नागरिकता विधेयक : एनआरएनएका लागि ऐतिहासिक उपलब्धी - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नागरिकता विधेयक : एनआरएनएका लागि ऐतिहासिक उपलब्धी


काठमाडौं । नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ । ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित भएसँगै यसको पक्ष र विपक्षमा बहस प्रारम्भ भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ । विधेयक लागु भएपछि कस्ता व्यक्तिले नागरिकता पाउलान भन्ने विषय चर्चामा छ ।

विधेयक पारित भएसँगै अब नेपालमा जन्मसिद्धका सन्तानले नागरिकता पाउने प्रष्ट छ । विधेयकले जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोलेको छ ।

२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो । नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् ।

जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको थियो ।

यस्तै, अब आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान नभएको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ ।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको थियो । तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन ।

यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बावुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बावुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता खोसिनेछ । त्यस्तो व्यक्तिलाई सरकारले वंशजको साटो अंगीकृत नागरिकता दिनेछ ।

किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ । विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो । विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बावुको देशको नागरिकता नलिएको हुनुपर्ने छ ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ ।

यस्तै, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । गैर आवसीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले विधेयक पारित हुनुलाई आफ्नो कार्याकालको ऐतिहासिक उपलब्धी ठानेका छन् । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

अध्यक्ष आचार्यले संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्नुका साथै यो विधेयकले एनआरएनहरुलाई नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको जनाएका छन् । उनले भने,‘नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ। संघको स्थापना कालदेखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरन्तर लबीइंग पछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउन लागेका छौं। यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिंदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आआफ्नो ठाउंबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु।’

विधेयक पारित भएको खुशीयालीमा उनले एनआरएनहरुको हितका लागि एकजुट हुन आब्हान गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद पनि दिएका छन । गैरआवासीय नेपालीहरु संसारको जुन ठाउँमा रहे पनि आफू ‘नेपाली’ रहेको भावनाबाट अलग हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्ने र गैरआवासीय नेपालीले ‘नागरिक’को अनुभूति गर्न पाउने साथै नेपालमा लगानी बढ्ने र संसारभरिका नेपालीसँग रहेको सीप र श्रोत नेपाल भित्र्याउन कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरेका छन् । विधेयक पारित गराउन आफूले पटक पटक प्रधानमन्त्री तथा सरकारका प्रतिनिधिहरुसँग भेटेर आग्रह गरेको पनि बताएका छन् । ‘बर्षौंदेखिको प्रयास सफल भएको छ, कार्याकालको ठूलो उपलब्धी ठानेको छु,’ उनले भने ।