सिर्जनाका सात संकल्प - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सिर्जनाका सात संकल्प


काठमाडौं । काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन् । बिहीबार बबरमहलमा कार्यक्रम गरेर उनले सात बुँदे संकल्प सार्वजनिक गरेकी छन् । स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण गर्ने उनले बताएकी छन् ।

१.सेवा र सुशासन

महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्दछु । भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा

शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परिक्षण, उपचार र पुनर्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु । साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३. स्वच्छ, सफा, दिगो पर्यावरण

काठमाडौं महानगरलाई फोहोरबिहीन नगरपालिका बनाउनेछु । पिउन योग्य पानीको व्यवस्था गर्नेछु । सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्नेछु ।

४. सुरक्षित सहर

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु । विपद थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

५.संस्कृति, सम्पदा, र सभ्यता

मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु । गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।

६. सबल र समुन्नत पूर्वाधार

सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्नेछु । महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु । महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।

७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी

युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।

"