नेपाललाई स्विजरल्यान्डबाट ८६ करोड १३ लाख अनुदान - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

नेपाललाई स्विजरल्यान्डबाट ८६ करोड १३ लाख अनुदान


काठमाडौं । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सो अवसरमा सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपियाँ अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

प्रवक्ता कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपियाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ ।

प्रवक्ता कार्कीले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार माध्यमसहित सबैलाई धन्यवाद दिने निर्णय भएको बताए ।

यस्तै बैठकले प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामालाई नेपाल प्रहरीअन्तर्गत जनपथ प्रहरी समूहको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि गरेको कार्कीले बताए । बैठकले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको हो ।