नेपालको पत्रकारिता विचौलियाहरुले चलाए : किशोर नेपाल - रुपान्तरण
 २०८१ असार २, शनिबार    

नेपालको पत्रकारिता विचौलियाहरुले चलाए : किशोर नेपाल


नेपाली जनताको चेतना स्तर बृद्धि गरी लोकतन्त्रका मूल्य मान्यताको संरक्षण र सम्बद्र्धन गर्न नेपालमा छापा र विद्युतीय संचारमाध्यम साथै पछिल्लो समय सामाजिक संजालमार्फत अनलाइन संचारमाध्यमहरु सक्रिय छन । सोही संचारमाध्यममा देशभर संचारकर्मी वा पत्रकारहरु क्रियाशील छन् । यीनै पत्रकारहरुको हक हितका लागि २०१२ साल चैत १६ गते स्थापित नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाइरहेको छ । महासंघमा करिब १३ हजार पत्रकार आबद्ध छन् । यसै शिलशिलामा पत्रकार महासंघका पूर्वअध्यक्ष अर्थात बरिष्ठ पत्रकार किशोर नेपालसँग रेडियो नेपालका लागि हरिशरण लामिछानेले गरेको कुराकानी :

नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस मनाइँदैछ, विगत र हालको पत्रकारितालाई कसरी मूल्याकंन गरिरहनु भएको छ ?

पत्रकारिताको विकासक्रमा म धेरै आशावादी छैन । किनभने हामीमा प्राविधिक विकास भएको छ । अन्तरिक्षबाट भ्रमण गरेर समाचारहरु आइरहेका छन् । मेरो पालामा फ्याक्स चलायन मुस्किल पर्दथ्यो । अहिले केही गर्नुपर्दैन हातमा एउटा मोबाइल भयो भने पुग्छ । आइफोन भयो भने डकुमेन्ट्री, टीकटक, टेलिभिजन कार्यक्रम बनिहाल्छन । तर यसले मलाई सन्तुष्टी दिंदैन । किनभने यत्रोबर्ष पत्रकारितामा विताएर पनि मेच्यूरिटीतर्फ जान सकेका छैनौं । दलहरुले आ–आफ्नो पत्रकारका संगठनहरु बनाएका छन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि धेरै विवादास्पद देखिएको छ । देशको राजनीतिमा जस्तै पत्रकारितामा पनि अतिसय खेलवाड भएको छ । यस्तो खेलवाडलाई रोक्ने कसले हो ? यसमा आचार संहिता राखेर यो गर्नु हुन्छ यो गर्नुहुँदैन भनेर नियन्त्रण गर्न अभाव खड्किएको छ ।

कुनै समय नेपालको पत्रकारिता प्रजातन्त्रको स्थापना र संरक्षणमा केन्द्रीत थियो । राजनीतिक बृत्तबाट पनि पत्रकारिता शुरु भएको देखिन्छ । राजनीतिक दलहरुले पनि आफ्नो सिद्धान्त र अनुकुल पत्रपत्रिका स्थापना गर्दथे । पन्चायती ब्यवस्थामा पत्रकारिता गर्न चुनौति थियो, पत्रकारले गोली खानुपर्ने अवस्था थियो । यो क्रम रोकिएको छैन, पत्रकारहरु जोखिममा छन् । त्यसैले नयाँ प्रविधि भित्रिएको अवस्थामा पत्रकारितालाई कसरी ब्याख्या गर्न सकिन्छ ?

