१ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सकियो - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

१ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सकियो


काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तयारी तिब्र बनाइएको छ । निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्य ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी भएको हो । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदाका लागि सरकारसँग अनुरोध गर्ने भएको छ । मतदानको दिन देशवासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही वञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले यस्तो आग्रह गर्ने भएको हो । आयोगले बाँकी मतपत्र छपाइ कार्य केही दिनमै सकिने जानकारी दिएको छ ।