काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरू भएको बताए ।
तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको उनको जिकीर छ । नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी माओवादीले कब्जा गर्ने उनको भनाई छ ।
प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेता समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।
देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धीलाई नष्ट गर्न खोजिरहेको आरोप लगाउँदै प्रचण्डले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए । प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओवादीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएरु अघि बढ्ने बताए । सबै माओवादीहरु एकतावद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीलाई परास्त गर्न सकिने प्रचण्डको तर्क छ ।