तपाइँले भन्नुभएका सबै कुरा सही होलान । पंचायतकालमा पंचायतलाई हटाउन मिसन पत्रकारिता भयो होला । तर कुनै विषयमा फोकस गरेर कसैले लेख्यो भने त्यो मिसन पत्रकारिता होइन । पत्रकारितामा आर्थिक, शैक्षिक, राजनीतिक हुँदैन । पत्रकारिता पत्रकारिता नै हो । पत्रकारिताको इतिहास हेर्यो भने पत्रकारिता स्वतन्त्र नै छ । त्यहाँ राजनीति मुछिएको छैन । यहाँ त राजनीतिक कार्यकर्ता बनेर पत्रकारहरु देखिएका छन् । मैंले पचास बर्ष पत्रकारितामा जीवन खटाएको छु, कपाल फुलाएको छु । केही गर्न खोजिरहेको छु र गरिरहेको छु । त्यसैले म आफूले यस्तो योगदान दिएँ, उस्तो गरें भन्न चाहन्न । मैंले त केही पनि गर्न सकेको रहेनछु भन्न रुचाउँछु । अमेरिकन युनिभर्सिटीमा पढेका ठूला पत्रकारिताका ठेलीहरु, पत्रकारिताको सिद्धान्तहरु, मैंले सिकेका सीपहरु अहिले असान्दर्भिक भएका छन् । अहिले १० प्रकारको पत्रकारित नेपालमा चलिरहेको छ त्यो लोकतान्त्रिक वा गणतान्त्रिक संस्कृत अनुरुप छैनन् । हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य भनेको पत्रकारहरुको न्यायिक निकाय प्रेस काउन्सिलबाट न्यायिक व्यक्तित्वहरुलाई हटाएर सर्वसाधारणहरुलाई खुल्ला गरियो । म त्यसको पक्षमा छैन । त्यो एउटा न्यायिक निकाय थियो काउन्सिल । तर त्यसलाई वितरण संपरीक्षण गर्ने बनाइयो । त्यसैले हरेक ठाउँमा सरकार हाबी भइरहेको छ । अहिले सरकारको वनरसीपमा चलेको संचारमाध्यमहरु स्वतन्त्र देखिए पनि त्यसभित्र अंकुशहरु छन । नेगेटिभ कुरालाई हेर्नै खोजिएन, पोजेटिभ कुरालाई मात्र हेर्न खोजियो । आज जुनसुकै संचारमाध्यममा हेरियो भने त्यहाँ मान्छेहरुको भीड देखिन्छ । रिपोर्टिङ गर्न जाने वा जागिर खान जानेहरुको भीड देखिन्छ । उनीहरुमा कुनै योग्यता छ ? पहिले त्यसमा चासो हुने गर्दथ्यो । अहिले त जो मन्त्री हुनुहुन्छ, जो आधिकारिक व्यक्ति हुनुहुन्छ उहाँले जति जनालाई भर्ना गरे पनि हुन्छ ।

प्राविधिक रुपमा पत्रकारिता अघि बढेपनि कन्टेन्ट राम्रो देखिदैन । न्यूज र पक्षधरता अलिकति बढेको देखिन्छ, त्यस्तै भएको हो ?

अलिकति होइन धेरै नै बढेको देखिन्छ । पक्षधरता बाहेक अरु केही पनि छैन । म कहाँ हरेक विहान पाँच सातवटा अखबार आउँछन् । त्यसलाई हेरेर मैैंले दिनभरीको योजना बनाउनै सक्दिन । संसारमा अखबार पढेरै आफ्नो जिम्मेवारी र योजना तय गर्ने गर्छन । तर नेपालमा त्यो देखिदैन ।

त्यसोभए न्यूज भन्दा भ्यूज बढी भएको हो कि ?

हामी त्यसरी आफैंले पक्षधरतामा लाग्यौ भनेर भन्न मिल्दैन । किनभने पत्रकारिताको तालिम नै नभएको, पत्रकारितको ‘प’ पनि नबुझेको मान्छेहरु भटाभट पत्रकार भनिरहेका छन् । क्यामेरा र बुम बोकेर हिडिरहेका छन् । नेताहरुसँग अंकमाल गरेर हिडिरहेको देखिन्छ । त्यसैले त्यसमा निष्पक्षता हुन्छ ? कुनै व्यक्ति कांग्रेस वा कम्युनिष्ट हो भनेर लाल्छन गर्न सजिलो छ । तर त्यो मान्छे कति निष्पक्ष छ त्यो बुझ्नुपर्छ । अहिले दुईचार पैसा हुने बिचौलियाहरुको हातमा पत्रकारिताको स्वामीत्व गयो । अहिले निस्किने अनलाइनहरुमा पैसा कसले हाल्यो होला । आफैं अनुमान गर्नुहोस । टिलिभिजन चलाउन वा रेडियो चलाउन गुणात्मकता चाहियो, स्तर चहियो । म के भन्छु भने गुणत्मकता चाहियो । संचारले जे गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन ।

यहाँले भन्नुभयो कि जोकोही ब्यक्ति पनि पत्रकार भइरहेका छन् । योग्यता विनानै पत्रकार भइरहेका छन् । यसले निष्पक्षता र तटस्थता देखिदैन । यस्तो अवस्थामा राज्यको भूमिका कहाँ देखिन्छ ?

