शेखर समूहको निष्कर्ष : देउवा पार्टीको नभइ गठबन्धनको सभापति बने - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

शेखर समूहको निष्कर्ष : देउवा पार्टीको नभइ गठबन्धनको सभापति बने


काठमाडौं । सत्तारुढ दलको नेतृत्वमा रहेको पार्टी नेपाली कांग्रेसभित्र अन्तरकलह बढ्दो छ । सभापति शेरबहादुर देउवा एकलौटी ढंगबाट अघि बढेको आरोप लगाउँदै आएको इतर समूह गोप्य भेलाहरुमा व्यस्त छ । इतर समूहका नेता डा.शेखर कोइराला देउवाप्रति निरन्तर असन्तोष ब्यक्त गरिरहेका छन् ।

दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्मालाई कारबाही नगरिएको प्रति प्रधानमन्त्री देउवासँग असन्तुष्ट रहेका डा.कोइरालाले आफ्नो समूहको छुट्टै भेला डाकेर देउवाप्रति आक्रामक बन्ने निष्कर्षमा छन् । शुक्रबार मात्र सकिएको डा.कोइराला समूहको बैठकले देउवा पार्टीको नभइ गठबन्धनको सभापति बन्‍न खोजेको आरोप समेत लगाएको छ । देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई आफू सभापति हो भन्‍ने अनुभूति दिलाउन नसकेको र पार्टी भन्दा पनि गठबन्धनको सभापति भएर हिँड्न खोजेको निष्कर्ष उनीहरुको छ ।

पार्टीलाई विधि विधानमा संञ्चालन गर्नका लागि सभापतिलाई दबाब सिर्जना गर्ने र जनताको जनजिविका कुरालाई सरकारले ध्यान दिन नसकेको र जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको समूहको आरोप छ । स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल नभएको, भ्रातृ संस्थामा एकलौटी मनोनयन गरेको लगायत विषयमा पनि छलफल भएको थियो ।

यसअघि तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले एकलौटी गरेको उनीहरुको भनाइ छ । केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनयन गर्दा डा.शेखर समूहसँग कुनै सल्लाह नगरी एकलौटी गरेको आरोप छ । बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री डा.शशांक कोइराला र अर्का नेता प्रकाशमान सिंह देउवासँग नजिकिएपछि शेखर समूह मजबुद नदेखेका देउवाले आफ्नै तरिकाले पार्टी हाँकिरहेका छन् । शेखर समूह अडान लिन नसकेर असन्तोष मात्र व्यक्त गरिरहेको छ ।