सप्तकोशी नदीको बाँध फुटेर बाढी बस्तीमा - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

सप्तकोशी नदीको बाँध फुटेर बाढी बस्तीमा


काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरू प्रभावित भएका छन् । कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गरेका छन् । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको हो ।

सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरूको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीय आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

गाउँ डुबिनसके पनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीय बताउँछन् । पानीको सतह बढिरहेकाले वस्तुभाउ छोडेर निस्किएको स्थानीय बताउँछन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जोखिम अझै बढ्नसक्ने अनुमान छ । पानीको सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

नदी कटानले कोशीको बहाव गाँउतिर पसेको स्थानीय बताउँछन् । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेको त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ ।

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीसहितको टोलीले बुधबार स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।