प्राधिकरण र वायुसेवा संचालकबीच द्वन्द्व : उडान ठप्प पार्ने धम्की - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

प्राधिकरण र वायुसेवा संचालकबीच द्वन्द्व : उडान ठप्प पार्ने धम्की


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकबीच द्वन्द्व चर्किएको छ । जसको प्रत्यक्ष असर यात्रुहरुमा पर्ने भएको छ । सरकारले काठमाडौं उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि द्वन्द्ध चर्किएको हो ।

जसको परिणाम स्वरुप वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि वायुसेवा सञ्चालक संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघले मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग पूरा नभए बुधबारदेखि उडान स्थगित गर्ने जानकारी दिएको हो।

संघका अध्यक्ष रामेश्वर थापाले सरकारको गलत निर्णयका कारण बाध्य भएर उडान स्थगितको निर्णय भएको बताए। ‘बन्द गर्ने हाम्रो चाहना होइन। सरकारको निर्णयले गर्दा हामी वाध्य भएका हौं। छ बुँदे माग पूरा नभए अनिश्चितकालका समयका लागि बन्द हुनेछ। टिकट काटिसकेका यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीले रिफन्ड गर्नेछ’, उनले भने।

संघले ल्यान्डिङ, नेभिगेसन लगायतका शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिकोप्टर संचालनका लागि दीर्घकालिन रुपमा हेलिप्याड उपलब्ध गराउनुपर्नेर मर्मत सम्भारका लागि ह्यागर लगायतका भौतिक पूर्वाधारका लागि स्थान दिनुपर्ने, वेस पूर्ववत अवस्था कार्यान्वयनमा ल्याएर सेवा संचालन गर्न पाउनुपर्ने, कालोसूचीबाट हटाउन पहल गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृति लिएर विभिन्न कम्पनीले हवाई सेवा संचालनका लागि बनाएका संरचनालाई यथावत रुपमा प्रयोग गर्न दिनुपर्ने माग राखेको छ।

तर त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘प्राधिकरणको निर्णयको बर्खिलापमा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु रहेको भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

वायुसेवा सञ्चालक संघले प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपतकालीन र नियमित सबै हवाइ उडान बन्द गर्ने चेतावनी पछि प्राधिकरणले हवाइ सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको हो। प्राधिकरणका महानिर्देशक अधिकारीले विमान कम्पनीहरूले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पनि पारेका छन् । त्रिअविका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं विमानस्थलमा अत्यधिक उडान चाप रहेकाले सोको व्यवस्थापन र हवाई सुरक्षालाई मध्यनजर गरी निर्णय लिइएको जानकारी दिए ।

प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो। जसअनुसार विमान कम्पनीले काठमाडौं बाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा जहाज र आन्तरिकमा १७ वटा जहाज बिसान ‘पार्किङ’ क्षमता रहेको छ। ३३ विमानको रात्रिकालीन बेस अनुरुप गर्नुपर्ने हुन्छ। तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको छ। हाल आन्तरिकतर्फ ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर तथा नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज रहेका छन्।

साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङगर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ। काठमाडौं बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ।

 

"