इन्धनको मूल्य अचाक्ली, अझै मासिक चार अर्ब रुपैयाँ घाटा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

इन्धनको मूल्य अचाक्ली, अझै मासिक चार अर्ब रुपैयाँ घाटा


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ । निरन्तरको मूल्यबृद्धिले सर्वसाधारणको ढाड सेकाएको छ । मुल्यबृद्धि पछि सार्वजनिक यातायातको पनि भाडा बढेपछि यात्रु मारमा परेका छन् । आइतबार १२ बजे रातिदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । निगमले पेट्रोलमा २१ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १९९ तिर्नुपर्नेछ । डिजेल र मट्टितेल १९२ प्रतिलिटर तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको छ । बढेको मूल्यसँगै पेट्रोल र मट्टितेलको मूल्य हाराहारीमा रहेको छ । बढेको मूल्य ७ रुपैयाँले मात्र फरक रहेको छ ।
इन्डियन आयल कर्पोरेशन ९आईओसी० ले बिहीबार नयाँ मूल्य पठाएको थियो । नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा घाटा छ ।

अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।

तर आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको प्रतिक्रिया दिएका छन् । उनले अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने पनि बताए ।

कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा रहेको बताए । उनले २०७१ साल देखि नै खरिद मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने अवस्था रहेको बताए ।

कार्यकारी निर्देशक थानीले आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी पनि गरे । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताए

त्यस्तै, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वाचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ रुपैयाँ कायम भएको बताए । उनले निगमले इन्डियन ओयल कर्पोरेसन (आईओसी)लाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म आईओसीले तेल दिन्न भन्न थालेको बताए । सचिव पाण्डेले सरकारले उपभोक्तालाई कसरी सहज र सुपथ मूल्यमा पेट्रोलियम पदार्थ वितरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताए ।

यता, निरन्तरको मूल्यबृद्धिले नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च विन्दुमा पुगेको जनाइएको छ । यसको प्रत्यक्ष मारबाट नागरिक हैरान भएका छन् । हप्तैपिच्छे बढ्दै गएको इन्धन मूल्यको प्रभाव मध्यम वर्गीय परिवारको हातमुख जोर्ने समस्यामा जोडिँदा अवस्था संकटग्रस्त बनेको हो ।