योगलाई दैनिक जीवनको एक हिस्सा बनाऔं - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

योगलाई दैनिक जीवनको एक हिस्सा बनाऔं


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले योग दिवसलाई भब्यताका साथ मनाउन आग्रह पनि गरे ।

कार्यक्रमका विशिष्ट अतिथि सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गरे । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन ।

‘मानवताका लागि योग’ नारा दिइएको कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यासहितको साधारण योग विधि पनि प्रस्तुत गरियो । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए ।

योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेको थियो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम काठमाडौंको बौद्घनाथ स्तूपामा गरियो ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।