नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

 नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन् ।

प्रवक्ता भट्टले बढ्दो सोधानान्तर घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति प्रभावित हुँदै गएकाले बिलासिताका वस्तु आयातमा रोक लगाउन बाध्य भएको बताए । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनका लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही बस्तुको आयातमा रोक लगाउन परेको प्रवक्ता भट्टले स्पष्ट पारे ।

उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताए । राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनका लागि एउटा उपकरण प्रयोग गरिएको बताए ।

उनले बाहिर हल्ला आए जस्तो अर्थतन्त्रमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । राष्ट्र बैंकसँग ६–७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको पनि बताए । कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र आयात वृद्धिसंगै विदेशी मुद्रा सञ्चिति र शोधनान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाई छ ।

त्यस्तै, प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे । श्रीलंका कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्थामा पुगेको प्रवक्ता भट्टको भनाइ छ । उनले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताए ।

विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनका लागि सरकारले दीर्घकालको लागि सोच्नु पर्ने अवस्था आएको बताए ।