काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

कार्यक्रममा कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने, ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ देखि रक्सीलाई ब्रान्डिङ गर्नेसम्म समेटिएको छ । मेयर साहले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने बताए । नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

यस्तै, महानगरले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने जनाएको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्नुका साथै डबलीहरु पनि पुनस्थापना गर्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले काठमाडौं महानगरभित्र रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गरिने उल्लेख गरे । बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताइएको छ । साहले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति समेत लिएको जानकारी दिँदै पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना सार्वजनिक गरेका छन् ।

यस्तै, काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी हुने छ । महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

एक वर्षभित्र महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी, पाइपलाइन, सडकबत्ती, टेलिफोनलगायतका सबै भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिने भएको छ । महानगरभित्र रहेका बिग्रेका ढल तथा सडकहरुको थप क्षति हुन नदिन तत्काल मर्मत सम्भार को लागि पूर्वाधार एम्बुलेन्सलाई विस्तार तथा निरन्तरता दिइने योजना छ।

यस्तै, महानगरपालिकाले रात्रिकालिन व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ। महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साहले सुरक्षाको प्रबन्ध मिलाई रात्रिकालिन व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मेयर साहले बताएका हुन्।

खेलकुदको माध्यमबाट युवाको विकास गर्न महानगरपालिका क्षेत्रमा खुला व्यायामशाला, एरोबिक्स, योग सेन्टर लगायत सञ्चालन गर्न आवश्यक खेलमैदान र पूर्वाधार विकास र विस्तार गर्न निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमसँग छलफल गरि लिग प्रतियोगिता आयोजना गरिने पनि महानगरको योजना छ।

मेयर साहले नीति तथा कार्यक्रममा इ–स्पोर्टलाई पनि समावेश गरेका छन्। ई–स्पोर्ट प्रवर्द्धनका लागि महानगरका निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने भएको छ। स्वदेशी तथा विदेशी शहरहरुसँग भगिनी सम्बन्ध विस्तार गरिने बालेनले बताएका छन्। महानगरभित्र सञ्चालन हुने जात्रा पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने पनि उनले बताए। दमकल स्टेशनको व्यवस्था गर्ने योजना सुनाउँदै उनले दमकल जान नसक्ने स्थानहरुमा फायर हाइड्रान्ट पोर्टेबल पम्मको व्यवस्था मिलाइने बताए।