काठमाडौंमा हैजाको जोखिम, सावधानी अपनाउन सुझाव - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

काठमाडौंमा हैजाको जोखिम, सावधानी अपनाउन सुझाव


काठमाडौं । कोरोना महामारीको त्रास न्यून हुँदै गइरहेका बेला काठमाडौंमा हैजाको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।

पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ । दुई दिन अघि बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाइएको छ । काठमाडौंमा अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि भएकोछ । दुई वटा केसको कल्चर पोजेटिभ र अरु दुई जनाको आरडीटी पोजेटिभ आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार अहिलेसम्म काठमाडौंको भोटेबहालमा पसल गरेर बस्ने एक जना, डिल्ली बजारका एक जना र बागबजारका दुई जनामा हैजा पुष्टि भएको जनाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्रको नमुना संकलन भएको र बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन भएको जनाएको छ ।

नेपाल जनस्वास्थ्य संघले हैजाको महामारीबाट धेरै व्यक्तिहरुलाई एकैपटक संक्रमण भई ज्यानसमेत जान सक्ने भएकोले यसबाट बच्न स्वस्छ पानी र व्यक्तिगत सरसफाइको व्यवस्थापन अति जरुरी रहेको बताएको छ। हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन प्रयोग गरिएको खानेपानीको प्रयोग गर्ने, दिसापिसाब पछि र खाना खानुअघि अनिवार्य रुपमा साबन पानीले हात धुन विज्ञहरुको सुझाव छ। गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हैजा फैलिएको थियो र केहीको मृत्यु समेत भएको थियो।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा ‘नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न’ अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने बताउँदै ‘सजक र सतर्क हुन’ आह्वान गरिएको छ । पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुरा सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न तथा चर्पी प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।