आर्थिक वृद्धिदर ६ प्रतिशत बराबर पुग्ने दाबी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

आर्थिक वृद्धिदर ६ प्रतिशत बराबर पुग्ने दाबी


काठमाडौं । सरकारले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत बराबर पुग्ने दाबी गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ दशमलव ८४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्याङ्क प्रस्तुत गर्दै विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६ दशमबल ९ प्रतिशत रहेको बताए । विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो ।

कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि २ दशमलब ४२ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गतवर्ष भने ३ दशमबल ९३ प्रतिशतले बढेको संशोधित अनुमान पनि विभागले सार्वजनिक गरेको छ । विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्याङ्क विभागले सार्वजनिक गर्ने गरेको छ ।

सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो । निर्देशक भण्डारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३ सय ७२ डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति आय ११ सय ९१ डलर थियो ।

यस्तै, गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेर ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको पनि निर्देशक भण्डारीले जानकारी गराए । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो ।

यस्तै, चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वनमत्स्यको करिब २४ प्रतिशत, उद्योगको ५ दशमलव ६५ प्रतिशत, निर्माणको ६ दशमबल १७ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाकोे १६ प्रतिशत र घरजग्गा कारोबारको ८ दशमबल ७९ प्रतिशत योगदान पुगेको पनि विभागले जनाएको छ ।