सडक र बिजुलीको लाइन नाका सम्मै पुर्याइसकेको छ । कोरीडोर–रोड भनिएको यो सडकलाई पोखरा र त्यसपछि बुटवल हुदै सुनौलीसम्म जोड्ने योजना छ ।

उबेलामा भोटबाट नून ल्याउन यो नाका नै प्रयोगमा ल्याइने नाका प्रयोग गरिन्थ्यो । पछिल्लो समयमा यो नाकामा वर्षको दुई पटक एक–एक साताको लागि ब्यापारिक मेला लाग्ने गथ्र्यो । चीनियाँहरुले आयोजना गर्ने ब्यापारिक मेलामा त्यतिबेला मुस्ताङ्गीहरुको लागि मात्र नाका खोल्ने गरिन्थ्यो । कोरोना–लकडाउन सुरु भए यता ब्यापारिक मेलाको आयोजना भएको छैन । यो नाका पूर्णरुपले बन्द छ ।

सम्भावनाले भरिएको माथिल्लो मुस्ताङ्को समृद्धिको मूल ‘फुटाउन’ कोराला नाका खोल्नुको अर्को बिकल्प छैन । स्थानीय बासिन्दाले यो कुरा राम्रो सँग बुझेका छन । चीनले आफ्नो मातहतमा रहेको नाकाको वरपर लस्करै ठूला–ठूला भवनहरु बनाइसक्दा पनि नेपाल सरकारले एउटा चौकीसम्म खडा नगरेको देख्दा स्थानीयहरु नाका छिट्टै खुल्ने बिषयमा सशंकीत छन । त्यसैले होला सरकारका उच्च पदाधिकारी देखि प्रदेश र केन्द्रका मन्त्री सम्मका व्यक्तिहरु बेला बखत नाकामा पुगेका बेला स्थानीय जनताको मुर्झाउन लागेको आशामा संजीवनी बुटी छरेर आउछन । पदाधिकारी र राजनीतिक पार्टीका नेताहरु सबैको एउटै लय र एउटै सुर छ, ‘एक दिन त नाका पक्कै खुल्छ ।‘ तर, त्यो ‘एक दिन‘ कहिले र कस्तो परिस्थितिमा आउनेछ, कोही भन्न चाहदैनन ।

अहिले शान्त र सुषुप्त देखिने लोमान्थाङमा अशान्तिका तरंगहरु देखिन थालेका छन । त्यहाँ राज्यको उपस्थिति छैन । जहाँ राज्यको उपस्थिति कमजोर हुन्छ, त्यहाँ धर्मले समाज धानेको हुन्छ ।माथिल्लो मुस्ताङ्को यो एकान्त संसारमा धर्मप्रति आस्था र विश्वास राख्ने, अध्यात्मको खोजमा लाग्ने र यसैलाई जीवन–मार्गदर्शन बनाउने जीवनशैलीरहदै आएकोछ । मानिसका घर–घरमा दलाई लामा र बौद्ध धर्मगुरुका तस्वीर टांगिएका छन । तिनको पूजा गरिनु कुनै अस्वाभाविक कुरोहोइन । तर, यहाँका एकान्तबासीहरुको धर्म प्रतिको गहिरो आस्था र बिश्वास देखेर चीनको कम्युनिष्ट राज्य पध्दति सशंकित भयो भने त्यसलाई आश्चर्यका रुपमा लिनुपर्ने छैन ।

 

"

"