नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प तत्काल हटाउन माग - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प तत्काल हटाउन माग


काठमाडौं । गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गेसोका संरक्षक पदम बहादुर गुरुङले नेपाली भुमिबाट तत्काल ब्रिटिस क्याम्प नहटाएसम्म सार्वभौमसत्ता नरहने टिप्पणी गरे ।

गत चैत्र ९ गते आफु नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउनेबारे निवेदन दर्ता गर्न सर्वोच्च अदालत गएको सुनाए । अदालतले आफुहरुको जायज मुद्दा दर्ता गर्न नमानेको गुनासो गर्दै उनले भने,‘नेपालको संविधानविपरित नेपाल, भारत ब्रिटिशको बीचमा गोप्य रुपमा त्रि–पक्षीय सन्धी भएको रहेछ । अदालतमा गएपछि मात्र रहस्योघाट्न भयो । नेपाल, भारत र ब्रिटिशको बीचमा त्रिपक्षीय सम्झौता भएको छ, यो मुद्दा दर्ता गर्न मिल्दैन भनेपछि हामी आश्चर्यमा पर्यौं ।’

उनले बेलायतले नेपालीहरुलाई युद्धमा प्रयोग गर्ने तर युद्ध सकिएपछि नेपाल–भारतको बोर्डरमा ल्याएर छाड्ने गरेको सुनाए । नेपाली युवाहरुले पटक–पटक बेलायतको पक्षमा युद्ध गर्दा पनि नेपालीलाई केही सुविधा नदिएको उनको गुनासो छ । अधिवक्ता बेलबहादुर गुरुङले देशमा धेरै परिवर्तत भएपनि बेलायत र नेपालको सन्धी पुनरावलोकन नगरेको भन्दै सरकारसँग गुनासो गरे । नेपालले आफ्ना युवा शक्तिलाई विदेश पठाउने गरेको भएपनि कुनै पुनरावलोकन नगरेर युवाहरुलाई दुरुपयोग गरेको गुरुङले आरोप लगाए ।

उनले भने,‘यसलाई युवा तस्करी भन्न मिल्नपर्ने हो ।’ बेलायतमा नेपाली युवाहरुले रगत बगाएर बलिदान गरेपनि त्यसको बदलामा केही नपाएको दुखोसो पोखे । युवाहरुको यस्तो विषयलाई लिएर सर्वोच्च अदातलमा जादा पनि मुद्दा दर्ता नभएको भन्दै उनले आक्रोस पोखे । ‘न्यायापालिकाले हामीहरुको जायज माग सुनुवाई भएन त्यसमा हाम्रो आपत्ति छ ।’ उनले भने,‘बाबुआमा नेपालमा बसेका छन्, छोराहरु कहाँको युद्धमा लडिरहेका छन्, पैसा मात्र ठुलो कुरा होइन् ।’

कार्यक्रममा बोल्दै डा.सुरेन्द्र केसीले गेसोले उठाएको मुद्दालाई सर्वोच्च अदालतले दर्ता नगर्नु निकै गम्भिर विषय भएको उल्लेख गरे । दोस्रो विश्वयुद्धमा २ लाख नेपालीले ब्रिटिशको पक्षबाट युद्ध गरेको स्मरण गराउँदै डा.केसीले विश्वयुद्धमा तीमध्ये करिब ७ हजार नेपालीले सहादत प्राप्त गरेको पनि बताए । उनले भने,‘नेपाल सरकारले यो विषयमा औपचारिक आवाज ननिकाल्नु दुःखद् हो ।’ केसीले विश्वभर ६२ लाख नेपाली युवायुवतीहरु विभिन्न काम गरिरहेको सुनाए । उनले ३ हजार भन्दा केही बढिमात्रै नेपाली अहिले ब्रिटिश सेनामा कार्यरत भएको भन्दै उनले यो त सामान्य कुरा भएको सुनाए ।

उनले भने,‘३५ सय भनेको कुनै औचित्यको संख्या होइन् । पाकिस्तान, चीन, रसिया, नेटोसँग नेपालको कुनै दुश्मनी नभएपनि युवाहरु लड्नुपर्ने बाध्यता छ ।’ केसीले विश्वभरका सबै राष्ट्रहरुलाई नेपालले एउटै आँखाले हेर्ने गरेको उल्लेख गर्दै उनले नेपालको ब्रिटिशसँग विशेष सम्बन्ध रहेको जिकिर गरे ।

लाहुरेहरुको घरपरिवारले लगाएको सुकिलोमुकिलो देखिने गरेपनि उनीहरुको वास्तविक पीडा भने अर्कै भएको उनको भनाई थियो । सुरुवातमा जनजातिका छोराहरुमात्रै लाहुरे बन्ने किताबमै प्रस्ट लेखिएको भएपनि पछि अन्य जातिहरुको पनि ब्रिटिश सेनामा सहभागिता बढ्दै गएको उनले स्पष्ट पारे ।

डा. केसीले नागरिककले कतिपय विषयमा असन्तुष्टि राखेपनि सरकारले आफ्नो किसिमले समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिए । नेपाल सरकारले ब्रिटिश सरकारसँग वार्ता गरेर अहिले गेसोले उठाएको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए ।

बेलायतमा अहिलेपनि नेपालीहरुको संख्या धेरै रहेको उल्लेख गर्दैै उनले उनीहरुले राखेका जायज माग पुरा गर्न सरकारले पहल गर्नेमा आफू विश्वस्त रहेको बताए । उक्त विषयमा ब्रिटेनले नबुझेको हो भने नेपालले बुझाउनपर्ने उनको धारणा छ ।

उनले सरकारलाई ब्रिटिशसँग अविलम्ब वार्ताको लागि आवश्यक कदम चाल्नपनि आग्रह गरे । नेपालीहरुले बेलायतमा गरेको दुःखको क्षतिपुर्ति दिनुपर्ने भन्दै उनले उक्त समस्या सधैंका लागि सुल्झाउन सरकारसँग आग्रह गरे ।