राज्यको भूमिका के रहन्छ भने गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पहिले स्वायत्तता प्रदान गरोस । त्यसको स्वामीत्व प्रतिनिधि सभामार्फत जनतालाई हस्तान्तरण गरोस । त्यसपछि सबैतिर यो मेरो रेडियो, यो मेरो पत्रिका वा मेरो टेलिभिजन नभनीकन स्वामीत्व दियोस । तर राजनीतिक हस्तक्षेप नहोस । वालुवाटारमा गठबन्धनका नेताहरु ढोका थुनेर बसे भने हामी चौतारामा बसेर समाचार लेखिहाल्छौं । जनतालाई गुम्राहमा राखिरहेका छौं । त्यसले अर्थतन्त्र पनि प्रभावित भयो । संचारको दुरुपयोग भयो । विचौलियालाई पत्रकारिताको मालिक मान्नुपर्ने वा नमस्कार गर्नुपर्ने अवस्था आयो । पत्रकार महासंघ संचार मन्त्रालयको कुनै प्रशासनिक इकाइ जस्तो हुनुहुँदैन । महासंघ त निर्वाचित संस्था हो, सरकारको अंग बन्नु हुँदैन । महासंघले पत्रकारहरुले पाएको स्वायत्त अधिकारलाई कार्यान्वयन गर्नुपर्छ । सबै पत्रकारहरु पत्रकार महासंघमा बसेपछि हाकिम बन्न पाइन्छ भनेर हिडेका छन् । बर्षमा एक पटक स्थापना दिवस मनाएर जिम्मेवारी पूरा हुँदैन ।

कुनैपनि पेशामा स्थायित्व हुन त्यसको पेशागत मर्यादाहरु पालना गर्नुपर्छ भन्ने मान्यता छ । त्यो मान्यताले अवरोध आएको वा प्रकाशकहरु मोटाउँदै जाने र पत्रकारहरु दुब्लाउँदै जाने अवस्थाले पत्रकार स्वतन्त्र हुनै सक्दैन भन्ने प्रश्न पनि पेचिलो भएको छ नि ?

पत्रकार मोटाउने र दुब्लाउने भन्ने हुँदैन । निष्पक्ष पत्रकारहरु, काम गर्ने वा इमान्दार पत्रकारहरु दुब्लाए होलान नत्र पत्रकारहरु दुब्लाएको मलाइ थाहा छैन । पत्रकारहरु त ठेक्का मिलाउन मन्त्रालय धाइरहेका छन् अनि कसरी दुब्लाए ? पत्रकारहरुले राजनीतिक दलाली गर्न छाड्नुपर्छ । पत्रकारले पत्रकारिता मात्र गर्नुपर्छ ।

पत्रकारितामा गुनासा र व्यथितिहरु छन् । पत्रकार महासंघमा पनि सुद्धीकरणको कुरा आयो, अब सकरात्मक कसरी हुन सकिएला वा कसरी सुधार गर्न सकिएला ?

मैंले सबै कुरा सकरात्मक गरिरहेको छु । मैंले भनेको कुरा होइन भने म कारवाही भोग्न तयार छु । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने भनाइ छ । सँधै कालो बादल मात्र भयो भने चाँदीको घेरा रहन सक्दैन । त्यसैले बादल हटाउनु पर्यो, रसिलो–भरिलो पृथ्वी बनाउनु पर्यो । तब न पृथ्वी हरियो हुन्छ ।

जब सामाजिक संजालको उदय भयो त्यसतर्फ आमसंचार उन्मुख भइरहेको छ । यसमा अंकुश लगाउने कुराहरु पनि आइरहेको छ । यो नागरिक अभिव्यक्तिको मन्च हो र यसलाई स्वतन्त्र नै राख्नुपर्छ भनिएको छ । परम्परागत रुपमा चलेको मिडिया भन्दा सोसल मिडिया बढी स्वतन्त्र छन् भनिएको छ । के यसमा स्वतन्त्रता भन्दा पनि स्वच्छन्दता बढेको हो ?

म त नेपाल पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको अनुयायी हुँ । उहाँ के भन्नुहुन्थ्यो भने स्वतन्त्रताको कुनै सीमा हुँदैन र यो स्वच्छन्दतासम्मै जान्छ । त्यसैले स्वतन्त्रतालाई हामीले लिमिट गर्न सक्दैनौं र गर्न पनि हुँदैन । आमसंचार माध्यमहरु सामाजिक संजालसँग डराउनु पर्दैन । आफ्नो क्वालिटी बढाऔं न । क्वालिटी बढ्यो भने चुनौति हुँदैन । सामाजिक संजाल भनेको आधिकारिक होइन ढर्रा हो । ढर्रालाई टिपेर राखेपछि मान्छेलाई मन शान्ति पनि हुन्छ । फेसबुक र ट्वीटरबाट क्रान्ति हुन्छ भन्ने मानसिकतामा हामी बाँचिरहेका छौं । पत्रकारितालाई स्वच्छन्दताको हदसम्म विकसित गर्नुपर्छ । पत्रकारितालाई सत्ताले अहिलेसम्म घाँटी निमोठिरहेको छ । लेकतान्त्रिक गणतन्त्रमा प्रेस काउन्सिललाई पूर्व न्यायधीशहरुको अध्यक्षतामा संगठित गरियोस ।