मेलिना र सञ्जिबको विवाह : चर्चाको भिन्न पाटो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

मेलिना र सञ्जिबको विवाह : चर्चाको भिन्न पाटो


काठमाडौं । चर्चित गायिका मेलिना राई विवाह गर्ने तयारीमा लागेकी छन् । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उनले सार्वजनिक गरेसँगै उनको विवाहको विषयले चर्चा पाएको छ । उनले प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी छन् ।

झापा विर्तामोडका सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। मेलिना र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख छ । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन । तर उनको विवाहको प्रसंगले भन्दा पनि अन्तरजातिय विवाहको प्रसंगले माहोल तताएको छ । अन्तरजातीय विवाहलाई लिएर सामाजिक सञ्जालमा सकरात्मक र नकरात्मक दुवैखाले बहस भइरहेको छ ।

नेपाली समाजले अझैसम्म अन्तरजातीय विवाहलाई सकरात्मक रुपमा लिन नसकिरहेको अवस्थामा गायिका मेलिना र सञ्जिवबीचको इन्गेजमेन्टलाई लिएर बहस गर्नु सामान्य हो ।

लैगिक एवं जातीयताको विषयमा सामाजिक र राजनीतिक दुवै तवरबाट बहस भइरहेका बेला अन्तरजातीय प्रेम विवाह गरेर प्रेम गर्नेहरुका लागिसमेत उनीहरु उदाहरणीय बनेका छन् । तर मेलिनाले अन्तरजातिय विवाहका बारेमा नकरात्मक टिप्पणी भएकोप्रति दुख ब्यक्त गरेकी छिन् । उनले आफू किराँतकी छोरी भए पनि जात व्यवस्था मान्न नसक्ने प्रतिक्रिया दिएकी छन् ।

सिलापत्र अनलाइनसँग उनले भनेकी छन्,‘मैले त कहिल्यै जात व्यवस्थालाई मानिनँ । मेरो लागि व्यवहार ठूलो कुरा थियो । कलाकारले जात व्यवस्था मान्नु गलत कुरा हो । मैले किन उहाँसँग जीवन बिताउने निर्णय लिएँ त ? कारण, मलाई उहाँका हरेक व्यवहार र काम मनपर्थे । मैले आफ्नो जीवन साथीको छनोट गरेको हुँ, जुन मेरो अधिकार हो ।’

उनले अगाडि भनेकी छन्,‘नेपाली समाजमा जात व्यवस्थाले एकदमै नराम्रो असर पारिरहेको छ । आखिर मानिसलाई ठूलो र सानो भनेर त मानिसले नै बनाएको होइन र ! हाम्रा पुर्खाले जे गलत गरे, त्यसलाई सुधार्ने त हामीले नै हो नि ! मानिसलाई ठूलो सानो बनाउने इतिहास बन्नु नै गलत थियो । मानिस कोही पनि दुनियाँमा अमर रहँदैन । एक दिन मरेर जान्छ । आफ्नो समुदायलाई हाइहाइ गरेर अर्को समुदायमाथि विभेद गर्नु मानवताविपरीत होइन र ?

म किराँती चेली हुँ । मैले अन्तरजातीय विवाह गरे पनि मभित्र किराँत सभ्यता बास गरेको छ । मसँग किराँती संस्कृतिका राम्रा कुरा छन् । किराँतप्रति मेरो सदैव सम्मान रहन्छ । त्यो भन्दैमा मैले जात व्यवस्थालाई मलजल गर्ने होइन । अरु जातलाई होच्याउनु मानवताविपरीत हो । यदि हामी किराँत भएर त्यस्तो गर्यौं भने हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्नेछ ।’