दबाबमा प्रचण्ड - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

दबाबमा प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टीलाई फाइदा भएको जनाएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’मा उक्त कुरा उल्लेख छ ।

१० पानाको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले फाइदा भएको जनाउने क्रममा माओवादीले पनि १६ सिट बढी ल्याएको उल्लेख छ। त्यतिमात्र हैन जसपा र जनमोर्चालेसमेत २०७४ को तुलनामा अहिले केही सिट बढाएको उल्लेख छ । कसले कति सिट पाएको र कसले गुमाएको उल्लेख गरेका प्रचण्डले माओवादीले ९ प्रतिशत नगरपालिकामा जित्न सफल भएको उल्लेख गरेका छन् । प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् । तीन दिनसम्म चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् ।

तर बैठकमा नेताहरूले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अध्यक्ष माथि दबाब बढाएका छन् । महाधिवेशन सकिएको ६ महिनासम्म पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो नलागेपछि केन्द्रीय समिति बैठकबाटै टुङ्गो लगाएर जानुपर्ने मत नेताहरूले राखेका हुन् । अध्यक्ष प्रचण्ड पोलिटब्यूरो र स्थायी समिति टुङ्गो लगाउने तर पदाधिकारी चयन भने आसन्न निर्वाचनपछि मात्रै गर्ने योजनामा रहेको बुझिएको छ । तत्काल पदाधिकारी चयन गर्दा थप विवाद हुने भएकाले चुनावपछि धकेल्दा प्रदेश र संघको चुनावमा राम्रो नतिजा आउनेमा प्रचण्ड ढुक्क छन् ।