भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.सहस्रबुद्धे काठमाडौंमा - रुपान्तरण
 २०७९ असार २०, सोमबार    

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.सहस्रबुद्धे काठमाडौंमा


काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.विनय सहस्रबुद्धे काठमाडौं भ्रमणमा आएका छन् । यही जेठ ३१ देखि असार २ गते सम्म उनको भ्रमण जारी रहने छ । बुधबार उनले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरे ।

भ्रमणका क्रममा सहस्रबुद्धेले बुधबार नै अन्तर्राष्ट्रिय योग दिवस २०२२ को शुरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भए । जारी ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थियो ।

त्यस्तै आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग डा.सहस्रबुद्धेले छलफल गरेका छन् । भ पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै वनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे ।

साथै आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा.सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गर्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूताबासले जनाएको छ ।

 

 

"

"