एसपीपीको विरोधमा युवा संघ सडकमा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

एसपीपीको विरोधमा युवा संघ सडकमा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाहरुले एसपीपीको विरोधमा चर्का नारावाजी गरे । एसपीपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपीपी चाहिदैन देश बेच्न पाईदैन्’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । एसपीपी सम्झौता अगाडी बढाउने तत्कालिन सरकारका प्रमुख एवं नेताहरुका विरुद्धमा समेत उनीहरुले चर्को नारावाजी गरे ।

एसपीपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा स्पष्ट पार्नुपर्ने माग समेत युवा नेताहरुले गरेका छन् । विरोध प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटव्यूरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपीपी राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेकी छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडी बढाउनेलाई चारपट्टा कसेर थानकोट नभई नेपाल नै कटाउनुपर्ने आवश्यक्ता रहेको बताए । एसपीपी मार्फत राष्ट्रलाई गुलाम बनाउने गद्धार तथा देशद्रोहीलाई कारवाही गर्नुपर्ने माग गर्दै उनले सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन् ।

युवा संघको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख भेषबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा संघका युवा नेताहरुको सहभागिता रहेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।