सूर्य चिह्नलाई हरियो बनाउनु आयोगको गल्ती - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

सूर्य चिह्नलाई हरियो बनाउनु आयोगको गल्ती


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई निर्वाचन आयोगले हरियो बनाएको भन्दै आपत्ति जनाएका छन्। कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठिक काम गरेको बताए।

उनले भने, ‘यसपटक निर्वाचन आयोगले बेठिक काम गरेको छ। चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ। हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो। पहिलो लहरमा सूर्य हुन्छ, नझुक्किनु होला।’ अध्यक्ष ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दुःखी भएको बताए। जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको उनले बताए।

‘कैलालीमा भएका हिंसाका घटना दुखद् हुन्। को मारिए के मारिए भन्ने होइन जो मारिए पनि नेपाली मारिए, त्यो राम्रो भएन। परस्पर घृणा फैलाउने काम राम्रो भएन। एउटाले एक प्रकारको र अर्कोले अर्को प्रकारको नारा दिने द्वन्द्व लगाउने काम एमालेले गर्दैन। सामाजिक सद्भाव बिगार्ने काम एमालेले गर्दैन।’

२०७२ सालमा प्रदेश सीमाकंनको विषयमा कैलालीको टीकापुरमा फरक समुदायबीच विवाद भएको थियो, जसले भदौ ७ गते हिंसात्मक रुप लिएको थियो। घटनामा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो। त्यसको एक दिनपछि कर्फ्यु जारी भएको समयमा टीकापुर क्षेत्रमा थारु समुदायका ८० वटा घरमा आगजनी भएको थियो। ओलीले सोही घटनाको सन्दर्भमा बोलेका हुन्।