अन्य दलका उम्मेदवारहरु चर्चा गर्न लायक छैनन - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अन्य दलका उम्मेदवारहरु चर्चा गर्न लायक छैनन


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आवश्यक्तानै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए ।

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र स्थानीय तहको प्रतिवद्धतापत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।