निर्वाचनमा नेपाली सेना - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

निर्वाचनमा नेपाली सेना


काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन अवधिभर त्रिभुवन विमानस्थल सहितका देशभरका विमानस्थल, कारागार, महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षामा नेपाली सेनालाई परिचालन गर्ने पनि निर्णय गरिएको छ । यसैगरी, विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा पनि सेनालाई दिने निर्णय गरिएको छ ।

निर्वाचनको ३० दिन अघिदेखि सेनाले निर्वाचन क्षेत्रमा पट्रोलिङ गर्नेछ । निर्वाचनमा सेनाको बम डिस्पोजल टोली परिचालन गरिने र मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरीमा सेनाका फौज तैनाथ राख्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ ।

यस्तै, २०७९ वैशाख ३० मा हुने निर्वाचनको सुरक्षाका लागि सरकारले महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू (कारागार र विमानस्थल) समेतको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ ।

यता, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ ।

कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा निर्वाचनमा भाग नदिने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको बताइएको छ ।