गगन थापा प्रधानमन्त्रीका लागि योग्य - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

गगन थापा प्रधानमन्त्रीका लागि योग्य


काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको बताएका छन् । गृह जिल्ला झापा पुगेका महामन्त्री शर्माले सबैले साथ दिए गगन थापालाई भावी प्रधानमन्त्री बनाउन सकिने बताए । शर्माले ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास रहेको बताउँदै गगनमा हिम्मत योग्यता र क्षमता भएका टिप्पणी गरे ।

शर्माले भने,‘कांग्रेसमा वीपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको इतिहास छ । मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ । एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भए यो पुरा हुनेछ ।’

थापाले यसअघि एक टेलिभिजन अन्तरवार्तामा आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको बताएका थिए । उनले आफू योग्य मात्र नभएर अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नेसमेत संकेत गरेका थिए ।

उक्त अभिव्यक्तिपछि महामन्त्री शर्मले पनि थापालाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राख्दै आएका छन् । दुई साता अघि अमेरिका भ्रमणमा रहेका बेला शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका थिए । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आएका छन् ।

"